चोरिन थाले सामाजिक सुरक्षा भत्ता

चोरिन थाले सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ताको रकम चोरी भएको विषयमा प्रहरीको भूमिका शंकास्पद देखिएको छ । सचिव र प्राविधिकले बदनियतपूर्वक लापरबाही गरेको भनेर मुद्दा दर्ता गरेकोमा २० दिनसम्म पनि दोषीलाई पक्राउ नगर्दा प्रहरीको भूमिकामाथि जिल्लामा टिप्पणी हुन थालेको छ ।

यस्तो छ घटना विवरण :-

बुङगल नगरपालिका–९ र ११ बासिन्दालाई वितरण गर्न लगिएको सामाजिक सुरक्षा भत्ता बापतको नगद ३९ लाख ६३ हजार रुपैयाँ असार २९ गते वडासचिव ओपिन्द्रकुमार महतोको कोठाबाट चोरी भयो । नगरपालिकाकै वडासदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका महतोले सामाजिक सुरक्षा भत्ताको रकम आफू बस्ने कोठामा राखेको र त्यहीँबाट चोरी भएको बताएका थिए । सचिव महतोले आफू र सोही वडामा कार्यरत प्राविधिक खड्कबहादुर सिंह कोठा छाडेर आफू सुत्ने कोठाभन्दा ६० मिटर टाढा रहेको वडा कार्यालयमा इन्टरनेट चलाउन गएका बेला पैसा चोरी भएको बताएका हुन् ।

चोरी भएको भनिए पनि कोठामा तोडफोड नभएको, पैसा राखेर ताला लगाइएको भनिएको दराजसमेत सग्लो रहेको हु“दा घटनामा सचिव र प्राविधिकको संलग्नता हुन सक्ने भन्दै प्रहरीले असार ३१ गते दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान ग¥यो । २९ दिन अनुसन्धान गरिसकेपछि सचिव र प्राविधिकले नै बदनियतपूर्वक रकम लुकाएर चोरी भएको भन्ने हल्ला फैलाएको भन्दै उनीहरूबाट रकम असुल गरी कारबाही गर्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालतमा साउन २८ गते मुद्दा दायर ग¥यो । १० जना संदिग्धस“ग बयान लिएको प्रहरीले वडाध्यक्ष रामबहादुर बोहराको जाहेरी, प्रतिवादीहरूको बयान, घटनास्थल मुचुल्का, बैंकबाट रकम बुझेको कागजातका आधारमा उनीहरूले नै बदनियतपूर्वक रकम लुकाएको दाबी गर्दै अभियोग पेश गरेको थियो ।

‘पैसा राखेको कोठामा ढोका र ढोकाको ताला केही नभएको, झ्यालसमेत केही नभएको, दराज र लकरको तालासमेत खुला अवस्थामा रही केही टुटफुट नभएको अवस्था देखिँदा उक्त रकम बुझिलिनेदेखि वितरण गर्ने र वारदातको समयमा स“गै रहेका प्राविधिक खड्कबहादुर सिंह र सचिव ओपिन्द्रकुमार महतोले आफ्नो जिम्मामा रहेको नेपाल सरकारको रकम बेइमानीपूर्वक चोरी भयो भनी अन्तै लुकाई छिपाइ गरेको, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी पाएका ती व्यक्तिले आफ्नो कानुनी कर्तव्य पालना गर्नुपर्ने जिम्मेवारीविपरीत नेपाल सरकारलाई हानि–नोक्सानी हुने कार्य गरेको देखिँदा आपराधिक विश्वासघात गर्न नहुने कसुर गरेको वारदात स्थापित हुन आयोे’ प्रहरीले जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा भनिएको छ ।

यसै अभियोगका आधारमा जिल्ला अदालतले सचिव महतोलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने प्राविधिक सिंहलाई दुई लाख धरौटीमा छाडेको छ । प्रहरीले अभियोग पत्र दर्ता गरेको ठीक एक महिनापछि घटनास्थलभन्दा १ किमि टाढा घर भएका शेरबहादुर बोहरालाई आएको फोन कल, मेसेज र यसप्रति प्रहरीको मौनताले घटनालाई थप रहस्यमय बनाएको छ । कतिपयले चोरीको रकम लुकाएको ठाउ“बाट प्रहरीले रकम भेटाएको र सो रकम आफैँले राखेर सचिव र प्राविधिकलाई फसाएको आरोपसमेत लगाउन थालेका छन् ।

भदौ २७ गते दिउ“सो बोहराको घरमा एक जना १० कक्षामा पढ्ने विद्यार्थी मिलन बोहरा आए । उनले शेरलाई ‘तपाईंको घर नजिक राखिएको पैसा गायब भयो, त्यो फिर्ता गर्नुहोस्’ भने । ‘मैले केको रकम फिर्ता गर्ने ? कहा“को रकम हरायो भनेर थर्काएपछि त्यो केटा भाग्यो’ शेर बोहराले भने, ‘त्यसपछि ९७४९३०७७०४ नम्बरको मोबाइलबाट हामीले रकम तेरै घरको आसपास राखेका थियौं ।

अहिले गायब छ, त“बाहेक अरुले लगेको होइन भनेर लगातार फोन आउन थाल्यो । पैसा नदिए परिवारका सदस्यको हत्या गर्ने भन्दै फोन र मेसेज आउन थाल्यो । यसबारे मैले प्रहरीलाई जानकारी गराउँदा पनि कसैलाई केही कारबाही गरेको छैन ।’ उनले घटनाको भोलिपल्टै फोन रेकर्ड र मेसेजसहित प्रहरी चौकी पुतलीलेकमा निवेदन दिएको र प्रहरीले आफूलाई भेट्न आउने मिलनलाई बोलाएर सामान्य सोधपुछ गरी छाडेको उनले बताए ।

