​के लेख्नु, कसले देख्नु ? « Jana Aastha News Online
Logo
१६ मंसिर २०७८, बिहीबार
|  Thu Dec 2 2021

​के लेख्नु, कसले देख्नु ?

प्रकाशित मिति :  ८ भाद्र २०७४, बिहीबार ११:०५


  •  नारायण नेपाल 

स्थानीय निर्वाचनको हावा हुरी सेलाएसँगै जिल्लातिरको यात्रामा थिएँ । चुनावका २ दिन तीन हात उफ्रँदै दौडिनेहरू मरिचसरी चाउरिएका थिए । जित्नेहरूमा उमंग र उन्माद थियो भने हार्नेहरू विस्तारै पुरानै अवस्थामा फर्किने प्रयासमा निरास देखिन्थे । कांग्रेस सचिव सुरेन्द्र अधिकारीसँग लामो छलफल भयो, समाजमा विकासित भएको प्रवृत्तिमाथि उनी गहिरो चिन्ता जाहेर गर्दै थिए । 

एक पत्रकार मित्र भन्दै थिए, के लेख्नु, कति लेख्नु, जति लेखे पनि केही हँुदैन सर ! हामीले लेखिदिए यी पत्रिकामा यस्तो आ’छ भन्दै पत्रिका देखाएर अरूले नै बार्गेनिङ गर्छन् र खान्छन् झन् उनैलाई सजिलो । खोलामा डोजर हालेर बालुवा खन्नेहरूको टाउको दुखाइ बनेका रहेछन् प्रहरी प्रमुख कवीन्द्र बोहरा । गाउँतिर पण्डितले दान बटुलेझंै थुपारेको ५५ लाखमा ¥याल नचुहाई सक्छस् भने मेरो जागिर खा तर एक पैसा खान्नँ भन्दै तस्करलाई हैरान पारेको भित्री कथा हालिँदै थियो । बाहिर प्रहरी, बालुवा र डोजरको लुकामारी रोचक थियो । यो कथा न प्रहरीले भन्न मिल्नु न तस्करले खोल्न मिल्नु लाखांै घुस बहिष्कार गर्नेलाई कसले पुरस्कार देला खै यो लोकतन्त्रमा ! यस्ता कुरा सुनेर चकित बन्दै म गाउँतिर उकालो लागँे । 

निर्वाचनको बेला एक हुल बर्दीधारी प्रहरी मेरो घर खोज्दै गएछन् । गाउँलेले उल्टो बाटो देखाएर छक्काएका रहेछन् । माकेको समर्थनतिर नलाग्नेहरूमाथि निकै निसाना सोझिएको रहेछ गाउँमा । हिजोका साथीहरू कसरी आजका सुराकी बन्न सकेका ? 

हिजो माओवादी पार्टीबाट प्रचण्ड किरण विभाजनसँगै कागती खेतीको योजना बनाएर काम थालेको थिएँ । लामो समयपछि कागतीबारी गोडमेलतिर लाग्ने योजना बनाएँ र केही दिन गाउँतिर बसेँ । नयाँ पार्टी गठनसँगै मैले रोपेको कागती फल्न थाल्यो तर हजारांैले रगत–पसिना बगाएको पार्टी न फल्छ न फुल्छ के भएको होला † पार्टी त एक कोषीय जीव अमिवाजस्तै पो छ नेपालमा जति ठूलो हुँदै गयो उति चाँडै टुक्रिँदै नयाँ जन्मँदै । सँगै रहुन्जेल महान् भन्दै नहुने ठाउँसम्म चाट्ने र अलग भएपछि दिसा भेटे पनि नछाड्ने, बिरालोले झै छोपेर हिँड्नुपर्ने गद्धार र अपराधी हुने कस्तो संस्कार विकास भएको हो ! पौराणिक कथाका यदुवंशीहरू जस्तै बैरीहरूसामु रमिता जात्रा किन देखाउने होला !

कम्युनिस्टजस्तो कांग्रेस किन फुट्दैन ! यसको पनि कुनै साइनो होला नि नेपाली समाजको समाजशास्त्रमा ! अलिकति विमति हुनासाथ नयाँ पसल थाप्नै पर्ने किन होला ? फरक मत र भिन्न दृष्टिकोण राख्नै नपाई दुनियाँमा शतप्रतिशत माक्र्सवाद कहाँ केमा छ होला ? 

आज–भोलि क्रान्ति फेसबुकबाट सुरु भएर फेसबुकमै अन्त्य हुने र त्यसैमा फेसबुकमा अब्बल क्रान्तिकारी सावित हुने, त्यहीँबाट मापन र मूल्यांकन हुने उच्च प्राविधिक प्रचलन हाबी भएको मौसम हो यो । यो बेलामा यस्ता विज्ञप्तिले सनसनी पाउने नै भयो । बगरको ढुंगालाई नदीको छालले पल्टाउन नसकेर उसैको पाउ पखालेझैं ख्वामितहरूको पाउ पखाल्न पुच्छर हल्लाउँदै जानेहरूको नखरा अलि बढी नै पाइन्छ । 
कालिमाटीमा तरकारीको भाउ र राजनीतिक कार्यकर्ताको मूल्य उस्तै छ कहिले महँगो, कहिले सस्तो । २४ घण्टामा कहिले उच्च, कहिले नीच ।

आज यस्तो–उस्तो भन्दै तीन हात उफ्रियो, भोलि त्यसैलाई फूलबुट्टाले सिँगार–पटार गर्दै दुनियाँको अब्बल भनी देखाउने काइदा देख्दा लाग्छ, लेखेर के होला खै ! तराई जलमग्न छ । चिलगाडीको सयरबाट अनुगमन गर्नेहरू बिल्लीबाठ भएका जनतालाई राहत होइन, ब्यालेट पठाउने तयारीमा छन् । मधेसका नाम जपेर नथाक्नेहरू दुला पसेका छन् । वर्षदिन भरी भेट्नेबित्तिकै सर्प मार्नेहरूले नागपञ्चमीमा नागको चित्र टाँसेर पूजा गरेझैं सधँै आतंककारी ठान्दै भेट्नासाथ हाल्नुपर्छ भन्नेहरू कोसी ब्यारेजमा विप्लवले बम हान्नुप¥यो भन्दै कोकोहोलो मच्चाइरहेका छन् । अर्काथरी कोसीमा होइन बम सिंहदरबारमा हान्नुपर्छ भनिरहेछन् ।

तर, मलाई लाग्छ बम सिंहदरबार र कोसी ब्यारेजमा होइन, ती चेतना बोक्नेहरूको दिमागमा हान्नुपर्छ जसले युगौंसम्म हामीलाई बन्धकी राखेर बेचेको छ । जो बिहार डुब्ला कि भनी नेपाली डुबाएर मार्न तयार छ । पटक–पटक सिंहदरबारमा उक्लिरहेछ हामीलाई भ¥याङ बनाएर । नेपालको सिमानामा भारतले पूर्व–पश्चिम सडक निर्माणको नाममा बाँध बाँधेर राखेको छ, यो देखेर मौनता साँध्नेहरूको कुविचारमाथि बम प्रहार कसले गर्ला खै ? 


प्रतिक्रिया दिनुहोस !