प्रधानमन्त्री र प्रधानन्यायाधीशका कारण लोकतन्त्र बदनाम भएको आरोप

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको मिलेमतोमा लोकतन्त्रलाई बदनाम तुल्याइएको आरोप लगाएका छन् । आगामी १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न खोजेका कोइरालाले उक्त आरोप लगाएका हुन् ।

मोरङको सुन्दर हरैचा नगरपालिकामा निर्वाचित काँग्रेस कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै नेता कोइरालाले सभापति तथा प्रधानमन्त्री देउवाले पार्टीको विधान र प्रधानन्यायाधीश राणाले संविधान धुजा धुजा बनाएको आरोप लगाए ।

लोकतन्त्रको निम्ति लडेको दलको सभापतिले शक्तिपृथकीकरणको मान्यतालाई कुल्चिएको भन्दै उनले आक्रोशसमेत पोखेका छन् । ‘प्रधानन्यायाधीश र प्रधानमन्त्रीको साँठगाँठ लोकतान्त्रिक मान्यता विपरीत छ,’कोइरालाले भनेका छन् ।

मन्तव्य राख्ने क्रममा कोइरालाले पूरै समय सभापति देउवाको आलोचना गरेका थिए । देउवाको नेतृत्वलाई प्रतिस्थापन गर्न पार्टी कार्यकर्ताहरुलाई उनले आग्रह गरेका छन् । देउवाको नेतृत्वमा पार्टीको विधान धुजा धुजा भएकाले पार्टी र विधान बचाउन अब देउवाको विकल्प खोज्नुपर्ने उनको आग्रह छ ।

टिप्पणीहरू