संसद चलाउन आफूले पहल गरेको सभामुखको दाबी

संसद चलाउन आफूले पहल गरेको सभामुखको दाबी

सभामुख अग्निप्रसाद सापकोटाले अवरुध्द संसद बैठक सुचारु गराउन आफूले सबै खालका प्रयास गरेको बताउनुभएको छ । उहाँले संसद बैठक चलाउन संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभएको हो ।

आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको पनि उल्लेख गर्नुभएको छ । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ भूमिका निर्वाह गरेर आवश्यक निर्णय लिएको बताउँदै सबैले आफ्नो कार्यको निष्पक्ष समीक्षा गरेर संवादमा आउनैपर्नेमा जोड दिनुभएको छ ।

संसद पुनर्स्थापनाको निम्ति सबै पक्ष लागेझैँ अवरुध्द संसद सुचारु गर्न पनि सांसदहरुले विशेष पहल गर्नुपर्ने बताउनुभएको हो ।

राजनीतिमा आग्रह,पूर्वाग्रह हुनु सामान्य रहेको बताउँदै सभामुखले यस पटकको विजया दशमीले सबैमा सकारात्मक सोचको विकास गराउने विश्वास लिनुभएको छ । उहाँले संसद सुचारुको निम्ति सबै पक्षसँग संवाद र पहल गर्ने बताउँदै संसद पुनर्स्थापनाको निम्ति सबै पक्ष लागेझैँ अवरुद्ध संसद सुचारु गर्न पनि सांसदहरुले विशेष पहल गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘संसदलाई जीवन्त र जनमुखी बनाउन म गुणात्मक ढंगले लागिपरेको छु ।’ सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरुमा आएको समाचार आधारहीन रहेको दाबी समेत गर्नुभएको छ । राष्ट्रका संवेदनशील विषयहरुमा जिम्मेवार ढंगले अघि बढ्न आफूले कुनै अवरोध नगरेको बरु सहजिकरणको लागि विभिन्न प्रयास गरेको उहाँले बताउनुभयो ।

अहिलेको संसदभित्रको समस्या समाधानको निम्ति सरकार, गठबन्धन दल र सबै सांसदहरुले तत्काल समीक्षा गर्नुपर्ने उहाँको धारणा छ । दशैंपछि कात्तिक ९ गते डाकिएको प्रतिनिधिसभाको बैठक सुचारु ढंगले अघि बढ्नेमा सभामुख सापकोटा ढुक्क देखिनुभएको छ ।

टिप्पणीहरू