यस्तै प्रकृतिको धम्कीपूर्ण फोन अर्का स्थानीय मोहन बोहरालाई पनि निरन्तर आयो । उनलाई आएको फोन र मेसेजमा वडाध्यक्ष रामबहादुर बोहरा, वडासदस्य नरबहादुर पातली, वीरबहादुर बोहरालगायतलाई पनि धम्की दिइएको बताए । उनले उक्त फोन गर्ने व्यक्ति सोही वडाको बासिन्दा नरेश भनिने रणबहादुर बोहरा भएको र निजलाई कारबाही गरिपाऊ“ भनेर पुतलीलेक प्रहरी चौकीमा भदौ २९ गते किटानी जाहेरी दिए पनि उनलाई पक्राउ गरी छानबिन नभएको मोहनले बताए ।

अहिले धम्की पाएका शेर र मोहन बोहरा आफ्नो ज्यानको असुरक्षा भएको भन्दै न्यायको खोजीमा सदरमुकाम चैनपुर आएका छन् । ‘हामीले अडियो रेकर्ड, मेसेजसहित किटानी जाहेरी दिँदा पनि प्रहरीले सुनेको छैन’ मोहनले भने, ‘धम्की दिने व्यक्ति खुलेआम गाउँमा हिँडिरहेको छ । हामीले विस्थापित हुनुपरेको छ ।’ उनले रकम आफूले लुकाएको भनेर फोनमा धम्की दिने व्यक्तिलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउनुको साटो नसुनेझँै गर्दा प्रहरीको भूमिका पनि शंकास्पद देखिएको बताए ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिसपी रूपक खड्काले भने धम्की आएको भनेर ठाडो निवेदन आए पनि कसैको विरुद्ध उजुरी दर्ता नभएको बताए । ‘धम्की आयो भनेर ठाडो निवेदन आएको छ । त्यसको आधारमा धम्की दिने व्यक्तिलाई सम्पर्कमा आउन भनेका छौँ,’ उनले भने, ‘उजुरी दर्ता नभई कसैले भनेको आधारमा कुनै व्यक्तिलाई पक्राउ गर्न नमिल्ने भएकाले पक्राउ गरेका छैनाैँ ।’ उनले रणबहादुर बोहराको ठेगाना कैलाली रहेकाले उनलाई सम्पर्कमा ल्याइदिन कैलाली प्रहरीलाई पत्राचार गरिएको बताए ।

डिएसपी खड्काले चोरी विषयको मुद्दा अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रभावित पार्न नियोजित हिसाबले हल्ला फैलाएको हुन सक्ने बताए । ‘हामीले यो घटनालाई दुई तरिकाले हेरिरहेका छाैँ,’ उनले भने, ‘विचाराधीन मुद्दालाई प्रभावित गर्न हल्ला फैलाएको पनि हुन सक्छ । धम्की दिने व्यक्तिले चोरी गरेको रहेछ भन्ने सबुत प्रमाण फेला परे त राम्रो भैगो’ उनले चोरी मुद्दा अदालतमा विचाराधीन रहेकाले धम्की दिएको विषयलाई आधार मानेर मुद्दा दर्ता गर्न सकिने बताए । अर्कैले चोरी गरेको पुष्टि भए सोहीअनुसारको प्रमाण अदालतमा पेश गरिने र त्यसको अन्तिम निर्णय अदालतले गर्ने उनले बताए।

मुचुल्कामा छुटेको रड

यस्तै, बदनियत गरी रकम लुकाएको भन्ने आरोपमा धरौटीमा छुटेका प्राविधिक खड्कबहादुर सिंहले घटना भएको कोठाको खाटमा एक बित्ताको फलामको रड पनि भेटिएको र ढोकामा लगाएको तालामा खतसमेत लागेको भए पनि उक्त कुरा मुचुल्कामा समावेश नगरेको आरोप लगाए ।

‘हामीले फलामको रड खाटमा थियो भनेर देखाउँदा घटनाको बेला आएका असइ बलबहादुर नाथले यस्तोले पनि ताला फोड्छ र भनेका थिए’, उनले भने, ‘भोलिपल्ट मुचुल्का गर्न आएका इन्स्पेक्टर लोकेन्द्र कार्कीको टोलीले रड कालो प्लाष्टिकमा हालेर चौकी लगेको हो । तर, मुचुल्कामा यो विषय कतै लेखेको रहेनछ’, उनले आफूले बयान गर्दा पनि रड भेटेको भनेको तर प्रहरीले अदालतमा पेश गरेको बयानमा उक्त कुरा उल्लेख नभएको बताए ।

घटनाको केही बेरमा घटनास्थल पुगेका प्रहरी बिट पुतलीलेकका इञ्चार्ज बलबहादुर नाथले त्यहा“ थुप्रै रड देखिएकाले मुचुल्कामा उक्त कुरा उल्लेख नगरिएको बताए । उनले मुचुल्कापछि रड चौकीमा नलगिएको बताए । ‘त्यहा“ घरभरि रड छन् । अहिले खोज्यो भने पनि भेटिन्छन्’, उनले भने ।

डिएसपी खड्काले भने घटनास्थलमा रड भेटिएको कुरा आफूलाई केही थाहा नभएको बताए । ‘प्रहरीले जे देख्यो मुचुल्कामा त्यही लेखिने हो । रडको कुरा मलाई थाहा भएन’, उनले भने ।

टिप्पणीहरू