संविधान दिवस बिहान सरकारको, दिउँसो बिरोध अरुको

संविधान दिवस बिहान सरकारको, दिउँसो बिरोध अरुको

संविधान दिवसको उपलक्ष्यमा आज बिहान सरकारले औपचारिक कार्यक्रमको आयोजना गरेको छ । तर,दिउँसो सर्वत्र संविधान र गणतन्त्रको बिरुद्ध कार्यक्रम तय भएको छ । विभिन्न राजनीतिक दल तथा समूहले गणतन्त्रको बिरोध र राजतन्त्रको समर्थनमा नारा,जुलुस र धर्ना कार्यक्रम गर्ने जनाएका छन् ।

त्यही क्रममा ॐकार धार्मिक संस्थाहरुको मोर्चा र राजसंस्था समर्थक संघ संस्थाहरुको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्यालीको आयोजना गर्दैछ । दिउँसो १ बजे निकालिने जुलुसमा गणतन्त्र र संविधानबिरोधी नारा लगाइने बताइएको छ ।

त्यसैगरी शाही युवा शक्तिले पनि मध्यान्ह १२ बजेदेखि र्याली निकाल्ने जनाएको छ । रत्नपार्कबाट निकालिने जुलुस माइतीघरमा भेला हुने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चामा सहभागी हुने कार्यक्रम छ । उक्त जुलुसमा पनि गणतन्त्र र संविधानबिरोधी नारा लगाइने जनाइएको छ ।

शिव सेना नेपालले मध्यान्ह १२ बजे सोझै माइतीघर मण्डलामा भेला भई गणतन्त्र र संविधानबिरोधी नारा लगाउने भनेको छ । शिव सेना नेपालले पनि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चामा सहभागी भएर संविधान र गणतन्त्रको बिरोध गर्न लागेको हो ।

उता, थरुहट थारुवान राष्ट्रिय मोर्चाले संविधान दिवसको उपलक्ष्यमा आयोजना गरिने बिरोध कार्यक्रममा अपूरो संविधान संशोधन गर भन्ने नारा लगाउने जनाएको छ । उसले पनि माइतीघर मण्डलामा दिउँसो २ बजेदेखि बिरोध गर्ने बताएको छ ।

त्यसैगरी उन्नत लोकतान्त्रिक पार्टीले संविधानको धारा ४८ मा उल्लेख गरिएको राष्ट्रिय स्वाधिनता रक्षाको लागि लड्ने प्रत्येक नागरिकको कर्तव्य भनिएकाले त्यहि धारा वाचन गरेर माइतीघर मण्डलामा दिउँसो १ बजे एमसीसीको बिरोध गर्ने उल्लेख गरेको छ ।

बृहत नागरिक आन्दोलनको नारायण वाग्ले समूहले अपुरो अधुरो संविधान संशोधन गर,पूरा गर भन्दै मार्च पास गरेर माइतीघरबाट संसद भवन नजिकै पुग्ने बताएको छ । उनीहरु पनि २ बजे भेला हुने जानकारी दिइएको छ ।

तराई मधेश राष्ट्रिय परिषद्ले असोज तीन,कालो दिन भन्दै अपूरो र अधुरो संविधानलाई संशोधन गरी पूरा गराउन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली गर्ने जनाएको छ । कार्यक्रम दिउँसो २ बजेबाट शुरु हुने छ ।

टिप्पणीहरू