संस्थागत सुशासन ध्वस्त भन्दै सिटिजन्स बैंकको रिपोर्ट थन्क्याउँदै

संस्थागत सुशासन ध्वस्त भन्दै सिटिजन्स बैंकको रिपोर्ट थन्क्याउँदै

सिटिजन्स बैंक इन्टरनेशनलको स्थलगत निरीक्षण तथा सुपरीवेक्षण प्रतिवेदन नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पुगेर अड्किएको छ । गत चैतमा सकिएको बैंकको पछिल्लो स्थलगत प्रतिवेदनमा लेखिएका कैफियतमाथि केन्द्रीय बैंकले निर्देशन दिन बाँकी छ । कुनै पनि बैंकको प्रतिवेदनमाथि लेखिएको कैफियतलाई टेकेर केन्द्रीय बैंकको सञ्चालक समितिले अन्तिम निर्देशन दिने गर्छ ।

‘स्थापनादेखि सिटिजन्स बैंकमा संस्थागत सुशासन ध्वस्त भएको देखिन्छ । त्यो क्रम अहिले पनि पाइयो,’ राष्ट्र बैंक स्रोतले भनेको छ । बैंक सुपरीवेक्षण विभागको निरीक्षण टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरुमाथि सिटिजन्सले जवाफ दिएपछि आवश्यक निर्देशनको निम्ति राष्ट्र बैंक सञ्चालक समितिको सचिवालयमा भदौ महिनामै पेश गरिएको हो । तर बोर्डमा पेश गर्न अहिलेसम्म पालो आएको छैन ।

‘गभर्नर बिदामा बसेको कारण सञ्चालक समितिको बैठक बोलाइएको छैन । दशैंअगाडि सम्भवतः मुश्किलले एउटा बैठक बस्छ होला । अब सिटिजन्सको पालो कात्तिकमा पुग्छ,’ स्रोतले भनेको छ । संस्थागत सुशासन निकै कमजोर देखिएको र कर्जा प्रवाहमा समेत राष्ट्र बैंकको निर्देशनलाई लत्याइएका धेरै वटा विषयमा निरीक्षण टोलीले कैफियत औंल्याएको पनि स्रोतले जानकारी दिएको छ । ती विषयमा सञ्चालक समितिले यसपटक कस्तो निर्देशन दिन्छ, त्यो भने हेर्न बाँकी छ ।

केन्द्रीय बैंकको टोलीले उल्लेख गरेका कतिपय कैफियत विभागीय छलफलमा समेत उठाइएको थियो । तर ती सबै कैफियतलाई प्रतिवेदनमा नसमेट्नको लागि सिटिजन्सका उच्च अधिकारीहरुले अनुनय विनय गरेका थिए । विशेषगरी संस्थागत सुशासनमा देखिएको कमजोरी, प्रशासनिक र व्यवस्थापन तहमा राखिएको ग्यापलाई उल्लेख नगरिदिन सिटिजन्सले अधिकतम प्रयास गरेको हो । मुलुकको पछिल्लो राजनीतिक फेरबदलबाट उत्साहित सिटिजन्स बैंकका हर्ताकर्ताले कैफियत रोक्न त्यसलाई समेत प्रयोग गरेको बताइन्छ ।

‘बैंकको हालत खराब हो,तर अति तन्नम नै चाहिँ भन्न मिल्दैन । यसो भनिरहँदा सन्तोष गर्ने ठाउँ पनि देखिँदैन,’

‘बैंकको हालत खराब हो,तर अति खराब नै भन्न मिल्दैन । यसो भनिरहँदा सन्तोष गर्ने ठाउँ पनि देखिँदैन,’ बैंक सुपरीवेक्षण विभाग स्रोतले भनेको छ, ‘अहिलेसम्म डुबेका नेपाली बैंक तथा वित्तीय संस्था सबै सुशासनको अभावले हुन् । कर्जा प्रवाहकै कारणले खासै डुबेका छैनन् । तर, बैंक तथा वित्तीय संस्थाको उच्च तहदेखि नै संस्थागत सुशासनमा खडेरी पर्ने र त्यसलाई बेलैमा नसच्याउनेहरु सकिएका हुन् ।’

राष्ट्र बैंकको निरीक्षण, त्यसको प्रतिवेदन र त्यसमा लेखिएका कैफियतमाथि दिइने निर्देशन र सम्बन्धित बैंकले दिने जवाफ र प्रतिबद्धता कार्यान्वयनको अवधिलाई हेर्दा ती सबै कार्य अन्तिममा भुत्ते भइसक्छन् । राष्ट्र बैंकका एक जना पूर्व कार्यकारी निर्देशकका अनुसार अघिल्लो आर्थिक वर्षको विवरणको आधारमा गरिने सुपरीवेक्षण नै झण्डै ९ महिनापछि हुन्छ । त्यसको प्रतिवेदन र अन्तिम निर्देशन दिने कार्यको लागि थप ९ महिना लाग्छ । त्यति बेलासम्ममा अर्को टोली खटाउनुपर्ने हुन्छ । त्यहि अवधिमा खेलेर बैंकहरुले प्रतिबद्धता जाहेर गर्ने काम मात्रै हुने तर कैफियत सुधार नगर्ने प्रवृत्ति बढ्दै गएको हो ।

सिटिजन्स बैंकको उच्च व्यवस्थापनमा अनुभवी बैंकर, प्रशासक राखिएको भनिन्छ । ती सबैले आफ्नो कार्यकालमा नियमनकारी निकायमा छँदा त्यसैगरी सुशासन कायम राख्न आदेश दिएका थिए । तर अहिले कार्यान्वयन गर्ने तहमा रहँदा त्यस्ता निर्देशनको धज्जी उडाएका छन् ।

सिटिजन्समा अध्यक्ष राजनसिंह भण्डारी,सञ्चालक अनिल ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल छन् । भण्डारीले तीन दशक राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण विभागमा बसेर सबैलाई निर्देशन दिएका थिए । पछि एक दशक सिटिजन्सको सीईओ बने ।

ज्ञवाली नाम चलेका बैंकर हुन् । उनले स्वदेशी मात्रै होइन विदेशी बैंकमा समेत काम गरेका छन् । तर, उनी आफैं सञ्चालक रहेको बैंकको संस्थागत सुशासन ध्वस्त हुनु ज्ञवालीको पद र अनुभव दुबैलाई चुनौती भएको बताइन्छ ।

पोखरेल राजनसिंह भण्डारीका उत्तराधिकारी हुन् । भण्डारीले सिटिजन्समा गरेका काम हेरेर र सिकेर अहिले उनी सीईओ बनेका हुन् । संस्थागत सुशासन स्थापनाकालदेखि नै कमजोर भएको बैंकमा पोखरेलले त्यसैलाई मार्गनिर्देशन गर्दा अहिले अवस्था भवसागर भएको हो ।

टिप्पणीहरू