घुमुवा र हाकिमहरुको घमासान

घुमुवा र हाकिमहरुको घमासान

नेपाल प्रहरीमा घुमुवा प्रहरी राखी असुली गर्ने प्रचलन हटाउन अनेकौं प्रयास भए । विगतमा प्रहरी प्रमुखको नियुक्तिसंगै हरेकले घुमुवा प्रहरीलाई हटाउने भाषण गर्थे । तर,व्यवहारमा कहिल्यै लागू भएन ।

सामान्य रुपमा बुझ्दा घुमुवा भनेको बिना बर्दीका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरी अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले खटाइएको हुन्छ । तर,पछिल्ला वर्षहरुमा उनीहरु आफ्नो जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय भइरहेका छन् ।

अपराधी पत्ता लगाउनका लागि सादा पोशाकमा खटाउने गरेको भए पनि उल्टै अपराधीसँग मिलेर रकम लेनदेन हुने गरेको आरोप प्रहरीले बेला बखत भोग्दै आएको छ । माधव नेपाल प्रधानमन्त्री र भीमबहादुर रावल गृहमन्त्री हुँदा तराईका जिल्लामा सशस्त्र समूहको बिगबिगी थियो । त्यति बेला घुमुवा प्रहरीसँग सशस्त्र समूहको कनेक्सन भएको पुष्टि मात्र भएन,उनीहरूलाई प्रहरीको अप्रेसनबारे पहिल्यै सूचना प्राप्त हुने गरेको खुल्यो । त्यही सूचनाका आधारमा उनीहरू सुरक्षित रहँदै आएका थिए ।

तत्कालीन गृहमन्त्री रावलले त्यस्ता घुमुवालाई पहाडी र हिमाली जिल्लामा सरुवा गरे । त्यसपछि सशस्त्र समूहको गतिविधि कमजोर भयो,र प्रहरी कारबाहीमा पर्न थाले । क्रमशः सशस्त्र समूह तराईमा निस्तेज मात्र होइन, समाप्तै भएको थियो । घुमुवाहरूले सशस्त्र समूहसँग कनेक्सन गरी हत्या र आतंक फैलाएर असुली गरेको रकमको हिस्सा पाउने गरेका थिए ।

तर,अहिले कार्यालय प्रमुखको रूपमा सरुवा भई आउने इन्चार्जसमक्ष पैसा पुर्‍याउने गतिलो माध्यम नै उनीहरु बनेका छन् । कतिपय कार्यालयमा त प्रहरी निरीक्षकको कमाण्डमा घुमुवा प्रहरीलाई खटाएको हुन्छ भने कतिपय कार्यालयमा असइ । तर,गैंडाकोटजस्तो संवेदनशील क्षेत्रमा भने प्रहरी जवानको कमाण्डमा बिवादित प्रहरीलाई नै खटाएको पाइन्छ ।

समाजमा शान्ति र सुव्यवस्था कायम गर्न-गराउन प्रहरी संगठनको स्थापना भएको हो । तर,केही प्रहरीको बानी व्यवहारले भने संगठनलाई नै एकपटक पुनः नराम्रोसंग गिज्याइरहेको छ । गैंडाकोटका एक व्यवसायी भन्छन्, ‘घुमुवा प्रहरी भनेका त राज्यले नूनपानी दिएको वैधानिक गुण्डा हुन् ।’

को हुन् बदनाम प्रहरी ?

प्रहरी जवान गणेश खनाल २०६४ असोज र अर्का प्रहरी जवान रमेश रानाभाट २०६४ फागुनमा प्रहरीमा भर्ना भएका हुन् । अहिले ईलाका प्रहरी कार्यालय गैंडाकोटमा घुमुवाको टोलीमा खटिएका उनीहरु दुवै बदनाम रहेको प्रहरीकै तथ्यांकले देखाउँछ ।

प्रहरी जवान खनाल त यसअघि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) मा कार्यरत रहँदा जिल्ला प्रहरी प्रमुखको रूपमा रहेका तत्कालीन एसपी (हालका डिआइजी) मुकुन्दराज आचार्यको कार्यकालमा अवैध रूपमा नदीजन्य पदार्थहरु उत्खनन गर्न दिएको भन्दै निलम्बनमा परे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका तत्कालीन (एआइजी) कमलसिंह बमले आर्थिक चलखेल गरेर नदीजन्य पदार्थहरुको उत्खनन गराएको प्रमाण फेला परेपछि खनाललाई निलम्बन गरियो । निलम्बन फुकुवापश्चात पुनर्बहाली भएका उनलाई जिल्ला प्रहरी कार्यालय गोर्खामा कार्वाही स्वरुप काज खटाइएको थियो ।

त्यसपछि २०७५ सालमा पुनः गोर्खाबाट गैंडाकोट पुगेका खनालले केही समय घुमुवाको जिम्मेवारी सम्हाले । उनलाई पुनः गण्डकी प्रदेश प्रहरी कार्यालयका तत्कालीन डिआइजी बिनोद शर्मा घिमिरेले धेरै उजुरी आएको भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा २ बर्षअगाडि प्रदेश प्रहरी कार्यालय तानेका थिए ।

