​साना माछामै कस्तो हाइसञ्चो

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भन्छ– नेपाल दक्षिण एशियाकै तेश्रो भ्रष्ट मुलुक हो । उसको पछिल्लो प्रतिवेदनमा नेपाल विश्वकै १३१ औं भ्रष्ट मुलुकको सूचीमा छ । तर त्यही मुलुकमा भ्रष्टचारीहरुलाई अँठ्याउने अधिकारप्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग के जुम्रा मारेर बसिरहेको हो ? होइन भने लोकमानकै शैलीमा दीप बस्नेत पनि साना माछा समाउँदै ठूलालाई छोड्दै रमाउनुको पछाडि कुन फ्याक्टरले काम गरिरहेको छ होला ? पात्र फेरिएर लोकमानसिंह कार्कीको ठाँउमा दीप बस्नेत प्रमुख भए तर अख्तियार अहिले पनि सानै माछा समाउनमा अभ्यस्त छ । 

अख्तियारको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी भ्रष्टाचार गर्ने कर्मचारीमा नायब सुब्बा तहका कर्मचारी छन् । अर्थात अख्तियार कुचिकार, पाले नायब सुब्बा, खरिदारलगायत तल्ला तहका कर्मचारी समाएर ठूलो ओहदाका भ्रष्टाचारीलाई उम्काउँदै आएको छ । अघिल्लो आर्थिक वर्ष ९१ कर्मचारी रंगेहात पक्राउ पर्दा ४० जना नायब सुब्बा नै थिए । त्यस्तै शाखा अधिकृत १९, ओभरसियर र अमिन गरी ११, लेखापढी व्यवसायी ८, कार्यालय सहयोगी २, कुल्ली १, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १, सामाजिक परिचालक १ जना समातिए । सोही वर्ष ६ उपसचिवलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो । यो आर्थिक वर्षको एक महिनामा ५ नासु रंगेहात पक्राउ परेका छन् ।

त्यस्तै खरदार १, शाखा अधिकृत ४, प्राविधिक नासु २, कार्यालय सहयोगी ४ जना रंगेहात पक्राउ परेका हुन् । यो आर्थिक वर्षको एक महिनाको अवधिमा १२ कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियारले अघिल्लो वर्ष २६ कार्यालयमा स्टिङ अप्रेसन गरिएकोमा १४ वटा नापी कार्यालय थिए भने ८ वटा मालपोत कार्यालय परे । 

भूकम्प जाँदा त्रिपाल काण्डमा मुछिएका र अहिले इम्ब्रोस्ड नम्बर प्लेट काण्डमा समेत मुछिएका सचिव अर्जुनबहादुर कार्की, सिँचाइ मन्त्रालयमा हुँदा २१ करोडको गाडी खरिद काण्डमा मुछिएका र हाल शान्ति मन्त्रालयतिर धपाइएका गजेन्द्र ठाकुरलगायत उच्च तहका भ्रष्ट कर्मचारीहरु भने छानबिनकै दायरामा नआउनुको कारण के होला ?

टिप्पणीहरू