निवर्तमान मुख्यमन्त्री संविधान दिवसमा अनुपस्थित

निवर्तमान मुख्यमन्त्री संविधान दिवसमा अनुपस्थित

संविधान जारी भएको दिन असोज ३ गते देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने गरिन्छ । केन्द्र,प्रदेश र स्थानीय सरकारहरुले आ-आफ्नै अनुकूलतामा संविधान दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाउने गरेका छन् ।

यसैबीच बाग्मती प्रदेश सरकारले पनि संविधान दिवस मनाएको छ । तर, प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको कार्यक्रम विगतमाजस्तो उल्लासमय नभएको बताइन्छ ।

कार्यक्रममा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल अनुपस्थित रहनुभएको थियो भने कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ पनि जानुभएन । कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य,केही मन्त्री र सरकारी कर्मचारी मात्र उपस्थित थिए ।

यसअघि बाग्मती सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा तीन दिनसम्म मनाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न निकाय तथा कार्यालयलाई गत सोमबार नै पत्र पठाएर निमन्त्रणा गरेको हो ।

पौडेलको अनुपस्थितिलाई कतिपयले मुख्यमन्त्री छोड्नु पर्दाको कुण्ठाका रुपमा पनि हेरेका छन् । एमाले विभाजन रोक्न भन्दै अध्यक्ष केपी ओलीको निर्देशनमा पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । पौडेलको राजीनामापछि एमालेको तत्कालीन माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त हुनुभयो ।

एमालेका १३ सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेको छ । जसका कारण बाग्मतीमा गठवन्धन सरकार बन्दैछ । काँग्रेस संसदीय दलका नेता बानियाँ पनि मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ ।

समाजवादीले पनि सरकारको नेतृत्व दावी गरिरहेको छ । बाग्मतीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री दिने गठवन्धनको समझदारी विपरित आफैँ अघि सरेका कारण आलोचित हुनुभएका बानियाँ संविधान दिवसको कार्यक्रममा नजानुलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू