मानवअधिकार आयोगका प्रमुखमाथि भ्रष्टाचारमा छानबिन शुरु

मानवअधिकार आयोगका प्रमुखमाथि भ्रष्टाचारमा छानबिन शुरु

राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश शाखा कार्यालयका प्रमुख झंकरबहादुर रावलमाथि भ्रष्टाचारको आरोप लागेपछि छानबिन शुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रावलले चरम आर्थिक अनियमितता गरेको उजुरीहरु परेपछि आयोगले आफ्नो कार्यालयको बचाउ गर्दै आरोपको छानबिन आफैंले गर्ने भन्दै अख्तियारलाई आश्वस्त पार्न खोजेको बताइन्छ ।

आयोगका सहसचिव डा.टीकाराम पोखरेलको नेतृत्वमा गएको टोलीले कागजातहरु नियन्त्रणमा लिई छानबिन र अनुसन्धान गरे पनि रावललाई नै जोगाउने गरी प्रतिवेदन पेश गरिएपछि अख्तियार असन्तुष्ट रहेको बताइएको छ ।

अख्तियारको अर्को टोलीले नेपालगञ्ज कार्यालयमा छापा मारी रावललगायतलाई अनुसन्धानको दायरामा नल्याए आयोगभित्रका भ्रष्टाचार नरोकिने स्रोतले बताएको छ ।

रावलले भ्रमणमा नगई कागजातहरु मिलाएर लाखौं भत्ता बुझ्ने गरेको,धनगढी घरमा जाँदा समेत काज मिलाउने गरेको, अन्तरक्रिया गोष्ठीमा उपस्थित नै नभएका व्यक्तिहरुको नक्कली हस्ताक्षर र हाजिर गर्ने गरेको, नक्कली बील भरपाई तथा भौचर उठाई लाखौं अनियमितता गरेको उजुर अख्तियारमा परेको बताइन्छ ।

मानव अधिकार संरक्षण र सम्बर्धन गर्ने संवेदनशील निकायका प्रमुख नै आर्थिक अनियमिततामा मुछिएको प्रमाणसहित उजुरी परे पनि कारबाही नहुनुले मानव अधिकारकर्मी तथा सर्वसाधारण असन्तुष्ट भएका हुन् ।

टिप्पणीहरू