कोरोनाको जोखिम बढ्यो,औषधी पाइन छाड्यो

कोरोनाको जोखिम बढ्यो,औषधी पाइन छाड्यो

पछिल्ला दिनमा कोरोना संक्रमणका नयाँ भेरियण्टहरु देखा पर्न थालेको छ । अहिलेसम्मको निकै खतरा मानिएको डेल्टा भेरियण्ट हो । यो यसबीचमा सर्वत्र भीड बढ्न थालेको छ । काठमाडौंमा इन्द्रजात्रादेखि झन् बढेको हो ।

अहिले सर्वसाधारणले समेत महामारीको पछिल्लो अवस्थालाई सामान्य रुपमा लिन थालेको देखिन्छ । विशेषगरी कोरोनाविरुद्धको खोप लगाएकाहरुले अलि बढी नै लापरबाही र हेलचेक्रयाईं गरेको पाइएको हो ।

तर विज्ञहरुले पछिल्लो भेरियण्टलाई हाल लगाइएको खोपको दुई मात्राले काम नदिने चेतावनी दिएका छन् । यसबीच कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ ।

अहिले जताततै अभाव भएको औषधि एक्टेम्रा नामको इन्जेक्सन हो । यसको रासायनिक नाम टोसिलिजुमाब हो । स्वीटजरल्याण्डको बासेलस्थित कम्पनीले मात्र विश्वभरको निम्ति उक्त औषधिको उत्पादन गर्छ । तर अहिले सर्वत्र अभाव देखिएकाले संक्रमण बढेमा परिस्थिति भयावह बन्नसक्ने खतरा छ ।

अहिले बजारमा प्यारासिटामोलको समेत अभाव भएको आवाज सुनिन थालेको छ । अस्तितिर रगत पातलो बनाउने इन्जेक्सन इनोक्सापारिनको समेच चर्को अभाव थियो ।

दशैंको चहलपहलमा भीड बढेमा पुनः छ महिनाअघिको जस्तै खराब अवस्था देखापर्न सक्ने भन्दै जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । उनीहरुका अनुसार पहिलेको जस्तै दिनहुँ हजारौं संक्रमित थपिने र सयौंको निधन हुन थालेमा पुनः अक्सिजन अभाव र अस्पताल बेडको हाहाकार सुनिनेछ ।

हुन पनि सरकारले यसबीचमा स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारको भनेजति विकास गरेको छैन । बिरामी र संक्रमित संख्या बढेपछि फेरि पहिलेकै खराब हालतमा परिस्थिति देखापर्न सक्ने सम्भावना बढेको हो ।

सरकारी निकायहरु सूचना जारी गरेर आफ्नो दायित्व पन्छाउनेमै सीमित छन् भने सर्वसाधारणले खेलाँची गरेका कारण परिस्थिति नियन्त्रण बाहिर नजाला भन्न सकिँदैन ।

टिप्पणीहरू