बालदिवस मनाइरहँदा कर्णालीबाट ७ सय ४५ बालबालिका हराए

बालदिवस मनाइरहँदा कर्णालीबाट ७ सय ४५ बालबालिका हराए

हिजो ५७ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । कोरोना महामारीबीच पनि बालबालिकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ दिवस मनाइएको हो । तर, बाल दिवस मनाइरहँदा बालबालिका हराएको भयानक तथ्याङ्क पनि सँगसँगै सार्वजनिक भएको छ ।

कर्णाली प्रदेशबाट सावर्जजिक भएको उक्त तथ्याङ्कमा पछिल्लो तीन वर्ष यता प्रदेशभरबाट हराएका बालबालिकाको तथ्याङ्क उल्लेख छ । जसअनुसार तीन वर्षमा कर्णालीबाट मात्र ७ सय ४५ बालबालिका हराएका छन् ।

‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित मनाइएको यस वर्षको बाल दिवस हराएका बालबालिकाको तथ्याङ्क सार्वजनिक हुँदा खल्लोसमेत भएको बाल अधिकारकर्मीहरुको भनाइ छ ।

प्रहरीका अनुसार हराएकामध्ये २ सय ६७ जना बालबालिकाको अवस्था अझै अज्ञात छ । बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघ संस्थाको समन्वयमा उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । हराएकामध्ये हालसम्म ४ सय ७८ बालबालिका फेला परेका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ३ सय ७४ बालबालिका हराएका छन् । तीमध्ये १ सय ७३ जना बालक र २ सय १ जना बालिका छन् । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशभर १ सय ४१ जना बालबालिका हराएका छन् । तीमध्ये ६८ जना बालक र ७३ जना बालिका हुन् । गत वर्ष २ सय ३० जना बालबालिका हराएको प्रहरीको तथाङ्क रहेको छ । जसमा ८७ बालक र १ सय ४३ जना बालिका छन् ।

अध्ययन, रोजगारी र सुखसुविधाको प्रलोभनमा पारेर महिला तथा बालबालिकाहरु हराउने गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सपना बिसी बताउनुहुन्छ छ । साथीभाइहरुको लहलहैमा लागेर वा विभिन्न प्रलोभनमा पारेर बालबालिकाहरुलाई भारत लैजाने गरेको बिसीले बताउनुभयो ।

टिप्पणीहरू