जितिया पर्वमा आन्दोलनका रुप

जितिया पर्वमा आन्दोलनका रुप

उदयपुरका थारुहरुले यस वर्षको जितिया पर्व साँस्कृतिक तथा भाषिक विभेदविरुद्ध आन्दोलनको रुपमा मनाउने भएका छन् । थारु समुदायको महान पर्वको रुपमा मनाइने जितिया पर्वमा आफ्ना सन्ततिको सुस्वास्थ्य र दीर्घायूका साथै रोगव्याधीबाट मुक्त रहुन् भन्ने कामना गरिदैं आएको छ ।

भाषिक आयोगले प्रदेश नम्बर १ मा थारुहरुको बाहुल्यता भए पनि सरकारी कामकाजको भाषाको रुपमा मान्यता नदिएकोले थारुहरुले विरोधस्वरुप जितिया पर्वलाई मनाउने निर्णय गरेका हुन् ।

‘अपन संस्कृति अपन पहिचान, थारुको भेषभुषा थरुहटको पहिचान’ भन्ने नारा दिइएको यस वर्षको जितिया पर्व आउँदो असोज १३ गते भव्य रुपमा थरुहट रंगशालामा मनाइनेछ । यस दिन सदरमुकाम गाईघाटमा थारु भाषा प्रवर्धनको निम्ति प्रतियोगितात्माक साँस्कृतिक कार्यक्रम आयोजना हुनेछ । जसमा थारु जातिका अगुवा साँस्कृतिककर्मीहरुले सहभागिता जनाउने छन् ।

कार्यक्रममा थारु भाषाका चर्चीत गायक नरेश जोगी र गायिका अनु चौधरीले समेत भाग लिने भएका छन् । यो जानकारी हिजो साँझ गाईघाटमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । सम्मलेनमा थारु कल्याणकारी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरी,अगुवा बेचु चौधरीलगायतले मन्तव्य राखेका थिए ।

यस पर्वको उपलक्ष्यमा त्रियुगा नगरपालिका कार्यपालिकाले विदा दिने तयारी छ । प्रदेश नम्बर १ को उदयपुर, झापा, सुनसरी र मोरङ जिल्लामा थारुहरुको बाक्लै उपस्थिति छ ।

जितिया पर्वको व्रत र अन्य व्यवस्था:

यस पर्वमा विवाहित दम्पत्तिले मात्रै निराहार व्रत (उपवास) लिन सक्ने नियम छ । खर दिन (अर्थात् शनिवार र मंगलवार) यस दिनलाई शुभ काम गर्न नहुने तर व्रत बस्ने उपयुक्त दिनको रुपमा लिइन्छ ।

नयाँ विवाहित जोडीले पहिलो पटक शनिवारका दिन फलफूल,खिर खाने र आइतबारका दिन उपवास बस्नु पर्दछ । जितिया पर्वको लागि विवाहित चेलीबेटीलाई माइतीपक्षकाले विशेष सम्मानका साथ घरमा लिन जाने परम्परा पनि रहेको छ ।

जितिया पर्वको उपवास तथा व्रतको चलन ‘चिल्ली र सियारिन’ नामका ऐतिहासिक पात्रहरुले सुरु गरेको मान्यता छ । यस दिन साँझपख गाउँटोलमा रहेको डिहिवर थानमा दियो बाल्ने प्रचलन पनि रहेको छ । पूर्ण निराहारको व्रत सकिएपछि ब्रतालुले ‘मडुवामाछ’ अर्थात् माछा र कोदोको परिकार खाने गर्छन् । मासुको परिकार भने पूर्णरुपमा वर्जित छ ।

यस पर्वका बेला थारुहरु नयाँ लुगामा सजिएका भेटिन्छन् भने बालबनिताहरु बिच्काइँ गरे पनि ठूलाबाट अपमानित हुनबाट जोगिन्छन् ।

टिप्पणीहरू