नेपाली फुटबललाई ऐतिहासिक सफलता,पहिलोपटक साफमा फाइनल खेल्ने

नेपाली फुटबललाई ऐतिहासिक सफलता,पहिलोपटक साफमा फाइनल खेल्ने

लगभग गुमिसकेको खेल बराबरीमा पुर्याएर नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक खेलमा सुरुआतमै पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै साफको फाइनल यात्रा पक्का गरेको हो।

लिग चरणको अन्तिम तथा निर्णायक खेलमा बराबरी गरे पनि फाइनल पुग्ने अवस्थामा नेपालले खेलको ९ मीनेटमै गोल व्यहोरेको थियो । बंगलादेशका सुमोन रेजाको गोलमा पछि परेको नेपालले नियन्त्रण राख्दै आक्रामक खेले पनि ८८ मीनेटमा बल्ल गोल फर्काएको हो ।

फ्रि किकमार्फत आएको बललाई हेड गर्न खोजेका नेपाली खेलाडीलाई बंगलादेशी खेलाडीले पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै अञ्जन बिष्टले नेपाललाई खेलमा फर्काएका हुन् ।

पाँच टोली सम्मिलित साफ च्याम्पियनसिप दक्षिण एशियाकै प्रतिष्ठित मानिन्छ । भारत,नेपाल, बंगलादेश,माल्दिभ्स र श्रीलंका सहभागी प्रतियोगितामा नेपाल ७ अंक बटुल्दै फाइनलमा पुगेको हो ।

आजै भारत र माल्दिभ्सबीचको खेलको विजेताले फाइनलमा नेपालसँगको भिडन्त पक्का गर्नेछ। माल्दिभ्सको ६ र भारतको ५ अंक रहेको छ । माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ ।

बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ भने मात्र १ अंक रहेको श्रीलंका यसअघि नै बाहिरिएको थियो ।

टिप्पणीहरू