​बैंकहरूको ठुल्ठूला बिचल्ली

मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका सञ्चालकले आफ्नो असलियत देखाउन थालेका छन् । यस्तो काममा डा. श्रीराम पौडेल र रामजी रेग्मी अगाडि छन् । जनता बैंकका पूर्वअध्यक्ष गुरूप्रसाद न्यौपानेले दोस्रो बजारबाट सेयर खरिद गरेको विषयलाई प्रतिष्ठाको विषय बनाएका राष्ट्र बैंक सञ्चालकहरू मर्जरपछि डुुब्ने अवस्थामा पुुगेको एनसीसी बैंकबारे भने बोल्न छाडेका छन् । प्रधानमन्त्री देउवानिकट कांग्रेसका जिल्ला नेता अध्यक्ष रहेको एपेक्स डेभलपमेन्ट बैंक मिसिएपछि एनसीसीको अधोगति शुरु भएको बारेमा सबैलाई थाहा हुुँदा पनि बैंक सञ्चालकचाहिँ दसैंको मुखमा बैठक बसेर भत्ता बुझ्न मात्र थालेका छन् ।

उता, कर्मचारीको चरम अभाव हुँदा पनि सञ्चालकहरूकै कारण बैंकले कर्मचारीको अवकाश ५८ वर्षको उमेरका आधारमा गर्न सकिरहेको छैन । लोकसेवा आयोगले बैंकको नयाँ कर्मचारी सेवा विनियमावली पारित गराउन दिएको समय पनि घर्किसकेको छ । आजसम्म विनियमावली पारित नभएका कारण बैंकको चालु आर्थिक वर्षको बढुवा र नयाँ विज्ञापनको काम रोकिएको आयोगस्रोतको दाबी छ । लाखौं खर्चेर सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा साउनमा तयार पारिएको विनियमावली संशोधनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रेग्मी, पौडेल र डेपुटी गभर्नर शिवराज श्रेष्ठले भाँजो हालेको स्रोतले जनाएको छ । भत्ता बुुझेर पनि त्यसअनुसार एजेन्डामा छलफल भएपछिको बोर्डको माइन्युटमा हस्ताक्षर नगरेर लाज पचाउनेलाई राष्ट्र बैंकमा ‘हुतिहारा’ को संज्ञा दिइएको छ । पौडेल तिनै व्यक्ति हुन्, जो पुुष्पकमल प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार थिए । व्यवहारमा दक्षिणपन्थी भए पनि क्रान्तिकारीको लेपनमा उनले बैंकको सञ्चालक समिति सदस्यको दोस्रो पाँचवर्षे कार्यकाल हालै मात्र हासिल गरेका हुन् ।

उता, कर्मचारी अभावमा दसैंको मुखमा बैंकको काम प्रभावित भएको छ । थापाथलीमा नयाँ नोट वितरण गर्ने काउन्टर र कर्मचारी न्यून हुँदै गएका कारण त्यस्तो भएको हो । पछिल्लो एक दशकमा बैंक सेवामा प्रवेश गरेका कर्मचारीको रोजाइ नियमन र सुपरीवेक्षण विभाग भएका कारण बैंकको नगद कार्य गर्ने विभाग र कार्यालय थप प्रभावित बनेका हुन् । बैंकमा गैरजिम्मेवारी ढंगले काम गर्ने कर्मचारीको संख्या बढ्दै गएका कारण हालै मात्र बैंकको विराटनगर कार्यालयमा ठूलो अपचलन भएको थियो । दशौं लाख गायब पारिएको आशंका गरिएको उक्त कार्यमा संलग्न कर्मचारीलाई बेलैमा दण्ड दिनुपर्नेमा बैंकका उच्च अधिकारी नै कानमा तेल हालेर बस्नुले केन्द्रीय बैंक निकम्मा देखिन थालेको छ ।

टिप्पणीहरू