भाेलि शपथ खाने गरी टुंगियाे भागबण्डा

भाेलि शपथ खाने गरी टुंगियाे भागबण्डा

आठ–दश दिनदेखि ‘आज, भोलि, भरे’ भन्दै मन्त्रिपरिषद् विस्तारमा ढिला हुँदै जानुको कारण स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाकै मुखबाट खुलासा भएको छ, सोह्रश्राद्ध । उहाँले मन्त्रालय भागबण्डा लगाउने कार्यदलका नेताहरूसँग त्यस्तो भन्नुभएको हो । पञ्चाङ्ग पात्रोअनुसार आज असोज २० गते औँसी श्राद्ध, पितृ विसर्जन र सोह्र श्राद्ध समाप्त हुँदैछ । देउवाको भनाइअनुसार, सम्भवतः भोलि बडादशैंको नवरात्र (घटस्थापना) आरम्भ हुने ‘शुभ साइत’ पारेर देशले नयाँ मन्त्रीहरू पाउने छ । त्यसमाथि सत्ताले मान्छेलाई लोभी बनाउँछ भन्ने सत्य फेरि एकपटक चित्रित हुँदैछ ।

सर्वोच्च अदालतको परमादेशअनुसार शेरबहादुर देउवा प्रधानमन्त्रीमा बहाली हुँदै गर्दा भनियो, ‘माधव नेपालहरूलाई अप्ठेरो छ । मन्त्रालय, संवैधानिक आयोगदेखि राजनीतिक नियुक्ति, राजदूतसम्मका कुरामा उहाँहरूलाई जे–जति चाहिन्छ, त्यसमा हाम्रो भाग काटेर भए पनि दिऔँ ।’ अहिले भन्न थालियो, ‘हुँदैन, मिल्दैन । हाम्रोमा पनि त भाग पु¥याउनु परेको छ । सकिँदै नसकिने भयो !’

यस्तो गलफत्ति चलिरहेको हो, मन्त्रीको संख्या र मन्त्रालय भागबण्डामा । गृह, परराष्ट्र, स्वास्थ्य, कानुन लिइसकेको र रक्षासमेत लिने तयारीमा रहेको नेपाली कांग्रेसले अहिले सात क्याबिनेट मन्त्री र एक राज्यमन्त्रीमा गरिरहेको दावीबाट टसमस नहुँदा सरकार विस्तारमा समस्या उत्पन्न भएको पाँचदलीय गठबन्धनका एक नेताले बताए । ऊसँगै रहेको प्रधानमन्त्रीसमेत जोड्दा ९ जना सरकारमा हुन्छन् । तर, यो दाबीलाई नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मानिरहेका छैनन् ।

माओवादी नेताहरूले चाहिँ यता पनि ठिक्क, उता पनि ठिक्क भएर आफ्नो भाग सुरक्षित पारिरहनुभएको बताइन्छ । छातिमा देखिएको संक्रमणको उपचारपछि सोमबार शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल घर पुग्नासाथ पाँचदलीय गठबन्धनअन्तर्गतको सरकार विस्तारसम्बन्धी कार्यदलका सदस्यबीच छलफल भयो । एकीकृत समाजवादीले ६ क्याबिनेट र एक राज्यमन्त्रीको अडान राखेको छ । उपेन्द्र यादवहरू ५ मन्त्रालयमा चित्त बुझाउन तयार छन् ।

तर, त्यो संख्या दिन कांग्रेस तयार छैन । उसले कृष्ण सिटौला, रामचन्द्र पौडेल, शशांकदेखिका नेतालाई मिलाउनुपर्छ भन्दै अड्काइरहेको बताइन्छ । तर, वार्तामा सहभागी एक नेताले सोधे, ‘त्यत्रो महत्वपूर्ण चारवटा मन्त्रालय रोजीरोजी लिइसक्नुभयो, त्यसमा रामचन्द्र, कृष्ण सिटौला, सशांक चाहिएन, अहिले उताको अत्तो थाप्ने ?’ एकीकृत समाजवादीको तर्फबाट कार्यदलमा सहभागी उपाध्यक्ष राजेन्द्र पाण्डेले त भन्नु पनि भयो, ‘कांग्रेस र माओवादीका साथीहरू मिलेर चलाउनुस्, हामी संसद, संविधान र व्यवस्था जोगाउने मूल्यमा सरकारलाई पूर्ण समर्थन गरेर सत्तापक्षीय बेञ्चमै बसौँला ।’

