​‘बा’ को मन यसरी बद्लियो

पार्टी देशको मात्र पहिलो होइन, संसारकै पहिलो भए पनि ‘तत्वहरू’ गलत किसिमले सल्बलाएपछि अध्यक्षलाई पिर पर्ने नै भयो । एमाले अध्यक्ष केपी ओली आफ्ना नाममा बजारभरि ‘तत्वहरू’ सल्बलाएको सुनेर यति मर्माहत भए कि, ‘यी–यी मात्रै मेरा मान्छे हुन्’ भनेर आफ्नै नाममा सही ठोकिदिए ।

दसैंको मुख छ । ओलीको नाम लिएर दुई–चार ठाउँ चहार्दा राम्रै पैसा झर्छ, गर्नेले काम पनि गरिदिन्छन् । तर, नामचाहिँ हुनुसम्म बद्नाम हुन्छ । भयो त्यस्तै । सिंहदरबारदेखि वडा कार्यालयसम्म, पुलिसको हेडक्वार्टरदेखि इलाका प्रहरी कार्यालयसम्म, उच्चप्रतिष्ठित व्यापारिक घरानादेखि झापा, मोरङ, सुनसरीका खुद्रा व्यापारीसम्म केपी ओलीका नाममा ‘तत्वहरू’ सल्बलाएको सूचना पाएपछि हो, अस्ति सोमबार अकस्मात् आफैँले सही गरेर आफ्नो सचिवालयका मान्छे तोक्नुपरेको । जबकि, सोमबारको लिखतमा भएका नाम पहिल्यैदेखि ओलीसँग साथमै छन् । तर, बाहिर ओलीको मान्छे भनेर कतिपय पुरानै र कतिपय नयाँ अनुहार सल्बलाएको निरन्तरको उजुरीपछि नाम किटेर दिनुपर्ने स्थिति आएको बालकोट स्रोतले जनाएको छ । ओली प्रधानमन्त्री छँदैदेखि निरु पाल र रमेश आचार्यहरूमाथि ‘सेटिङ’ का काममा सक्रिय भएको आरोप लाग्ने गरेको थियो । रमेश त्यतिबेलै निकालिए पनि । तर, निकालिएको खबरले आफ्नो राजनीतिक भविष्य नै चौपट हुने भनी ‘सचिवालयमै रहेको’ अर्को चिठी बनाइयो । तर, कामचाहिँ गर्न पाएनन् ।

अर्की थिइन्, बालिका खड्का । शेरधन राईलाई बद्नाम गराउन कृपाशुरहरूको डिजाइनमा चलेकोसम्मका कुरा अझै जारी छ । शेरधन, कृपाशुर, बालिका– यी सबै ओलीपक्षीय । इन्द्र भण्डारी अहिले सचिवालयमा छैनन् । पार्टीले उनलाई भूगोलको जिम्मेवारी दिएपछि पनि संसदीय दलको कार्यालय आउजाउ बन्द गरेनन् । तर, सोमबारको सूचना आउनुको मुख्य कारण हो, निरु पाल र उनीहरूको निकटस्थ मानिने केही व्यक्तिले अझै आफूहरू ओलीको सचिवालयमा रहेको भनी आफूलाई प्रस्तुत गर्नु । निरुलाई ओली प्रधानमन्त्री भएको बेला जनसम्पर्क विज्ञ बनाइएको महेश बस्नेतको अनुरोधमा हो । आफूले केन्द्रीय सदस्य हारे पनि निरुलाई जिताउने महेश नै हुन् । अहिले महेश पार्टीमा घोषित र कार्यकारी जिम्मेवारीबाट खालि छन् । तर, उनी भक्तपुर पार्टीका बलिया खम्बा मानिन्छन् ।

निरु पाल वैकल्पिक केन्द्रीय सदस्य हुन् । ओलीको सचिवालयसँग हिजोआज उनको कुनै सम्बन्ध, सरोकार छैन । तर, पुरानै पद देखाएर ‘म हो नि’ भन्दै बुर्कुसी मार्नेहरू घटेनन् । हुँदाहुँदा बालिका, मीना श्रेष्ठजस्ता पहिले प्रम कार्यालयमा सुब्बासरहको नियुक्ति पाएका व्यक्तिहरू अझै पनि ‘केपी बुबा’ भन्दै सल्बलाउने क्रम रोकिएन । यिनीहरूजस्ता दर्जनौँ कार्यकर्ता त्यस्ता निस्किए, जसले ‘केपी बा’ भन्दै मान्छेका दिमाग भुट्ने र उनको नाममा दुरुपयोग गर्ने क्रम बढ्यो । केपीका नाममा एमालेभित्र यति धेरै नक्कली सन्तान निस्किए कि, यो दुनियाँमा केपी ओलीका जत्तिको छोराछोरीझैँ कसैका छैनन्झैँ † यसप्रकारको दुरूपयोग बढेपछि उनका सक्कली सहयोगीलाई कसैले नचिन्ने, नक्कलीले बजार खाइदिने अवस्था भयो । सक्कली सहयोगीमध्ये स्वकीय सचिव राजेश बज्राचार्य सानैदेखि ओलीसँग रहँदै आएका व्यक्ति हुन् ।

नाताले उनी ओलीपत्नी राधिकाकी बहिनीका छोरा हुन्, कीर्तिपुरका बासिन्दा । अनिश दाहाल झापाका हुन्, त्रिचन्द्र पढेका । प्रधानमन्त्री छँदा उनको कार्यशैलीबाट ओली प्रभावित भएर हो, अहिले पनि साथमै राखेको । चेतन अधिकारी प्रधानमन्त्री रहेकै बेला कान्तिपुरको झापा संवाददाताबाट राजीनामा दिएर उनलाई सहयोग गर्न काठमाडौं आएका । गर्न चाहँदा उनले काम नपाउने मिडिया हाउस नभएका हैनन् । तर, ओलीलाई प्रेस संयोजकका हैसियतले सहयोग गर्नकै लागि कुनै सञ्चारमाध्यममा काम नगरी काठमाडौं बस्दै आएका हुन् । यस्ता सहयोगी हुँदाहुँदै बजारमा अरुकै राइँदाइँ चल्ने भएपछि ‘बा’ को मन नपोल्ने कुरै थिएन । 

टिप्पणीहरू