जो सरुवा भए,जसले सरुवा सच्याए

जो सरुवा भए,जसले सरुवा सच्याए

उच्चपदस्थ सरकारी कर्मचारीहरु नै पावर लगाएर सरकारले खटाएको ठाउँमा नजान र सिंहदरबार वरपर घुमेर जागिर खान कस्सिएका छन् । सरकारले गत भदौ ३० मा ८५ जना सहसचिव सरुवा गर्दा प्रशासन सेवाका ५४ जना परेकोमा केहीले पावर लगाएर संघमै बस्न खोजेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार झण्डै एक दर्जन सहसचिवले आफ्नो सरुवा संशोधन गराउन सफल पनि भैसके । यसरी सरुवा उल्टाउनेहरुमा जीतेन्द्रबस्नेत,आभा श्रेष्ठ,सागर आचार्यलगायत छन् । गृहमातहतको पञ्जिकरण विभागमा कार्यरत जीतेन्द्र सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशमा खटाइएका थिए ।

पञ्जिकरण विभागमा गृहले बुधवार मात्र नयाँ हाकिमका रुपमा तीर्थराज भट्टराईलाई खटाइसकेको छ । महोत्तरीको प्रमुख जिल्ला अधिकारी रहेका भट्टराईलाई केही दिनअघि गृहमा तानेर सो विभागमा पठाइएको थियो । उनलाई सात महिनामै महोत्तरीबाट तानिएको हो ।

यस्तै हुलाक सेवा विभागबाट श्रम मन्त्रालयमा सरुवा भएकी आभा श्रेष्ठ कर्ण खटाएको ठाउँमा जान इन्कार गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।

उनको पति पुष्कर कर्ण हालै मात्र सचिवमा बढुवा भएका हुन् । कनिष्ठ सचिवलाई प्रदेशमा खटाउने प्रावधानविपरित बालुवाटारले कर्णलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।

यस्तै खटाएको ठाउँमा जान इन्कार गर्ने अर्काे सहसचिव हुन् सागर आचार्य । उनलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा खटाइए पनि जान मानेका छैनन् । सामान्य प्रशासन स्रोतका अनुसार पहिले नै तनहुँको सिडिओ चलाइसकेका कारण सो प्रदेशको मन्त्रालयमा गएर काम गर्न अप्ठ्यारो हुने समस्या उनले देखाएका छन् ।

आचार्यको पनि सरुवा संशोधन हुँदैछ । पावर र पहुँच पुर्याउन सफल १२ जना सहसचिवको सरुवा उल्टाउने प्रक्रिया शुरु भइसकेको छ । उसो त पावर र पहुँच पुर्याउन सकेको खण्डमा उच्चपदस्थ मात्र होइन कर्मचारी ट्रेड युनियनका नेताहरुले समेत सिंहदरबार छोड्नु पर्दैन ।

जस्तो यसअघि कर्मचारी समायोजन गरिँदा लामो समय अर्थ मन्त्रालयमा बसेका केदार देवकोटाको समायोजन सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा भएको थियो । सिंहदरबारको चलखेल छोडेर उनले रातारात आफू मानसिक समस्यामा भएको कागज बनाए र अहिले केपी ओलीनिकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष हुँदै आधिकारिक ट्रेड युनियनको अध्यक्ष बनाइएका छन् ।

भोला पोखरेलको समायोजन हलेसी तुवाचुङ नगरपालिकामा भएको थियो उनी पनि सिंहदरबार छाडेर स्थानीय तहमा गएनन् ।

उता पर्यटन विभागका हाकिम रुद्रमान सिंह तामाङ बाग्मती प्रदेशमा सरुवा भएर गएसँगै रिक्त स्थानमा मन्त्रालयका सहसचिव तारानाथ अधिकारीलाई खटाइएको छ । अधिकारी मन्त्रालयमा प्रशासन तथा योजना महाशाखा प्रमुख थिए ।

टिप्पणीहरू