प्रभुले बनाए यस्तो प्लान

प्रभुले बनाए यस्तो प्लान

राजनीतिको ‘थोक पसल’ मा बसेर पार नलागेपछि खुद्रे बाटोतिर लम्किएका छन्, प्रभु साह । अर्थात्, छिट्टै एमाले परित्याग गरेर क्षेत्रीय दल गठन गर्ने तयारीमा छन् ।

पुस ५ को कदमपछि शुरुमा प्रचण्ड–माधव समूहमै गएका उनले एउटा बैठकमै माधव नेपालविरुद्ध कुरा उठाए । त्यसको भोलिपल्ट केपी ओलीले मन्त्री बनाउने भएपछि उतै लागेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमालेमै रहे । त्यहाँ पनि अहिले कुरा मिल्न छाडेको छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा आठ बुँदे फरक मत राखेका छन् ।

तर, त्यसको सुनुवाई भएको छैन । उनले हालै मधेसवादी नेताहरुसँग भनेका छन्, ‘प्रदेशमा १०–१२ जना र संघीय संसदमा १–२ जना सांसद भएपछि आफ्नो कुरा आफैँले गर्न सकिन्छ, किन अरु नेताको पछि लागेर हिँड्नु ?’ उनले संघीय संसदमा एक सीट आफ्नै बलबुताले जित्ने अनुमान गरेका छन् ।

पार्टीमा कोही प्रभावशाली नेता आएमा थप २–४ जनालाई जिताउन सकिने हिसाब छ । त्यसमाथि मन्त्री बन्ने सम्भावना भयो भने केही स्वतन्त्र सांसदले समर्थन गर्ने विश्वास पनि लिएका छन् ।

उता, राजेन्द्र महतोहरू अबको चुनावमा माधव नेपालहरूलाई खासै राम्रो हैसियत प्राप्त नहुने निश्कर्षमा पुगेका छन् । भन्ने गर्छन्, ‘माधवजीले रौतहटमै हार्ने खतरा बढी छ ।’ त्यहाँ पुराना कम्युनिष्टहरू पनि छन् । ती सबै एक ठाउँमा हुँदा त जित्ने सम्भावना हुन्छ ।

तर, प्रत्येक चुनावमा माधवले अप्ठेरो–अप्ठेरोसँग जित्दै आएको आधारमा राजेन्द्रहरू यस्तो निश्कर्षमा पुगेका हुन् । उनीहरूले ओलीसँगको मित्रता नछोड्ने नीति लिएका छन् । कांग्रेस, माओवादी, समाजवादी र जसपाबीच चुनावी गठबन्धन हुने आंकलन उनीहरूको छ ।

यदि शेरबहादुर सभापति भएमा वा नभएमा पनि एकीकृत समाजवादी र माओवादीको एउटा गठबन्धन हुन्छ भन्ने विश्वास लिएका छन् । उपेन्द्र यादव ओलीसँग नरहने पक्कापक्की भएको दावी छ । अर्थात् उनी माधव, प्रचण्डसहितको गठबन्धनमा हुन्छन् ।

त्यो गठबन्धनअन्तर्गत मधेशमा उपेन्द्रले, पहाडमा अशोक राई र माधवहरूले लिड गर्ने अनुमान छ । आफूहरू राप्रपासहित ओलीसँग चुनावी गठबन्धनमा जाने उनले बताएका छन् ।

टिप्पणीहरू