ट्रकसहित सालको काठचोर समातियो

ट्रकसहित सालको काठचोर समातियो

उदयपुरमा अवैध रुपमा सालको काठ ओसारपसारमा पक्राउ परेका दुई जनालाई जिल्ला वन कार्यालय उदयपुर ‘क’ को हिरासतमा राखेर प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरेको छ ।

पक्राउ परेकामा उदयपुर बेलका नगरपालिका ५ का २९ वर्षीय रुपन विष्ट ट्रक चालक हुन् भने चौदण्डीगढी नगरपालिका ३ का ३२ वर्षीय दिनेश राई स्थानीय बासिन्दा हुन् ।

त्रिपालले छोपेर चौदण्डीगढी–१, कटहरबोटेबाट चौदण्डीगढी–३, आमसालतर्फ चिरान सालको काठ ल्याउँदै गरेको को.१ ख २६०३ नम्बरको मिनिट्रकलाई प्रहरीले हिरासतमा लिएको हो ।

ट्रकबाट बरामद गरिएको ५१ दशमलव १५ क्यूबिक फिटका ७१ थान चिरान काठलाई प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ ।

हाल उक्त काठको सरकारी मूल्य झण्डै एक लाख रुपैयाँ बराबर रहेको हुन्छ भने बजार मूल्य अनुमानित दुई लाखभन्दा बढी रहेको बताइएको छ । पक्राउ परेका दुबै जनाविरुद्ध वन ऐन २०७६, अन्तर्गत कानुनी कारबाही गरिने निमित्त वन अधिकृत जागेश्वर साहले बताउनुभएको छ ।

टिप्पणीहरू