केही घण्टाको फरकमा तीन वटा बैठक,सम्भावित निर्णय के हुनसक्छ ?

केही घण्टाको फरकमा तीन वटा बैठक,सम्भावित निर्णय के हुनसक्छ ?

आज केही घण्टाको फरकमा तीन वटा महत्वपूर्ण बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान १० बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका अध्यक्षलाई निम्तो दिइएको बैठकमा एमालेले अनुपस्थित हुने बताइसकेको छ । यसअघि सभामुखले बोलाएको बैठक पनि उसले बहिष्कार गरेको थियो ।

सर्वदलीय बैठकमा मुख्य गरेर संसद बैठकमा एमालेले गर्दै आएको अवरोध हटाउने र बैठकलाई सुचारु गर्ने विषयमाथि छलफल हुने बताइएको छ । यसबीचमा एमालेको बिरोधका बाबजुद पनि सरकारले आर्थिक विनियोजन विधेयक पारित गरिसकेको छ । अरु सबै विधेयक र कार्यसूचीका विषय अलपत्र हुँदै आएका छन् ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको पत्र पढेर सुनाउने र प्रधानमन्त्री देउवाले महालेखा परिक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

आजै दिउँसो ३ बजे क्याबिनेट बैठक डाकिएको छ । एमालेले प्रतिनिधिसभाको बैठक अन्त्य गरेर सरकारले आफू अनुकूलको निर्णय गर्ने आशंका गर्दै आएको सन्दर्भमा आजका तीन वटा बैठकलाई अर्थपूर्ण ठानिएको छ ।

सर्वदलीय बैठक र संसद बैठकमा एमालेको रवैयालाई हेरेर दिउँसोको क्याबिनेटले केही राजनीतिक निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू