धोका दिएकोले बालुवाटारबाट बालकोट-पुष्पकमल दाहाल

धोका दिएकोले बालुवाटारबाट बालकोट-पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्‍याएको बताउनुभएको छ ।

अझै चलखेल गरिरहे ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने उहाँले चेतावनी पनि दिनुभयो ।

‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइएको हो,अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ। अति गरे खति हुन्छ’,प्रचण्डले भन्नुभयो ।

ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीमा एमालेको सरकार गुमेको भन्दै उहाँले केही दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिने उहाँको भनाइ छ ।

प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको पनि बताउनुभयो । भनुभयो, ‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु ।’

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उहाँले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिनुभयो ।

तराई मधेसमा सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि पुर्जा वितरण गर्ने पनि प्रचण्डले विश्वास दिलाउनुभयो ।

टिप्पणीहरू