विपना सुवेदीको मृत्युमा प्रहरी भन्छ-सूचना चाहिए चितवन आउने

विपना सुवेदीको मृत्युमा प्रहरी भन्छ-सूचना चाहिए चितवन आउने

चितवनको भरतपुर महानगरपालिका वडा नं ५ स्वामी चोकस्थित मामाघरमा बस्दै आएकी २३ वर्षीया विपना सुवेदीको मृत्यु भएको लामो समय बितिसकेको छ । लागुऔषध सेवनको ओभरडोजका कारण सुवेदीको मृत्यु भएको बताइए पनि उनीसमक्ष लागुऔषध पुर्याउने व्यक्तिको भने हालसम्म अत्तोपत्तो छैन ।

यसबारे चितवन प्रहरीसँग बुझ्दा जिम्मेवार अधिकृतले जानकारी चाहिएमा चितवन आउनुहोस्,सबै थाहा हुन्छ भनेर ठाडो जवाफ दिएका छन् ।

गत असार १४ गते रातिको उक्त (आत्महत्या) मृत्यु प्रकरणमा शवसँगै एक झोलाभन्दा बढी लागुऔषध भेटिएको थियो । विपनाले लागुऔषध सेवन गर्ने गरेको भनिए पनि उनलाई लागुऔषध दिने व्यक्तिको बचाउ गर्नमा परिवारदेखि प्रहरीसम्म लागि परेको सहजै अनुमान गर्न सकिन्छ । आफन्तहरुसँगको मिलेमतोमा चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापा लगायतले घटनालाई गुपचुप राखेको भन्न थालिएको छ ।

आज जनआस्थासँगको कुराकानीमा प्रवक्ता थापाले घटनाबारे बुझ्ने मन भए चितवन आउनुहोस् भन्दै फोन काटिदिएका थिए । त्यसो त,परिवारले पनि उनको मृत्युपछि खासै चासो नदेखाएको बताइन्छ । पारिवारिक स्रोतका अनुसार उनको मृत्युपश्चात् कसैले पनि श्रध्दान्जलिसमेत दिएको पाइएन । यता,प्रहरीले घटनास्थलमा फेला परेको ठूलो परिमाणको लागुऔषधबारे अझै केही सावर्जनिक गरेको छैन ।

भरतपुर ११ नौंरगे स्थायी घर भए पनि लामो समयदेखि मृतक सुवेदीका स–परिवार अमेरिका बस्दै आएका कारण विगत ५ वर्षदेखि उनी मामा घरमा बसेकी हुन् । त्यहिँ बसेर बिएन नर्सिङ्ग पढ्दै गरेकी उनी भरतपुरको अस्पताल रोडस्थित सप्तगण्डकी अस्पतालमा नर्स पदमा कार्यरत थिइन् । मृतकका परिवारले उनको मृत्युलाई किन लुकाउन चाह्यो ? मृतकको शवसँगै कोठाबाट भेटिएको एक झोला लागुऔषधको स्रोतलाई जोगाउन यी सबै प्रयास गरिएको त होइन ? भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् ।

घटनाबारे उनका निकटस्थ साथीहरु कसैसँग पनि नबोल्न भनिएको छ । मृतक सुवेदीका नजिकका साथीहरु, अस्पतालमा सँगै काम गर्ने स्टाफ र स्कुल तथा कलेजमा पढेका साथीहरुलाई उनको आत्महत्यासँग सम्बन्धित कुनैपनि विषय अन्यत्र कोही कसैसँग सेयर नगर्न उनका एक आफन्तले सबैलाई बेला बेलामा सम्झाउँदै आएका छन् ।

आफन्तले जिल्ला प्रहरी कार्यालयबाट बोलाइएमा वा प्रहरीले सोधेमा मात्र कुरा गर्नु,अरु कसैसँग केही पनि नभन्नु भनेकाले पनि आत्महत्या प्रकरण थप शंकास्पद र पेचिलो बन्दै गएको हो ।

टिप्पणीहरू