​सबै पत्रको एकमुष्ट स्पष्टोक्ति

जनआस्था साप्ताहिकमा मिति २०७२ भदौ ३० गते ‘अख्तियारमा जातेजाते’ शीर्षकअन्तर्गत प्रकाशित समाचारप्रति त्यतिबेला त्यहीं कार्यरत गोबद्र्धन श्रेष्ठले पठाएको खण्डन र सोही विषयमा प्रेस काउन्सिल नेपालले असोज १९ गते लेखेको पत्र एकैसाथ प्राप्त भएको छ ।

आफ्नो खण्डनमा श्रेष्ठले ‘म कार्यरत पवित्र संस्थाप्रतिको निष्ठा र इमान्दारिताबाट तर्सिएका कतिपय तŒव–कुतŒवबाट प्रभावित भएर जनआस्थाले चरित्र हत्या गरेको’ कुरा उल्लेख गर्नुभएको छ । हाल तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की महाभियोग र अदालती आदेशमार्फत अयोग्य ठहर भई नियुक्ति नै गलत भएको आधारसहित पदबाट बर्खास्त भइसकेको अवस्था छ । यस आधारमा हेर्दा उहाँको आडमा तीन वर्षसम्म भए–गरेका काम–कारबाहीको निम्ति सहयोगी हातहरुको उत्तरदायित्व नै नरहने प्रश्नै उठ्दैन । सोही क्रममा केही घटनाक्रमसहित उल्लेख गर्दै समाचार प्रकाशित भएको हो । सतही र काल्पनिक कथा–कहानी लेखिएको होइन । 

त्यसैगरी २०७३ माघ ५ गते हरि गजुरेलद्वारा प्रस्तुत ‘ओहो, खाने बाटो कस्तो अचम्मको’ शीर्षक समाचार आफ्नो मञ्जुरीबिना लेखिएको, उक्त समाचारले आफ्नो मान, प्रतिष्ठा र इज्जतमा धक्का लागेको भन्नेसमेतको व्यहोरा राखी नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूहकी अप्सरा कोइरालाले माघ २३ गते दिएको निवेदनको आधारमा फागुन ३ गते प्रेस काउन्सिलमार्फत पत्र प्राप्त हुन आएको छ । आफ्नो खण्डनमा कोइरालाले ‘तत्कालीन मुख्यसचिव माधव घिमिरे छेउको घरमा एउटा मसला कारखाना थियो । सानो कैफियत देखाएर त्यहाँका सञ्चालकसँग चार लाख रुपैयाँ मागिन् । यो प्रकरण ज्योति बानियाँहरुको कानसम्म पुग्यो । यही आरोपमा उनी सार्वजनिक अपराध तथा सजायँ ऐनअन्तर्गत बच्चासहित एक महिना जेल परेर धरौटीमा छुटिन् भन्नेसमेतको झूठो व्यहोरासहित समाचार प्रकाशित भएको रहेछ’ भन्नुभएको छ । 

यस घटना र विषयबारे सम्मानित अदालतबाट न्यायनिरुपण भइसकेको र हालका प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्की (तत्कालीन उपत्यका केरकार प्रमुख) लाई यससम्बन्धमा विस्तृत जानकारी रहेको हुँदा न्यायालयको फैसलाप्रति हामीले अन्यथा टिप्पणी गर्ने कुरै आएन । आवश्यक परे अदालतको आदेश उपलब्ध गराउन सकिनेछ । 

प्रेस काउन्सिल नेपालबाट ०७३ भदौ १३ गते प्रेषित पत्रमा उल्लेख भएअनुसार ०७३ साउन ५ गते प्रकाशित ‘न पतिको भर, न त कसैको कर’ शीर्षक समाचारको सम्बन्धमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी संयोजक पवित्रा सुवेदीले जनआस्था साप्ताहिक र काठमाडौं टुडे अनलाइनविरुद्ध महिला पुनस्र्थापना केन्द्रकी संस्थापक एवं वर्तमान अध्यक्ष डा. रेणु अधिकारीको व्यक्तिगत जीवनसम्बन्धी प्रश्न उठाएकोमा उजुर गर्नुभएको रहेछ । खण्डनमार्फत प्रकाशित समाचारबारे प्रष्ट पार्ने काम भइसकेको व्यहोरा अवगत गराइन्छ । 

यसैगरी ०७४ वैशाख ११ गते प्रेस काउन्सिल नेपालबाट हरि गजुरेलद्वारा लिखित ‘होचापुड्कामाथि नै झन् अग्ला घोचा’ शीर्षकको २०७३ मंसिर २९ गते प्रकाशित समाचारका सम्बन्धमा उजुर परेको जानकारी आएको छ । निवेदकद्वय लोकनाथ ढकाल र सुन्दरी मिश्रले यस्ता लेख लेख्ने पत्रकारहरुलाई कडाभन्दा कडा सजाय दिलाइपाऊँ भन्ने माग राख्नुभएको रहेछ ।

उक्त समाचारमार्फत ढकाल र मिश्रमाथि भएको अन्यायबारे उजागर गर्न मात्र खोजिएको जानकारी गराइन्छ । उहाँहरुको शारीरिक अवस्थाबारे टिप्पणी गर्ने कुनै मनशाय नभएको व्यहोरा प्रष्ट पारिन्छ । 

२०७४ असार २१ गते ‘उनी अर्कैकी भएपछि गाडीको आस’ शीर्षक दिएर मेरोबारेमा झूठा र भ्रामक समाचार तस्बिरसहित प्रकाशित गरी इज्जत, प्रतिष्ठामा आँच पु¥याउने काम भएको भन्दै अभिनेत्री निशा अधिकारीले काउन्सिलमा उजुर दर्ता गरेको देखिन्छ । समाचारमा प्रकाशित कुन कुरा झूठा र भ्रामक हो, कुन शब्द, वाक्य गलत हो, प्रष्ट पारिदिनुभए हामीलाई जीवनको रंग शीर्षकअन्तर्गत रमाइला र ठट्टाका कुरा छापिने कोलममा प्रकाशित सामग्रीबारे थप प्रष्ट्याउन सजिलो हुने थियो । 

अन्त्यमा हाम्रा लेखाइको कारण कहीं, कसैमा चोट पर्न गएको भए दुःख प्रकट गर्दछौं । लेखाइको प्रतिक्रियास्वरुप स्वाभाविक रुपमा यहाँहरुले गर्नुभएका टिप्पणीको सम्मान गर्दै भविष्यमा पनि थप गुनासा या सुझावको अपेक्षा राखेका छौं । 

– सम्पादक

टिप्पणीहरू