​प्रेमको उद्धारमा प्रचण्ड

समानुपातिक प्रतिनिधित्वको सन्दर्भमा संविधानले प्रत्यक्षतर्फ एक सीट अनिवार्य जितेको हुनुपर्ने गरी मत प्रतिशत (थ्रेस होल्ड) तोकेपछि विशेषतः भुरे–टाकुरे पार्टीहरुलाई समस्या आइलागेको छ । एमालेबाट राजाको क्याबिनेट हुँदै प्रचण्डसँग निकट रही अलग्गै दल चलाउँदै आएका उनै ‘सदाबहार मन्त्री’ प्रेमबहादुर सिंहले अहिलेको नयाँ व्यवस्थाअनुसार आगामी संसदमा उपस्थित हुन समस्या परेपछि उपाय निकालेका छन् ।

उनको पार्टी हो, समाजवादी जनता दल । उनले माओवादीको चुनाव चिह्न लिएर लड्न पाऊँ भनी निवेदन दिएका छन् । यदि त्यो चिह्नमा उनले भाग लिने हो भने एकाध ठाउँबाट जित्ने झिनो सम्भावना छ । र, त्यसमा आफूले ल्याएको अनुमानित मतप्रतिशतका आधारमा आफू, उस्तै परे प्रेमिकासहित संसदमा जान सक्नेछन् । 

त्यस्तै, क्रिश्चियन धर्मको मुद्दा उठाउने लोकमणि ढकालको पार्टीले पनि कम्युनिष्ट पार्टीको झण्डाबाट चुनाव लड्न पाऊँ भनेर निवदेन दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकमणिको यस्तो मागलाई स्वीकृत गरिसकेका छन् । 

उता, माओवादी केन्द्र छाडेर विभिन्न घटकमा सामेल भएका नेताहरु घर फर्किएपछि तिनलाई व्यवस्थापन गर्ने चटारो शुरु भएको छ । माओवादीमा ३३ जनाको कार्यालय छ । मूलघर फर्किएका विप्लव, बैद्य, नयाँ शक्तिका नेतालाई मिलाउन ३३ मा थपेर ५० पु¥याउने कि ९९ सदस्यीय सचिवालयमा समेट्ने ? भन्ने अन्यौल कायमै छ । सचिवालयमा अहिले पनि १५ सीट खालि छ भने ३३ मा १४ थप्दा ५० हुन्छ । अहिले फर्किएका कामरेडलाई ९९ मै थप्ने कुरा चलिरहेको छ, टुंगो लागेको छैन । 

माओवादी केन्द्रको कार्यालय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला दिएका गैरजिम्मेवार अभिव्यक्तिको आलोचना भएको छ । बैठकले २ नं. प्रदेशको आसन्न स्थानीय निर्वाचनमा पार्टी दोस्रो हुनका लागि प्रतिस्पर्धा गर्ने निश्कर्ष निकालेको छ ।

टिप्पणीहरू