अख्तियार देखाउँदै सल्यानमा नगरपालिकाको मनपरी

अख्तियार देखाउँदै सल्यानमा नगरपालिकाको मनपरी

नगरपालिकाको भवन बनेको दुई वर्ष बढी हुँदा पनि निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो आउन थालेको छ । सल्यान बागचौर नगरपालिकाको भवन निर्माण सम्पन्न भएको दुई वर्ष बढी हुँदासमेत निर्माण व्यवसायीले भुक्तानी पाउन नसकेको गुनासो गरेका हुन् ।

भवन निर्माणका लागि बहुवर्षे ठेक्काअन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालिसँग भ्याटबाहेक ३ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । २०७५ को चैतमा भवन निर्माण सम्पन्न भइसके पनि अहिलेसम्म पूरा भुक्तानी नपाएको उक्त कम्पनीका डिल्लीप्रकाश केसीले बताएका छन् ।केसीले भनेका छन्, ‘भ्याटबाहेक २ करोड ९४ लाखको भुक्तानी भए पनि बाँकी ३५ लाख अझै पाएका छैनौँ ।’ ३५ लाख भुक्तानीका लागि पटक पटक नगरपालिका धाउँदा विभिन्न बहाना बनाएर भुक्तानी रोकिदिएको आरोपसमेत उनले लगाएका छन् । यसअघि नगरपालिकाले भवन निर्माण भए पनि भवनको सेफ्टी ट्यांकीमा पानीको मुहान परेको र भवन चर्किएकाले अन्तिम भुक्तानी रोकिएको बताएको थियो ।
हाल नगरपालिकाले ६ महिना अघिदेखि उक्त भवनलाई कोभिड आइसोलेसन सेन्टर बनाएको छ । यसबारे नगरपालिकासँग बुझ्दा भवनको विषयमा अख्तियारमा मुद्दा परेकोले आफूहरूले अख्तियारले मागेका कागजपत्रहरू पठाउने गरेको कारण भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘यसरी मुद्दा प्रक्रियामा रहेको विषयलाई नगरपालिकाले भुक्तानी दिन मिल्दैन ।’

त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले उक्त विषयमा मुद्दा परे नपरेकोबारे आफूलाई थाहा नभएको जानकारी दिनुभएको छ । नगरपालिका कार्यालय भने हालसम्म भाडाको घरमा बसेको छ ।

नगरपालिकाको वार्षिक साढे ७ लाख रुपैयाँ भन्दा बढी घरभाडामा खर्च हुने गरेको छ । गतवर्ष नगर प्रमुख लोकमान बुढाथोकीले भवनको जगबाट पानीको मुहान देखिएकाले कार्यालय सार्न नसकेको बताउनुभएको थियो । तर यो वर्षको वर्षायाममा त्यहि भवनलाई कोभिड आइसोलेसन बनाएर प्रयोग गरिएको छ । यस पटक भवनको जगमा मुहान नदेखिएको स्थानीयले बताएका छन् ।

स्थानीय जग्गादाताहरूले भवनको जगमा पानीको मुहान रहेको भन्ने दाबी गलत भएको बताएका छन् । माथिबाट बगेर आउने पानीको ढललाई व्यवस्थापन नगर्ने र नगरपालिका कार्यालयलाई आफ्नो भवनमा नसार्न अनेक बहाना बनाइएको जग्गादाताहरुको आरोप छ ।

टिप्पणीहरू