चिठ्ठाको लोभ देखाउँदै सर्वसाधारण ठग्ने च्याप्पै

चिठ्ठाको लोभ देखाउँदै सर्वसाधारण ठग्ने च्याप्पै

सामाजिक सञ्जालमार्फत सर्वसाधारण ठगी गर्दै हिंड्ने एक युवक प्रहरीको फन्दामा परेका छन् । भाइबर,इमो र ह्वाट्सएप जस्ता एपहरु प्रयोग गर्दै ६ लाख भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा फन्दामा परेका युवक सिराहाको सिराहा नगरपालिका ८ का २९ वर्षीय सरोजकुमार दास हुन् । उनलाई उदयपुरको सदरमुकाम गाईघाटबाट हिजो प्रहरीले पक्राउ गरेको हो ।

उनले भाग्यशाली चिठ्ठा परेको र चिठ्ठा रकम प्राप्त गर्नको लागि करवापतको रकम अग्रिम भुक्तानी गर्नु पर्ने भन्दै सर्वसाधारणबाट रकम ठगीको धन्दा चलाउँदै आएका थिए । दासले भाइबर, इमो र ह्वाट्सअपमार्फत चिठ्ठा परेको म्यासेज सर्वसाधारणलाई पठाउने गर्थे । उनको जालोमा परेका सर्वसाधारणले कुनै सोच विचारै नगरी लाखौं रकम पाउने लोभमा करवापतको रकम दासलाई पठाउने गरेका थिए । करवापतको रकम हात लागेपछि दास सम्पर्कविहिन हुन्थे । यसरी नै ठगिएका एकले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि दास प्रहरीको फेला परेका हुन् । उनले पर्सा, सिराहालगायत प्रदेश नम्बर दुईका धेरै जिल्लावासीलाई ठगेको बताइन्छ । पक्राउ परेका दासलाई उदयपुर प्रहरीले थप अनुसन्धान र आवश्यक कानूनी कारवाहीको जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जतर्फ आजै सुपुर्दगी गर्ने जनाएको छ ।

टिप्पणीहरू