दशैंको शुभ साइत बिहान १० बजे

दशैंको शुभ साइत बिहान १० बजे

यस वर्षको दशैंको शुभ साइत १० बजेर २ मीनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँको शुभ साइत सार्वजनिक गरेको हो । समितिले असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको पनि जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे परेको छ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गरिने र यात्राको साइत बिहान ७:११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी,त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ ।

असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने पनि जनाइएको छ ।

विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८:३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

टिप्पणीहरू