कम्युनिस्टको स्वत्व कसरी बच्ला र खोइ !

कम्युनिस्टको स्वत्व कसरी बच्ला र खोइ !

नेकपा एमालेको आन्तरिक जीवनकै पहिलो अभ्यासका रुपमा विधान महाधिवेशन हिजोदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । यसअघि नीति निर्माण र नेतृत्व चयन एकैसाथ राष्ट्रिय महाधिवेशनबाट गर्दै आएको एमालेले छुट्टै विधान महाधिवेशन आयोजना गरेको हो । महाधिवेशनले आगामी पाँच वर्षे नीति तय गर्ने बताइएको छ ।

तर,विधान महाधिवेशन नीतिभन्दा नेतामुखी भएको भन्दै कतिपय प्रतिनिधिले भने असन्तुष्टि जनाउन थालेका छन् । अध्यक्ष केपी ओलीको अति ‘देवत्वकरण’मा महाधिवेशन केन्द्रित भएपछि नीति र विधि-विधानमा छलफल गर्न काठमाडौँ झरेका ६ हजार प्रतिनिधि त्यसै फर्किनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ । खासगरी तत्कालीन माधव नेपाल समूहका नेताहरु महाधिवेशन लक्षित ओलीको भद्दा विज्ञापनप्रति सन्तुष्ट नभएको प्रष्टै देखिन्छ ।

नाम नबताउने शर्तमा पूर्वमाधव समूहका एक नेता भन्छन्, ‘नीति र विधिमाथि विमर्श गर्नुपर्नेमा अमुक नेताको देवत्वकरण गरेर महाधिवेशनको गरिमालाई नै कमजोर बनाउन खोजिएको छ । त्यसप्रति सहमत हुन सकिंदैन । किनभने हाम्रो पार्टी सामुहिकतामा चल्ने पार्टी हो । त्यसैले अहिले जे भैरहेको छ त्यो गलत छ’,उनले भने । आगामी पाँच वर्षे नीति तय गर्न आयोजना गरिएको महाधिवेशन नेताको भक्तिगानमा सीमित हुने अवस्थातर्फ जान नदिन सबैले चिन्तन गर्नुपर्नेमा उनको जोड छ ।

“कतिपयले संविधान र पार्टीको निर्णय नमान्ने ओलीले विधान महाधिवेशन गर्नुको अर्थ नहुने टिप्पणी गरेका छन् ।”

हुन पनि,विधान महाधिवेशन स्थललाई केपी ओलीमय बनाइएको छ । महाधिवेशनलाई ओलीको विज्ञापनको माध्यम नै बनाइएको भान हुन्छ । विधान महाधिवेशन लक्षित गरेर ओलीका ठुल्ठूला तस्वीरहरु शहरका पोलदेखि पानीको बोतलमा समेत टाँसिएको छ । चोक-चोकमा ओलीको तस्वीर अंकित ब्यानर,पम्प्लेट व्यापक बनाइएको छ । सडकभरि ओलीका तस्वीर राखिएका ब्यानर टांगिएका छन् ।

बिजुलीका पोलमा मात्र नभएर गाडीमा समेत ओलीको तस्वीर टाँसिएका छन् । अत्याधुनिक सम्मेलन केन्द्रमा झकिझकाउ र सजावट गरी महाधिवेशन हलमा चारैतिर ओलीका फोटो राखिएको छ । विधान महाधिवेशन हल बाहिर राखिएको ओलीको ठुल्ठूला तस्वीरसँगै उभिएर सेल्फी लिनेको प्रतिस्पर्धा छ ।

सडकमा तस्वीर फिँजाएर विज्ञापन मात्र गरिएको छैन राजामहाराजालाई जसरी नै ओलीलाई गाडीमा एस्कर्टिङ गरेर महाधिवेशनस्थल पुर्याइएको थियो । एमाले कार्यकर्ताले सातदोबाटो चोकबाट एस्कर्टिङ गर्दै ओलीलाई गोदावरीस्थित महाधिवेशनस्थलसम्म पुर्याएका हुन् । देशकै सबैभन्दा ठूलो पार्टीको विधान अधिवेशनमा अध्यक्ष ओलीको यसरी विज्ञापन गरिएको छ कि,ओली नै पार्टी हुन् र पार्टी नै ओली हो ।

‘बालकोट र गोदावरीका बाटाभरि ओलीका फोटैफोटा । लामबध्द भक्तद्वारा ओलीको गोदावरी सवारी चलान,’ मञ्चमा न मार्क्स,न पुष्पलाल । मञ्चमा केवल ओली,बोतलमा ओली । ६ हजारको भीडमा एक राजा,अरू प्रजा । एक देवता,अरू दास । एक प्रभू ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट् कम्निस्ट नामको यो कलंक !’

