सोमवारको असामान्य घटनामा दोष कसको ? बुध्द एयरका विमानको कि पाइलटको ?

सोमवारको असामान्य घटनामा दोष कसको ? बुध्द एयरका विमानको कि पाइलटको ?

सोमवार बिहान काठमाडौंबाट बिराटनगर उडेको बुध्द एयरको एटिआर ७२ विमान बिराटनगर विमानस्थलमाथि केही चक्कर लगाए पनि अवतरण गर्न नसकेर काठमाडौं फर्कियो । काठमाडौं आएपछि पनि उसले धेरै बेर आकाशमा होल्ड गरिरह्यो ।

दायाँतर्फको चक्का (ल्याण्डिङ गियर) खुलेको संकेत नदेखिएपछि चालक दलले विमानलाई सुरक्षित अवतरण गराउन राजधानी ल्याएको बताइएको थियो । आकस्मिक अवतरणको तयारी गरे पनि अन्ततः विमानलाई सामान्य अवस्थामा ल्याण्ड गराइएको थियो । झण्डै एक दर्जन यात्रुले विमानभित्र आत्तिएर बान्ता गरेका थिए भने आधा दर्जन जति बेहोस भएको बताइन्छ ।

नेपालमा सामान्यतयाः १५ वर्ष पुग्नै लागेका जहाज ल्याउने प्रवृत्ति बढी देखिएको छ । त्यसमा बुद्ध एयर पनि अछुतो छैन ।

एक जना यात्रुले जानकारी दिएअनुसार विमान परिचारिकाहरुले यात्रुलाई सम्झाए पनि आकाशमा धेरैबेर होल्ड गरेर आकस्मिक अवतरण गर्न खोजिएकाले उनीहरुको आँखामा पनि आँसु टिलपिल भएको थियो । समग्रमा उक्त उडान कहालीलाग्दो नै भएकाले सरकारले छानबिन समिति तत्काल बनायो । जहाज र चालक दलका सबै सदस्यलाई ग्राउण्डेड गराइयो ।

तर,भोलिपल्ट उज्यालो हुँदा नहुँदै बुद्ध एअरको उक्त विमानले फेरि मान्छे बोकेर हिँड्यो । त्यहि दिन बिहान पोखरा जाँदै गरेको बुध्दको एटीआर ४२ विमानमा पनि समस्या देखिएपछि मनकामना नपुग्दै फर्काएर काठमाडौं ल्याइयो । विमानको ककपिटभित्र धुवाँ देखिएपछि विमानलाई फर्काइएको हो । तर,त्यो घटनामा छानबिन टोली बनाइएन । त्यो विमान पनि २४ घण्टापछि नियमित उडानमा फर्कियो ।

आइतबार रातिको उडानमा ककपिटको मोनिटरलाई मधुरो बनाइएकाले भोलिपल्टको उज्यालोमा गरिएको उडानमा ल्याण्डिङ गेयरको इण्डिकेसन नदेखिएको प्रारम्भिक छानबिनबाट पत्ता लागेको दाबी गरिएको छ ।

यी सबै घटनामा दोष कसको भन्न थालिएको छ । सामान्यतया नेपालमा भएका प्रत्येक विमान दुर्घटनामा पाइलटलाई दोष देखाउने प्रचलन छ । यसो गर्दा बितेको चालकले प्रतिवाद गर्न आउने कुरा भएन,कम्पनीले इन्स्योरेन्स पनि सर्लक्कै पायो । जहाज त राम्रै हो तर क्याप्टेनको गडबडीले दुर्घटना भयो भनेपछि दिवङ्गत यात्रुका परिवारले मन नबुझाई सुखै पाएन ।

बुध्द एअरले पनि कतै घुमाइफिराई क्याप्टेनलाई दोष दिने वातावरण बनाएको त होइन भन्ने आशंका उठेको छ । तर,आमसर्वसाधारण र यात्रुले भने चालक र चालकदलका सदस्यको कारण आफूहरु जोगिएको बरु बुध्दको विमानमै धेरै कैफियत रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

हुन पनि सोमबार दिउँसोदेखि बुध्द एयरका क्याप्टेन आङ्गेलु शेर्पालाई ग्राउण्डेड गरिएको छ । ग्राउण्डेड भनेपछि क्याप्टेन र चालक दलका सदस्यले उडान गर्न पाउने छैनन् । सम्भवतः आज अपरान्हसम्म सरकारी छानबिन समितिको प्रतिवेदन आउने छ । तर,जुन जहाजमा समस्या देखिएको हो त्यसैलाई भने उड्न दिइएको छ । बुध्द एअरका एक जना अधिकारीले भने,‘रातभर प्राविधिक परीक्षण गरेर भोलिपल्ट उड्न दिइएको हो ।’

उक्त दिनको उडानमा जहाजको चक्का (ल्याण्डिङ गियर) खुलेको थियो वा थिएन ?, प्राविधिक हो वा मानवीय त्रुटी भन्नेसम्बन्धमा रिपोर्टमा उल्लेख हुनै बाँकी छ । विमानको ककपिटमा रहेका दुई वटा इण्डिकेटरमध्ये एउटाले चक्का खुलेको देखाएको र अर्कोले नदेखाएपछि पाइलट अलमलमा परेको भनिन्छ ।

