मनिलाको राजीनामा सर्वोच्चद्वारा बदर,कर्मचारीद्वारा उपाध्यक्षमाथि हप्किदप्की

मनिलाको राजीनामा सर्वोच्चद्वारा बदर,कर्मचारीद्वारा उपाध्यक्षमाथि हप्किदप्की

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले २०७७ मंसीर २९ गते दिएको र पुस १७ गते अध्यक्ष एकराज उप्रेतीले स्वीकृत गरेको भनिएको राजीनामालाई जिल्ला अदालतले बदर गरेपछि झन् लफडा मच्चिँदै गएको छ । मुद्दा मामिलाका क्रममा यसबीच मनहरी गाउँपालिकाले जनताको करबाट संकलित ७ लाखभन्दा बढी रकम खर्चेको बताइएको छ ।

यद्यपि, सर्वाेच्च अदालतसम्म उपाध्यक्षको राजीनामा सदर गराउन अघि बढेका अध्यक्ष एकराज उप्रेतीले सरकारी ढुकुटी खर्च गरेपनि अन्ततः असफलता हात लागेको अवस्था छ । सर्वोच्चले मुद्दा खारेज गरिसकेको छ ।

‘तपाईं को हो हामीसँग फाँटबारी माग्ने ?’

उता मुद्दा खारेज भएपनि अध्यक्ष र उपाध्यक्षको द्वन्द्व बेला बेलामा सार्वजनिक भइरहन्छ । गाउँपालिकामा अध्यक्ष पक्षधर र उपाध्यक्ष पक्षधर कर्मचारी भनी छुट्याएर व्यवहार गर्ने गरिएको बताइन्छ । खासगरी लेखा अधिकृत संगिता अधिकारी र सहायक लेखा कर्मचारी डिल्लीराम रेग्मी र उपाध्यक्ष बिष्टबीच सामन्जस्यता छैन । यसैबीच असोज १८ गते एउटा सूचना प्रकाशन गरी लेखा अधिकृत अधिकारी र रेग्मीले उपाध्यक्षले आफूहरुलाई कुट्ने,पिट्ने धम्की दिने गरेकाले काम गर्न असमर्थ रहेको जानकारी दिएपछि विवाद बढेको छ । रेग्मी उनै कर्मचारी हुन्, जसले उपाध्यक्ष बिष्टको राजीनामा कार्यालय समयको अन्ततिर २०७८ साल पुस १७ गते कार्यालयमा पसेर कार्यालय सहयोगीहरुलाई दबाबमा पारी दर्ता गराएका थिए ।

‘लेखा शाखामा तपाईं आउने होइन, खुरुक्क आफ्नो च्याम्बरमा जानुस्’

उपाध्यक्ष बिष्टले गाउँपालिकाको गत बर्षको खर्चको फाँटबारी मागेपछि समस्या उत्पन्न भएको बताइन्छ । गत बर्षको बजेट निर्माणका लागि नै खर्चको फाँटवारी मागिएपनि टार्ने गरेको पाइएपछि उपाध्यक्ष बिष्टले लेखा शाखामा गएर फाँटबारी माग्दा लेखा अधिकृत अधिकारीले ‘तपाईं को हो हामीसँग फाँटबारी माग्ने ?’ भन्दै अपमान गरेपछि विवाद भएको थियो । सो क्रममा सहायक कर्मचारी रेग्मीले ‘लेखा शाखामा तपाईं आउने होइन, खुरुक्क आफ्नो च्याम्बरमा जानुस्’ भन्दै हप्काउन खोजेपछि उपाध्यक्षले प्रतिवाद गरेको बताइएको छ ।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको च्याम्बरमा उपाध्यक्ष र लेखा अधिकृत पुगेपछि शर्माले फाँटबारी उपलब्ध गराउन भनेपनि सो कार्यान्वयन अहिलेसम्म भएको छैन । गाउँपालिकाले उपाध्यक्षले मागेको आर्थिक विवरण नदिएको र आम जनतामाझ सार्बजनिक नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यसअघि पनि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा रहेको सेफ हाउसमा माइती नेपालले सिफारिस गरेका पीडित व्यक्तिहरु राख्न खोज्दा अवरोध गरिएपछि उपाध्यक्षले ताला फुटाएर प्रभावितहरुलाई बास बस्न दिएको घटनाको अतिरन्जित गरिएको थियो । उपाध्यक्षले आफन्तलाई सेफ हाउसमा राखेको भन्दै हल्ला गरिएको थियो ।

एकपछि अर्काे घटना गर्दै गाउँपालिकामा विवादहरु सार्बजनिक भइरहेका छन् । विवाद समाधानका लागि नेतृत्वले भूमिका खेल्नेभन्दा पनि दूरी बढाएर लैजाने, कर्मचारी र कार्यपालिका सदस्यहरुलाई उछाल्ने काम भइरहेको बताइन्छ ।

टिप्पणीहरू