कार्वाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानेको भएपनि त्यसबेला भने उनलाई गैंडाकोटस्थित केही राजनीतिक दलका नेता,कार्यकर्ताले बचाएका थिए । नेता-कार्यकर्तासँग राम्रो सम्बन्ध बनाउँदै आएका उनी फोन घुमाई पुनः सोही क्षेत्रमा फर्कन सफल भए । अहिले उनलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खनाल पाण्डेले संरक्षण गरिराखेकी छन् ।

प्रहरी निरीक्षक पाण्डे अपराध नियन्त्रण तथा अनुसन्धानमा दक्ष मानिन्छन् । उनलाई काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत रहँदा साँखु क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन,बिक्री-वितरणमा नियन्त्रण,भरुवा बन्दुक बरामद, गुण्डागर्दी तथा जुवा नियन्त्रण र चोर पक्राउमा महत्वपूर्ण योगदान गरेको तथा कारवाही गर्न सफल भएको भन्दै नगद रु.एक हजार २०० सहित पुरस्कृत गरिएको थियो ।

काठमाण्डौका तत्कालीन प्रहरी प्रमुख एसएसपी (हालका डिआइजी) बसन्तकुमार लामाले सम्मान पनि गरेकै हुन् । तर, अहिले उनलाई उनैद्वारा घुमुवामा परिचालित प्रहरीहरुले नै बदनाम बनाइरहेका छन् ।

खनाललाई देखावटी रूपमा सवारी चालकमा खटाएको भएपनि उनीहरुको काम भनेको असुली धन्दा नै रहेको स्रोतको भनाईं छ । प्रायःजसो मदिरामा सधैं लठ्ठ भइरहने घुमुवाद्वयलाई प्रहरी निरीक्षक पाण्डेको कहिलेसम्म संरक्षण ? त्यस्तै,अर्का प्रहरी जवान रमेश रानाभाट समेत असुलीमा निक्कै बदनाम र प्रख्यात मानिन्छन् । तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालय चितवनको घुमुवा हुँदा रानाभाट निलम्बनमा परेका थिए ।

प्रहरी जवानसंँग डराए एसपी मल्ल

सामान्यतः प्रहरी जवान एसपीसँग डराउँछन् । तर, ईलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत घुमुवा प्रहरी जवानद्वय गणेश खनाल र रमेश रानाभाटसंँग भने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका एसपी प्रकाश मल्ल डराएका छन् ।

गैंडाकोटमा लामो समयदेखि असुली धन्दा चलाउँदै आएका बिवादास्पद दुई घुमुवा प्रहरी जवानद्वयलाई एसपी मल्लले तत्कालै १ घण्टाभित्र रमाना दिनु भनी आदेश गरेपनि पछि आफ्नै निर्देशनबाट पछि हटे । स्रोत भन्छ, ‘उनीहरुले एसपीसाहेबकै आशीर्वाद पाएका छन् । अब त हुने केही होइन । यसअघि उनीहरुको बिगतका पाना पल्टाएर एसपी साबले निर्णय लिनु उचित हुन्थ्यो तर,चोरकै कुरा सुनेर त्यसैलाई विश्वास मानी उहाँ पछि हट्नु भनेको विभागमा जसले जे भनेपनि हुने रहेछ भन्ने प्रमाणित भयो ।’

स्रोत अगाडि भन्छ, ‘प्रहरी जवान खनालले एसपी साबलाई तपाईंलाई उजुरी गर्ने उजुरीकर्ता नै गलत रहेको भनेको बुझिन्छ । त्यसैले हाम्रो तत्काल रमाना रोकिएको उनीहरुको भनाइ सुनिएको छ । अब जति समाचार आए पनि,जतिसुकै उजुरी आए पनि वा जसले जे गरे पनि केही हुँदैन, हामीले पनि एसपी साबलाई खेलाउन त जानेका छौँ नि भन्ने गरेका छन् ।’

उनीहरुकै गलत रिपोर्टिङले तत्कालका लागी दुवैको रमाना रोकिएको एक प्रहरी हवल्दारले आफ्नो नाम नबताउने शर्तमा बताए । ती प्रहरी भन्छन्, ‘हाम्रो एसपी साब सबैलाई झट्ट विश्वास गर्ने स्वभावको हुनुहुन्छ, त्यसैको असर हो जस्तो लाग्छ ।’

प्रहरी स्रोतका अनुसार एसपी मल्लले चासो दिन छाडेपछि अहिले प्रहरी जवानद्वय खनाल र रानाभाटकै कारण नवलपुर प्रहरी बिवादित र बद्नामित भएको छ । उनीहरुकै संरक्षणमा जुवा तथा लागुऔषध समेतको खुलेआम कारोबार मौलाएको छ ।

टिप्पणीहरू