युवराज बने ह्वाइट हाउस नछिर्ने पहिलो राजदूत

युवराज बने ह्वाइट हाउस नछिर्ने पहिलो राजदूत

अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा अमेरिकी राष्ट्रपतिलाई नभेटी र ह्वाइट हाउस नछिरी स्वदेश फर्किने पहिलो राजदूत बन्नुभएको छ ।

सरकारले राजनीतिक नियुक्तिको आडमा राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजदूत खतिवडा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस नछिरी र राष्ट्रपति जो बाइडेनलाई नभेटी नेपाल फर्किनुपर्ने भएको छ ।

अमेरिका र नेपालबीचको ७४ वर्ष लामो कूटनीतिक इतिहासमा बहालरत राष्ट्रपतिसँग नभेटी,हात नमिलाई, फोटो नखिची र ह्वाइट हाउसमा नछिरी नेपाल फर्कने एकमात्र राजदूत बनेर खतिवडाले नयाँ रेकर्ड राख्नुभएको छ ।

राष्ट्रपति जो बाइडेनसमक्ष गत फेब्रुअरी १७ तारिखका दिन हुलाकबाट ओहोदाको प्रमाणपत्र पेश गरेका कारण खतिवडाले आफ्नो ७ महिने कार्यकालभरि ह्वाइट हाउस छिर्न र राष्ट्रपति बाइडेनसँग हात मिलाएर फोटो खिच्नसमेत पाउनुभएन ।

१५ तारिखका दिन स्टेट डिपार्टमेण्टले कोरोनाको कारण देखाउँदै हुलाकबाट ओहोदाको प्रमाणपत्र पठाउन जानकारी गराएपछि राजदूत दम्पत्ति खिन्न भएर निवासमै बस्नुभएको थियो । त्यसैले ओहोदाको प्रमाणपत्र पेश गरेको प्रेस विज्ञप्ति नै ६ दिनपछि मात्र सार्वजनिक गर्न लगाउनुभएको थियो ।

यसअघि नियुक्त राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेको दिनमा ह्वाइट हाउस छिर्ने र राष्ट्रपति भेट्ने मौका पाउँथे ।

टिप्पणीहरू