राजेन्द्रले त्यसो भनेपछि माओवादीका नेताले ‘हैन, हैन, त्यस्तो नगरौँ’ भने । जसपाबाट कार्यदलमा सहभागी नेता महेन्द्र राय यादवले पनि त्यसैमा सहमति जनाउँदै एकीकृत समाजवादी, जनता समाजवादी, माओवादी केन्द्र र जनमोर्चा आगामी संसदीय चुनावसम्म मिलेर जाने कुरा सुनाउनु भयो । एकीकृतका महासचिव डा. बेदुराम भुसालको काँग्रेसलाई सुझाव थियो, उमेशलाई बरु क्याबिनेट मन्त्रीमा उकाले हुन्छ तर अन्तिममा आएर बढी भाग खोज्ने काम गर्नुभएन ।

हुन पनि पुस ५ को पहिलो प्रतिनिधिसभा विघटनकै बेला चुनावमा जाऊँ, अदालत र आन्दोलनको झमेलामा नपरौं भन्ने देउवालाई पावर सेयरिङको प्रसंगै नटुंग्याई सत्ता सुम्पेर गल्ती गरियो भन्नेमा नेकपा एस र जसपाका नेताहरू पुगेको देखिन्छ । मानौँ एकीकृत समाजवादी ५, जसपा र माओवादी पनि ५–५ अनि काँग्रेस ६ मन्त्रालयमा सहमत भए भने २१ मन्त्रालय त्यता गयो । २२ मा बाँकी १ मन्त्रालय रहन्छ । जसपाले चार मन्त्रालय पाउने हो भने उपसभामुख चाहिने अडान लिएको छ । तर, कांग्रेसका कार्यदल सदस्यले एउटा मन्त्रालय जसरी पनि प्रधानन्यायाधीशले भनेको व्यक्तिलाई दिनैपर्ने बताएपछि बाहिर व्यापक होहल्ला मच्चिएको हो ।

कार्यदलमा जसरी पनि अदालतको चित्त बुझाउनैपर्छ भनेर अरुसँग कोटा माग्ने अनि सर्वोच्च बारलाई प्रधान न्यायाधीशकोमा विरोध जनाउन पठाउने र मिडियालाई सूचना पनि चुहाउने काम सोची विचारी काँग्रेसले नै गरेको एकथरि बताउँछन् । जसपाका ती नेताका अनुसार, खासमा ‘प्रधानन्यायाधीशको कोटा’ भनेर कांग्रेसले मन्त्रालय लिन चाहेको चाहिँ आफ्ना मान्छेको लागि हो । त्यसका लागि शुरुमा सर्वोच्च अदालतका एकजना आइटी विज्ञको नाम प्रचारमा ल्याइयो । अति नै आलोचना भएपछि बाँके कांग्रेसका पूर्वसभापति तथा प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमालको नाम निकालियो । गजेन्द्रका भाइ बाँकेबाटै निर्वाचित कांग्रेसबाट प्रदेशसभा २ का सांसद सुरेन्द्र हुन् । प्रधानन्यायाधीशका सालो पर्दछन् ।

यदि प्रधानन्यायाधीशको नाम भजाएर हमाललाई छ महिने मन्त्री बनाउन सकिएन भने सुजाता कोइरालाको भाग पु¥याउनका निम्ति फेरि पनि त्यही नाम भजाउने कोशिश हुनसक्छ । सुजातानिकट डा.तिलक रावल प्रधानन्यायाधीशका सम्धी हुन् । ‘सुजाताको भाग’ भन्दा गठबन्धनमा अलग्गै हिसाब नहुने कारण ‘प्रधानन्यायाधीशको भाग’ भन्दै एउटा तटस्थ संवैधानिक अंगका प्रमुखको मानमर्दन गर्ने काम भएको एक जना माओवादी नेताको दाबी छ ।

भनिन्छ के भने– प्रतिनिधिसभा जोगाएको दुवैचोटि पाँच न्यायाधीशले हो । गर्ने सामुहिक निर्णय अनि सधैं भाग खानेचाहिँ एक्लै ? त्यसैले यसमा कुरा मिलेको छैन र यदि प्रधानन्यायाधीशले मन्त्री बनाउन आफ्नो तर्फबाट नाम दिएकै हो भने यो सर्वोच्चका श्रीमानहरुबीच विभाजन र विग्रहको अर्को कारक बन्ने निश्चित छ ।

टिप्पणीहरू