आज पनि राजधानीमा बैठक र बिरोध उत्तिकै

आज पनि राजधानीमा बैठक र बिरोध उत्तिकै

राजधानी उपत्यकामा आज पनि विभिन्न राजनीतिक दलका बैठक र बिरोध कार्यक्रम सरोबर हुने भएका छन् । सरकारी निकायले समेत बैठक र छलफलको कार्यक्रम राखेका छन् ।

यसक्रममा नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिका ७ को वडा अधिवेशन हुने भएको छ । बिहान ८ बजेबाट शुरु भएको कार्यक्रम कागेश्वरी मनोहरा ७, अमरसिंह चोकस्थित कभर्ड हलमा भएको बताइएको छ ।

उता काँग्रेस केन्द्रीय कार्यालयमा हुँदै आएको धर्ना आज पनि जारी छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध गरिएको रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि ९ बजेबाट शुरु हुने जानकारी दिइएको छ ।

यता वीर अस्पतालमा स्वर्गीय नन्दप्रसाद अधिकारीको न्यायको लागि भन्दै सातौं वार्षिकी कार्यक्रम आयोजना गरिएको छ । बिहान १० बजे वीर अस्पतालको इमर्जेन्सी गेट अघिल्तिर कार्यक्रम गर्न लागिएको हो ।

नेपाल वायुसेवा निगममा तीन वटा युनियनले गर्दै आएको बिरोध कार्यक्रम आज पनि जारी हुने बताइएको छ । निगमको मुख्य कार्यालयको कम्पाउण्डमा बिहान साढे १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म हुने छ ।

नेपाली काँग्रेस (वीपी) को नवनिर्वाचित केन्द्रीय समितिको बैठक बिहान ११ बजे वीपी संग्रहालय, सुन्दरीजलमा बस्ने जानकारी दिइएको छ ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक आज पनि हुने भएको छ । आजको बैठक अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वरमा बिहान ११ बजे हुने बताइएको छ ।

बिहान ११ बजे संसदको विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने छ ।

राप्रपाले आज काठमाडौं जिल्ला कार्यसमितिको बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बिहान साढे ११ बजे डाकिएको हो ।

दिउँसो १२ बजे बुढीगण्डकी राष्ट्रिय सरोकार समितिले माइतीघर मण्डलामा धर्ना दिने भएको छ । समितिले नयाँ मोडालिटी तयार पारेर बुढीगण्डकी आयोजना निर्माण गर्न दबाब दिन धर्ना गर्न लागेको बताइन्छ ।

आजै संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्ने भएको छ । समितिको सभाकक्ष, सिंहदरबारमा दिउँसो साढे १२ बजे बस्ने जानकारी दिइएको छ ।

त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि सिंहदरबारमा दिउँसो १ बजे हुने भएको छ ।

अखिल नेपाल महिला संघ, भक्तपुर क्षेत्र नम्बर २ समितिले मध्यपुर थिमी नगरस्तरीय भेला गर्ने भएको छ । शंखधर पार्टी प्यालेस, नयाँ थिमीमा दिउँसो ३ बजे हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू