आज बैठक नै बैठक : सिंहदरबारमा संसदको, च्यासलमा एमालेको

आज बैठक नै बैठक : सिंहदरबारमा संसदको, च्यासलमा एमालेको

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल,ललितपुरमा बिहान ११ बजे बैठक बोलाइएको छ । अस्तिदेखि जारी बैठक सम्भवतः आज सकिने छ ।

यता संसदमा अर्थ समिति,शिक्षा तथा स्वास्थ्य समिति,महिला तथा सामाजिक र विकास तथा प्रविधि समितिको बैठक डाकिएको छ ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो साढे १ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्दैछ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आज पनि बिहान ९ बजेदेखि धर्ना र अनसन शुरु भएको छ । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको बिरोधमा रौतहटका काँग्रेसीहरुले महिनौंदेखि गरेको धर्ना आज पनि जारी रहेको हो ।

आज नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिति ११ औं राष्ट्रिय अधिवेशन आयोजक समितिले किर्तेलाई कारबाही र संगठनको कार्यालयमा प्रहरी÷ प्रशासनले लगाएको ताला खोल्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी छ ।

उनीहरुले सबै जिल्ला प्रशासनमा बिहान १० बजे ज्ञापनपत्र बुझाउने जानकारी दिइएको छ ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आज पनि कर्मचारीहरुको धर्ना र नाराबाजी हुने छ । माग पूरा नभएकाले बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म धर्नासहितको नाराबाजी हुन लागेको आन्दोलनकारी युनियनहरुले बताएका छन् ।

बूढीगण्डकी परियोजना राष्ट्रिय सरोकार समितिले आज पनि माइतीघरमा मध्यान्ह १२ बजे धर्ना र नाराबाजी गर्दैछ । उनीहरुले परियोजना जतिसक्दो छिटो शुरु गर्न दबाब दिने उद्देश्यले धर्ना दिँदै आएका हुन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय कमिटीले आज राष्ट्रिय भेला गर्दैछ । भेला हार्दिक होटल, बागबजारमा दिउँसो साढे १२ बजेदेखि हुने छ ।

गैरआवासीय नेपाली संघको आगामी दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कूल आचार्यको उम्मेदवारी घोषणा कार्यक्रम छ । आचार्यले होटल याक एण्ड यतिमा साढे १२ बजे एक कार्यक्रम आयोजना गरेर उम्मेदवारी घोषणा गर्दैछन् ।

टिप्पणीहरू