शरणार्थीले शरणार्थीलाई नै ठग्न थाले,यौटा दलाल बेपत्ता

नेपालमा मानव ओसारपसारको बजार समयअनुसार परिष्कृत हुँदै गएको छ । पछिल्लो समय अन्य मुलुकका नागरिकहरु समेत नेपालको बाटो हुँदै तेस्रो मुलुक जाने प्रलोभनमा परेर नेपाल आउन थालेका छन् । यसमा म्यानमारको रोहिंग्या समुदायका मुसलमानलाई फसाउन थालिएको हो ।

रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने प्रलोभनमा पारेर अवैध रुपमा नेपाल भित्र्याउने तीन जना व्यक्ति मंगलबार पक्राउ परेसँगै नेपालसमेत मानव बेचबिखन र ओसारपसारको हब बन्न थालेको अनुमान लगाइएको छ । अमेरिका जान सजिलो हुने भन्दै उनीहरुलाई आफ्नै समुदायका मानिसले बंगलादेशबाट बालबच्चासहित विभिन्न नाका हुँदै नेपाल ओसार्दै गरेको सुराकीको आधारमा प्रहरीले तीन जनालाई समातेको हो ।

पक्राउ पर्नेमा बंगलादेश घर भई हाल काठमाडौंको डल्लु बस्ने अब्दुल जलिलका छोरा ३० वर्षीय जमत अलि,म्यानमार घर भई हाल कपन राम मन्दिर (शरणार्थी क्याम्प) बस्ने रोहिंग्या शरणार्थी २७ वर्षका सोफिक आलम तथा रोहिंग्या शरणार्थी २६ वर्षका नूर अमिन रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

काठमाडौंको कपनस्थित राम मन्दिर नजिकै रहेको रोहिंग्या शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक अजमत अलीसँग मिलेर शरणार्थीहरुलाई नेपाल भित्र्याउने गरेको र शरण लिएका ६ जनालाई नेपाल पुगेपछि पुरुषलाई ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० नेपाली रुपैँया बराबरको मासिक भत्ता दिइने प्रलोभनमा पारेको बताइन्छ ।

उनीहरुले सन् २०२२ मा काठमाडौंस्थित राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयले रोहिंग्या शरणार्थीलाई अमेरिका जान परिचयपत्रसमेत दिने भन्ने प्रलोभनमा पारी शरणार्थीहरुबाट २ लाख ५० हजार टाका अर्थात साढे ३ लाख नेपाली रुपैयाँ लिएको र यिनलाई ओसार्नमा सँलग्न जुबेर भन्ने दलाल भागेको तथ्य खुलेको हो ।

अवैध मानव ओसारपसारमा संलग्न उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता शारदाप्रसाद चौधरीले बताउनुभएको छ । उहाँले जनआस्थासँग कुराकानी गर्दै मानव बेचबिखन रोक्न आफूहरु लागिपरेको र प्रदेशमा समेत ब्युरो स्थापना गर्न अध्ययन अगाडि बढाइएको बताउनुभएको छ ।

टिप्पणीहरू