आज ओलीद्वारा कतै पड्किएन गोली

आज ओलीद्वारा कतै पड्किएन गोली

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन्चमा भाषण गर्न थालेपछि सबैले गर्ने अनुमान एउटै हो, गोलीजस्ता बोली,उखान र ब्यक्तिकेन्दृत प्रहार । हो,एमाले अध्यक्षका भाषणमा विपक्षीमाथि कडा आक्रमण र ठट्टापूर्ण परिहासको प्रमुखता हुन्छ ।
। तर आज आइतवार ओलीले यी सबै आफ्ना विशेषताभन्दा धेरै टाढा अत्यन्त सौम्य र शानदार भाषण गरेका छन् । सँविधान दिवसको छेको पारेर नेकपा एमालेले आयोजना गरेको एक कार्यक्रममा मुख्य विपक्षी दलको नेतासमेत रहेका ओलीले कसैलाई सत्तोसराप गरेनन् । कुनै उखान उच्चारण नै गरेनन् । ओलीले एक घण्टाभन्दा लामो भाषण गर्दा नेपालको सँविधान र यसैका विविध आयामवारे खर्चिए ।
सातौँ सँविधान दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले सँविधानको कार्यान्वयनमै जोड दिएका छन् । ओलीले सँविधान निर्माणदेखि अहिलेसम्म सँविधान कार्यान्वयनका धेरै उतारचढावपूर्ण विषयमै आफ्नो भाषण केन्द्रित गरेका छन् । पूर्व प्रधानमन्त्री ओलीले धेरैले खुट्टा कमाइरहँदा एमालेकै जोडबलले मात्रै देशले सँविधान पाएको दावा गरेका छन् ।
ओलीले सँविधान जारी भएपछि खेप्नु परेको नाकावन्दीको एमालेले मात्रै प्रतिवाद गरेको बताए । एमालेले खुट्टा टेकेकै कारण विदेशीहरुका दवावलाई देशले थेग्न सकेको र आफ्नो सार्वभौमिकता जोगाउन सकेको अध्यक्ष ओलीको दावा छ । फरक फरक प्रसङ्गहरुमा ओलीले हिँसा र पृथकतावादका मान्यताहरुको अन्त्य र सँवैधानिक सर्वोच्चताका मान्यताहरुलाई अगाडि बढाउने काम एमालेले गरेको बताएका हुन् । सबै हिसावले अब एमाले नै यो देशको नेता हो,ओलीले आफ्नो भाषणमा दोहोर्याएका छन् ।
कार्यक्रममा एमाले सँसदीय दलका उपनेता तथा सँविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले नेपालको सँविधानमा व्यवस्था भएका सँघीयता,समावेशी र धर्मनिरपेक्षतामा हुने आक्रमण सह्य नहुने बताएका छन् ।
केहि मान्छेले विगतमा बनेका सँविधानहरु १० वर्षमा खारेज भएकोले यो सँविधान र व्यवस्थाको पनि अन्त्यका दिन आएका हुन् कि भन्ने प्रचार गर्न थालेकोमा नेम्वाङ्गले त्यस्ता सपना नदेख्न चेतावनी दिएका छन् । आजको कार्यक्रममा सौम्य देखिएका नेता नेम्वाङ्ग बरु आक्रामक रहे । कार्यक्रम सन्चालन गरेका सचिव प्रदिप ज्ञवालीले कहिँ कतै आक्रामक शव्दहरु प्रयोग गरे । तर सधैं आक्रामक रहने ओलीले आफ्नो भाषणमा आज कतैपनि आक्रामक शव्दहरु प्रयोग गरेनन् ।
सभामुखको नामै नलिइकन ओलीले एकपटक सभामुख अग्निप्रसाद सापकोटालाई पदको गरिमा जोगाउन आग्रह गरे । ओलीको आग्रह निर्वाचन आयोगलाई पनि रह्यो । उनले भने-निर्वाचन आयोगले आफ्नो तटस्थता जोगाओस् । यसवाहेक ओलीले देशमा सुशासन र सम्बृध्दिका आफ्ना खाका र एजेण्डा मात्रै सुनाए ।
प्रधानमन्त्री ओलीले विगतमा आफूले गरेका कामका लागि आफ्नो भाषणको एक चौथाइ समय खर्चिए । त्यति नै समय आगामी दिनमा एमालेका कार्यभार सुनाउन व्यतित गरे । त्यसवाहेक अध्यक्ष ओलीले सँविधान निर्माण र कार्यान्वयनमा आफूले भोगेका र गरेका काममै आफ्नो भाषण केन्द्रित गरे ।

टिप्पणीहरू