ससुरालीले हेपेपछि नामै ‘ससुराली’

ससुरालीले हेपेपछि नामै ‘ससुराली’

अन्तरजातीय विवाह गर्ने विराटनगरका एक दलित युवाले जातीय विभेदविरुद्ध सकारात्मक विद्रोह गरेका छन् । विराटनगर–४ हनुमानदास रोड उत्तर जलजला चोक पश्चिमनजिकै करिब ५० लाख लगानी गरेर ‘ससुराली नामको ‘क्याफे’ खोल्ने युवा हुन् विराटनगर ४ का ३० वर्षीय सुमन मगराती ।

आफू दलित समुदायको भए पनि ०७१ सालमा छिमेकी ब्राह्मण थरकी उर्मिला खतिवडासँग प्रेम भएपछि कानुनी विवाह गरेका मगरातीले अझै बाहुन समाजमा नस्विकारिँदा ससुराली जान पाएका छैनन् । फार्मेसी, मार्केटिङ, आइटी र डान्स कलामा निपुण सुमनले थप रेस्टुरेण्ट व्यवसायमा लगानी गर्ने भएपछि विवाहकै कारण ससुराली जान नपाएको पीडा आफ्नो क्याफेको नामै ससुराली राखेका हुन् ।

मझौला कदकाठी भएका फूर्तिला सुमनले भने, ‘हाम्रो प्रेमको समर्पण, शिक्षित व्यवहार र स्टाटसका अगाडि समाजले हामीलाई सम्मान गरिसकेको छ तर अझै ससुरालीले चाहिँ खुलेर स्वीकार गरेको छैन, यसैले क्याफेको नामै ससुराली राखेर सकारात्मक सन्देश दिन खोजेको हुँ ।’

युनिक नाम भएको सुमनको ‘ससुराली क्याफे’ मा अघोषित ससुरा अर्थात् सहयोगी साझेदार बनिदिएका छन् विराटनगरकै औषधी र अस्पताल व्यवसायी रञ्जित अग्रवाल । उनले आफ्नो खाली गोदाम घर सुमनलाई न्यूनतम भाडामा उपलब्ध गराएका छन् ।

सुमनको सहयोगी बनेका व्यवसायी रञ्जितका अनुसार शुरुमा उनले क्याफेको नाम ‘टिपटप’ राख्न सुझाएका थिए । तर, हर्ताकर्ता सुमनले आफ्नो विवाह र विद्रोहको कथा सुनाउँदै क्याफेको नाम ‘ससुराली’ राख्न चाहेपछि उनले पनि झन् प्रोत्साहन दिए ।

कोरोना महामारी हुँदाहुदै दुई महिनाअघि मात्र खुलेको सुमनको ‘ससुराली क्याफे’ नामकै कारण विराटगरमा चर्चित छ । प्रत्यक्ष देखिने किचनसहित आन्तरिक साजसज्जा चिटिक्क भएको उनको क्याफेमा युवायुवतीको भीड लाग्ने गरेको छ ।

बैंक र वित्तीय कार्यालयका कर्मचारीले पनि उनको क्याफेलाई औधी रुचाएका छन् । सत्तरी जनासम्म ग्राहकले एक पटकमा बसेर खान सक्ने क्षमता भएको सुमनको ससुराली क्याफेमा १५ जना नेपाली युवाले रोजगारी पाएका छन् ।

टिप्पणीहरू