महाधिवेशनमा ओलीको भद्दा प्रचारलाई लिएर उपमहासचिव घनश्याम भुसालले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ । भुसालले अध्यक्ष ओलीको भक्तिले नेकपा एमाले समाप्त हुने खतरा बढेको बताउनुभएको हो । एमालेको शक्ति सामुहिकतामा रहेको भन्दै उहाँले त्यसलाई बचाउन नसके एमाले समाप्त हुने चेतावनी पनि दिनुभएको छ ।हिजो राति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भुसालले भन्नुभएको छ, ‘नेकपा एमालेको जीवनशक्ति सामुहिकता र संगठनात्मक प्रणाली थियो । त्यसलाई बचाउन सकिएन भने अरू कुनै चीजले हामीलाई बचाउन सक्दैन । यति कुरा बुझ्न सक्यौं भने हामीलाई कसैले हराउन सक्दैन ।’ भुसालले प्रष्ट नभने पनि उहाँका अभिव्यक्तिमा ओलीको देवत्वकरण गरिएकोमा असन्तुष्टि बुझ्न सकिन्छ ।

गोदावरीमा एमालेले विधान महाधिवेशन गरिरहँदा आमरुपमा पनि चासो प्रकट भैरहेका छन् । कतिपयले संविधान र पार्टीको निर्णय नमान्ने ओलीले विधान महाधिवेशन गर्नुको अर्थ नहुने टिप्पणी गरेका छन् । नितान्त व्यक्तिको देवत्वकरण उन्मुख अभियानकाे बीचबाट सामुहिकताकाे आशा गर्नु बिषवृक्ष राेपेर अमृत फलाउने मृगतृष्णा मात्र हुने विश्लेषण गर्नेहरु पनि छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेको विधान महाधिशेनलाई दक्षिणपन्थी अवसरवादको कुम्भमेलाको संज्ञा दिनुभएको छ । महाधिवेशनमा ओलीको संस्थागत रुपमा देवत्वकरण भैरहेको भन्दै उहाँले त्यसलाई पेटी बुर्जुवा प्रवृत्ति भन्नुभएको छ । ओलीको देवत्वकरणलाई खनालले सामन्ती संस्कृतिको प्रतिबिम्ब हो र राजा महाराजाको फोटोकपी भनेर टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले महाधिवेशनलाई भ्रमको खेति भन्नुभएको छ । लुटको धन फुपूको श्राध्द गरेर ओलीले सोझा जनतालाई भ्रममा पारे पनि अन्तत: मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ ।

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लुटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तत: स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’, भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

एमाले विधान महाधिवेशनप्रति वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाको कटाक्षपूर्ण टिप्पणी सार्वजनिक भएको छ । विधान महाधिवेशनका नाममा ओलीको देवत्वकरण गरिएको भन्दै उहाँले भन्नुभएको छ, ‘बालकोट र गोदावरीका बाटाभरि ओलीका फोटैफोटा । लामबध्द भक्तद्वारा ओलीको गोदावरी सवारी चलान,’ मञ्चमा न मार्क्स,न पुष्पलाल । मञ्चमा केवल ओली,बोतलमा ओली । ६ हजारको भीडमा एक राजा,अरू प्रजा । एक देवता,अरू दास । एक प्रभू ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट् कम्निस्ट नामको यो कलंक !’

यता,हिजो अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान मस्यौदा प्रस्तावमाथि आजबाट समूहगत छलफल भैरहेको छ । ६ हजार प्रतिनिधिलाई १० वटा समूह बनाएर ४ घण्टामा छलफल सक्ने गरी समय तोकिएको छ । ६०० जनाको समूहलाई दुई घण्टाको समय छलफलका लागि पर्याप्त होइन । त्यसैले पनि विधान महाधिवेशन प्रक्रिया पुरा गर्नेमा मात्रै सीमित हुने देखिएको छ ।

विकट कर्णालीदेखि काठमाडौँसम्मका प्रतिनिधि स्वयमले बुझ्नुपर्ने कुरा के हो भने, जहाँ नेताको देवत्वकरण गरिन्छ, त्यहाँ कार्यकर्ता अन्जानमै दासत्व स्वीकार गरिरहेका हुन्छन् । त्यसले एमाले र राजनीतिलाई मात्र होइन, समाज र राज्यलाई पनि भ्रष्टिकरणतर्फ उध्यत गर्छ । विधान महाधिवेशनको बाहिरी झाँकीले एमालेको दिशा र दशा प्रष्ट भएको छ । अब भित्री झाँकीले उसको स्वत्व कसरी बचाउला र खै ?

टिप्पणीहरू