काँग्रेसमा जीत र हारको शृङ्खला

काँग्रेसमा जीत र हारको शृङ्खला

भनिन्छ,इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्नेचाहिँ होइन । नेपाली काँग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सँधै चर्चा हुने गरेको छ ।

स्थापनाकालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध नेतृत्व चयन गर्दै आएको नेपाली काँग्रेसभित्र पाँचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको थियो । अधिवेशनले विश्वेश्वरप्रसाद कोइराला (विपी) लाई सभापतिमा निर्वाचित गर्यो भने मातृकाप्रसाद कोइराला,गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिद्वन्दी हुनुहुन्थ्यो ।

‘त्यसको तीन वर्षपछि सम्पन्न छैठौं महाधिवेशनमा सुवर्णसमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो । उहाँले जीवनमा एउटा मात्रै पदको आकाँक्षा देखाउनुभयो,त्यो हारिसकेपछि कहिल्यै पनि सभापतिको आकांक्षा देखाउनुभएन,त्याग र संघर्ष मात्रै,’ नेपाली काँग्रेसका नेता होमनाथ दाहालको विचार हो यो ।

“काँग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने १० जना नेता सभापति हुन सक्नुभएन । तर पनि काँग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम काँग्रेसीबीच सधैँ भइरहन्छ ।”

गणेशमानले जीवनमा पहिलो र अन्तिम पटक त्यही बेला मात्र पदको आकांक्षा देखाउनुभयो । यसपछि कहिल्यै सभापतिको आकांक्षा देखाउनु भएन । काँग्रेसले समाजवादको नीति पारित गरेको उक्त ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट प्रत्यक्ष मतदान भएको थियो ।

राजनीतिक विश्लेषक विनोदकुमार भट्टराई भन्नुहुन्छ,‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिष्पर्धा थियो, म त दुई वर्षको मात्र थिएँ होला । जिल्ला जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउण्ट (गणना) गरेर निष्पक्ष तरिकाले मतदान गराइयो,आवा (आकाशवाणी) बाट रिपोर्ट आउँथ्यो । पछि सुवर्णजीले जित्नुभयो,गणेशमानजी हार्नुभयो ।’

काँग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो । त्यति मात्र होइन,सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णसमशेर राणाले आफ्नो १२ हजार बिगाहा जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मूलनको घोषणा त्यहीँबाट गर्नुभयो ।

‘सुवर्णजीले आफ्नो १२ हजार बिगाहा जग्गा किसानलाई दिनुभयो र बिर्ता उन्मूलन कार्यक्रम शुरु गर्नुभयो । त्यसपछि देशभर बिर्ता उन्मूलनको आन्दोलन शुरु भयो,’दाहालले अनुभव सुनाउनुभयो ।

अर्कोतिर सभापतिका उम्मेदवार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेदवारी नै दिनुभएन । त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर काँग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो । विपीविरुध्द भूदेव राई चुनावी मैदानमा उत्रिनुभयो ।

त्यसको केही समयपछि राजाले प्रजातन्त्रविरुद्ध ‘कू’ गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । त्यसबीचमा दलहरुमाथि प्रतिबन्ध लगाइयो ।

‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग,समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ । त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् ऊ सभापति हुन्छ । हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ । यसलाई काँग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ । त्यसैले एक अर्काको अस्तित्व स्वीकार गरेर जानुपर्छ,’ राजनीतिक विश्लेषक डा. राम थपलिया सुनाउनुहुन्छ ।

त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुपर्यो । झापामा सम्पन्न आठौं महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभयो । नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला,चिरञ्जीवी वाग्ले र रामहरि जोशीबीच प्रतिस्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरबहादुर देउवा र रामहरि जोशीले चुनौती दिनुभयो ।

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरि आचार्यले चुनौती दिनुभएको थियो ।

त्यो बीचमा नेपाली काँग्रेस र तत्कालीन देउवा नेतृत्वको प्रजातान्त्रिक काँग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिनुभयो ।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट काँग्रेसको सभापति बन्नुभयो । काँग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने १० जना नेता सभापति हुन सक्नुभएन । तर पनि काँग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम काँग्रेसीबीच सधैँ भइरहन्छ ।

टिप्पणीहरू