सोमबार दिउँसोदेखि बुध्द एअरका क्याप्टेन आङ्गेलु शेर्पालाई ग्राउण्डेड गरिएको छ ।

बिराटनगरबाट काठमाडौं ल्याएर एयर ट्राफिक कन्ट्रोलरले दुरबिनले र चौरमा उभिएका हवाई कम्पनी र सुरक्षाकर्मीले विमानको चक्का नजिकबाट हेरेर ठीक छ भनेपछि नर्मल ल्याण्डिङ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

अहिले सर्वत्र पाइलटलाई ग्राउण्डेड गरी तर विमानलाई प्रतिवेदन नआउँदै उड्न दिइएकोमा बुध्द एअर र नागरिक उड्डयन प्राधिकरण्को आलोचना हुन थालेको छ । सर्वसाधारण र यात्रुहरुले दुबैलाई सँगै ग्राउण्डेड गर्नुपर्ने आवाज उठाएका छन् ।

यससम्बन्धमा जनआस्थाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतसँग जिज्ञासा राख्दा ‘प्रारम्भिक छानबिनबाट पाइलट बढी दोषी देखिएको’ बताएको छ । आइतबार रातिको उडानमा ककपिटको मोनिटरलाई मधुरो बनाइएकाले भोलिपल्टको उज्यालोमा गरिएको उडानमा ल्याण्डिङ गेयरको इण्डिकेसन नदेखिएको प्रारम्भिक छानबिनबाट पत्ता लागेको दाबी गरिएको छ ।

तर,जुन जहाजमा समस्या देखिएको हो त्यसैलाई भने उड्न दिइएको छ ।

स्रोत भन्छ,‘बिहान विमान उडाउँदा चालक दलले त्यो नहेरेको पुष्टि भएको छ । प्राइमरी इण्डिकेटरमा नदेखिएपछि पाइलटले विमानको चक्का हेर्न लगाए तर भित्र आफूले राम्रोसँग हेरेनन् ।’ यसबारे आज दिउँसो बुझाइने छानबिन प्रतिवेदनमा बिस्तारमा लेखिने स्रोतको दाबी छ ।

सोमबार बिहानको घटना र सहज अवतरणपछि सर्वसाधारण र यात्रुले बुध्द एअरमाथि थोत्रा विमान बटुलेको आरोप लगाएको थियो । यात्रुको ज्यान जोगाएको भन्दै क्याप्टेन शेर्पाको सर्वत्र गुणगान र चर्चा हुन थाल्यो । त्यसपछि बुध्द एअरले आफ्नो ‘रेपुटेसन’मा धक्का लाग्ने देखिएपछि घटनालाई क्याप्टेन र चालक दलको कमजोरीतर्फ लैजान हरसम्भव प्रयास गरेको विज्ञहरु बताउँछन् ।

सामाजिक सञ्जालमा बुध्द एअरको सबैभन्दा ठूलो कमजोरी र चालक र चालक दलका सदस्य भगवानसरह रहेको स्टाटस बग्रेल्ती लेखिएका छन् । यसबारे नागरिक उड्डयन प्राधिकरणका एक जना अधिकारी भन्छन्, ‘सतर्कता अपनाउने चालकले हो । बिहान विमान उडाउनुअघि उक्त प्राविधिक पक्षलाई हेर्नुपर्थ्यो । त्यो इञ्जिनियरले हेर्ने हो कि पाइलटले भन्ने विषय सम्भवतः प्रतिवेदनमा आउँछ ।’

अहिले बुध्दसँग १३ वटा जहाज छन् । दुई वटा साना विमान छन् भने ११ वटा एटीआर ४२ र ७२ सिटे हुन् । बुध्दले दैनिक औसतमा ६० भन्दा बढी उडान गर्छ । आगामी दिनमा एक सयभन्दा बढी उडानको लक्ष्य राखेको छ ।

पुरानो विमानबारे प्राधिकरणले भनेको छ, ‘१५ वर्षभन्दा पुरानो जहाजलाई नेपालमा दर्ता गर्न दिईंदैन ।’ त्यहि कानुनी प्रावधानका कारण १५ वर्ष पुग्न एकाध वर्ष र महिना बाँकी रहेका विमान जहाज ल्याउने गरिएको हवाई व्यवसायीहरु बताउँछन् । नेपालमा सामान्यतयाः १५ वर्ष पुग्नै लागेका जहाज ल्याउने प्रवृत्ति बढी देखिएको छ । त्यसमा बुद्ध एयर पनि अछुतो छैन ।

तर जहाजलाई नियमित मर्मत सम्भार गरिने भएकाले अरु मेशिनरी साधनजस्तो जहाज कहिल्यै पुरानो नहुने जहाज मर्मतमा संलग्न इञ्जिनियरहरु बताउँछन् ।

टिप्पणीहरू