एमालेले लेखा समिति मागेपछि भरत शाहले भने,’राजीनामा दिएको मलाई थाहा छैन’

एमालेले लेखा समिति मागेपछि भरत शाहले भने,’राजीनामा दिएको मलाई थाहा छैन’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ ।

तत्कालीन प्रमुख प्रतिपक्षी दलको हैसियतमै कांग्रेसले समितिको सभापति पाएको थियो,भरतकुमार शाह सभापति छन् । तर,अहिले कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ भने एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।

आज सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुल बाँस्कोटा र राजेन्द्र गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासअनुसार समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने दाबी गरे । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले ‘लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस्’ भन्दै समितिका सभापति भरत शाहको राजीनामा मागेका हुन् ।

अर्का सांसद गौतमले पनि संसदीय विधि,अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने दाबी गरेका छन् । सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने ठाउँ समिति भएको भन्दै उनले भने, ‘यसको अगुवाई र नेतृत्व प्रमुख प्रतिपक्षले गर्नुपर्छ ।’

लेखा समितिका सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिएका छन् । विगतमा लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको भन्दै उनले थपे, ‘यो विषयको उठान गर्नु विपक्षको धर्म हो । यसले प्रजातन्त्र सुदृढ हुन्छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

टिप्पणीहरू