प्रणाली जोगाउन हिँडेको मेरा लागि मन्त्री पद गौण : चौधरी

प्रणाली जोगाउन हिँडेको मेरा लागि मन्त्री पद गौण : चौधरी

मन्त्रीको चर्चामा रहेर पनि अन्तिम समयमा नअटाएका नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नालागि मन्त्री पद गौण भएको बताउनुभएको छ । राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको खेलाडीको लागि मन्त्री पद गौण भएको उहाँको टिप्पणी छ ।

समाजवादीले आज चार मन्त्री र एक राज्यमन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएलगत्तै चौधरीको यस्तो प्रतिक्रिया आएको हो । ‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ! मुख्य बिषय होइन । मुख्य बिषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वोच्चता कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ ।

जहाँसम्म मन्त्री बन्ने संभावनाको कुरो हो – प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण बिषय बन्न जान्छ’, आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ।चौधरीले मन्त्री बन्न पार्टीमा सबै प्रकारको कम्बिनेसन मिल्नुपर्ने भन्दै आजको परिस्थितिलाई त्यहि रुपमा बुझेर नेतृत्वलाई अनावश्यक दबाब नदिन पनि आग्रह गर्नुभएको छ । भन्नुहुन्छ, ‘फेरि मन्त्री हुने कुरो – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाही त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो । हामी कठिन मोडमा छौँ । यो घडीमा सबैमा धैर्यधारणको जरुरी छ । यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरुरी छैन ।’

पार्टी निर्माणकै चरणमा रहेकाले मन्त्री पदका लागि अनावश्यक गुनासा र मोलमोलाई गर्न नहुनेमा पनि उहाँको जोड छ । पार्टीलाई थप सशक्त र समृध्द बनाउनु आजको आवश्यकता रहेकाले सोहीअनुसार काम गर्न उहाँले आव्हानसमेत गर्नुभएको छ । लोकतन्त्रलाई संस्थागत गर्ने अभियानमा योगदान पुर्याउन पनि चौधरीको आग्रह छ ।

एकीकृत समाजवादीबाट भर्खरै रास्ट्रपतिले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री,प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री तथा प्रधानमन्त्री देउवाले भवानी खापुङलाई राज्यमन्त्रीमा शपथ खुवाउनुभएको छ । आफ्नो भागमा पर्ने भनेको मन्त्रालयको संख्या घटेपछि प्राथमिकतामा परेर पनि समाजवादीले चौधरीलाई मन्त्रीको सूचीबाट हटाएको हो ।

समाजवादीमा ६-६ महिनाको आलोपालोमा मन्त्री बनाउने सहमति भएको बुझिएको छ । त्यतिबेला अहिले मन्त्री बनेकालाई फिर्ता बोलाएर चौधरीसहित अन्य नेतालाई पठाउने सहमति भैसकेको समाजवादी स्रोतले बताएको छ ।

टिप्पणीहरू