सीमा मिचिएको हल्ला र पटके सास्ती

सीमा मिचिएको हल्ला र पटके सास्ती

चीनले नेपालको सीमा मिचेको हो कि होइन– कुनै प्रामाणिक तथ्यबाट पुष्टि भइसकेको छैन । तर, नेपाल सरकारलाई त्यसको तथ्य पहिल्याउने हुट्हुटीचाहिँ अचम्मसँग जागेको छ । भर्खरै गृह, नापी र सुरक्षासहितका हाकिमहरूलाई सरकारले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.– ६ लिमीको लाप्चा ललुङजोङ इलाकातिर पठाएको छ ।

यसरी सीमास्थितिबारे अध्ययन गर्न गएको टोलीमा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नापी विज्ञ दयानन्द जोशी, कपिल कट्वाल, नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्रका एसएसपी प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक (एसएसपी) किशोर श्रेष्ठ छन् ।

१५ दिनभित्र रिपोर्ट दिने म्याण्डेट लिएर त्यसतर्फ गएको यो टोली हिजो टेलिफोनको रेञ्जबाट बाहिर पुगेको छ र त्यसले पाँच हजारदेखि ५२ सय मीटर उचाईको लाप्चा ललुङजोङ इलाकामा टेक्दैछ । चीनले त्यहाँ सीमा मिचेर ११ वटा भवन बनाएको भनी पोहोर जीवन शाही र अहिले बिमलेन्द्र निधिले चर्कोसँग कुरा उठाएपछि नेपाल सरकार तात्तिएको हो ।

चिनियाँ पक्षले भवन बनाएको भूमि आफ्नै भएको दाबी गर्दै आएको छ । ती भवन सीमावर्ती क्षेत्रको एक किलोमिटर टाढा, चीनकै भागतर्फ पर्ने तिब्बतको बुराङ काउन्टी विदेश सम्बन्ध कार्यालयका निर्देशक बाकीले ०७७ सालको ग्लोबल टाइम्स पत्रिकालाई बताएका थिए ।

अक्षांश, देशान्तरसहितको जिएस म्यापिङ भैसकेपछि अहिलेको दुनियाँमा कसैले चाहेर पनि सीमा मिच्न नसक्ने परराष्ट्रका कर्मचारीहरू बताउँछन् । चीनसँग नेपालको सीमा समस्या दोलखाको लामाबगरमा मात्र रहेको र ५७ नम्बरको मार्कर केही सय मीटरको द्ररीमा फेला परेको उनैको कथन छ ।

टिप्पणीहरू