किन ल्याङल्याङ दिन बित्दैछ कमरेड ?

किन ल्याङल्याङ दिन बित्दैछ कमरेड ?

– टीकाराम सुनार

संविधानको जुन धारा खोले पनि आफ्नै नेतृत्वको सरकार आउनुपर्छ भन्ने केपी शर्मा ओली, त्यसलाई समर्थन गर्ने राष्ट्रपति र ती कदमको प्रतिरक्षा गर्ने कार्यकर्ताको ठूलो पंक्ति । अन्ततः ०७८ असार २८ गते सर्वोच्च अदालतको फैसलाले नेतृत्वको अक्षमताबाहेक यो व्यवस्थामाथि जालसाजी गर्ने प्रवृत्तिलाई लगाम लगाउने गरी ऐतिहासिक नजीर स्थापित ग¥यो । यसका असल र खराब पाटोबारे पक्ष र विपक्षहरूले तत्काललाई जतिसुकै तर्कतर्कना गरे पनि दीर्घकालमा इतिहासले नै यसको समीक्षा गर्ने छ ।

तर, यी तर्कतर्कनाले नेपाली राजनीतिको एउटा खराब संस्कार र प्रवृत्तिलाई भने निकै घतलाग्दो गरी पटाक्षेप गरिदिएको छ । समकालीन राजनीतिक दल, तिनका मूल नेतृत्वहरूको व्यक्तिवादी संकिर्णताले देश कसरी गोलचक्करमा फँसिरहेको छ भन्ने कुरा घामझै छर्लंग भएको छ । यसका विविध प्रवृत्तिमध्ये दुईटा पक्षको यहाँ चर्चा गरिएको छ ।

पहिलो, नयाँ बोतलमा पुरानो रक्सीकै शैली राजनीतिमा । ०४६ सालको राजनीतिक परिवर्तन ल्याउन जुन पुस्ताले निरंकुश पञ्चायतविरुद्ध लड्यो, त्यो पुस्ताको राजनीतिक क्षमता एकाध वर्षमा देखिन शुरु भइसकेको थियो । विषमतालाई अनुकूलतामा बदल्ने होइन, विषम परिस्थितिको धमिलो पानीमा खेलेर स्वार्थको माछा मार्नसक्ने बाहेक त्यो नेतृत्वबाट कुनै विलक्षण क्षमता देख्न बाँकी छैन । त्यसैले त ०५१ साल असार २६ मा गिरिजाप्रसाद कोइराला, ०५२ साल भदौ १२ मा मनमोहन अधिकारी, २०५४ साल पुस ४२ मा सूर्यबहादुर थापा, २०५५ को अन्त्यमा गिरिजाप्रसाद कोइराला, २०५९ साल जेठ ८ मा शेरबहादुर देउवाले त्यही गरे जे उनीहरूले गर्नसक्थे ।

बांगो रेखामा हिँडिरहेको राजनीतिलाई सोझ्याउन र परिवर्तित समाजको चेतनालाई प्रतिनिधित्व गर्न नसक्ने बरु खराब अवस्था एवं कुदिनहरूको कामना गरेर छिर्के दाउ हान्ने र शासकहरूको लिष्टमा अर्को फोटो थप्न लालायित नेतृत्वले त्यसैलाई सफलता ठान्छ । खराबलाई झन् खराब करार गरेर उदय हुने, जे बिक्छ त्यही एजेण्डा बोक्ने, भीड जता छ त्यतै दगुर्ने, जे बोल्दा ताली पाइन्छ त्यही बोल्ने, जे गर्दा मत पाइन्छ त्यही गर्नेहरू सत्ताका व्यापारी मात्रै हुन् । अहिलेसम्म जे भइरहेको छ त्यो सत्ता व्यापारको निरन्तरता मात्रै हो ।

सुदूरपश्चिममा अरु नेताका टाउको देखाएर पार्टी र काठमाडौंसँग मोलमोलाई गरिरहने भीम रावललाई सरकारपिच्छे मन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री या त पार्टीभित्र महत्वपूर्ण भूमिकाका लागि माधव र झलनाथले सधैं ओलीसँग मुखपिरो गरिरहनुपर्ने ।

नेतृत्व निर्णय क्षमता पनि हो । निर्णय सयौं विकल्पबाट उत्तम विकल्पको छनोट गर्ने कार्य हो । एउटा देशभित्र सयौं थरी विचार समूह, सयौं थरी सोच र प्रवृत्ति हुन सक्छन् । त्यसभित्र सयौं स्वार्थ र स्वार्थ समूह पनि होलान् । बहुदलीय व्यवस्था अंगीकार गरेको लोकतान्त्रिक समाजमा त झन् थरीथरीका सोच र शैली हुने नै भए । लोकतन्त्रमा विचारको विविधतालाई खुराकको रूपमा ग्रहण गर्ने अपेक्षा हुन्छ र त्यस्तो विविधतालाई बाँध्ने उपायको रूपमा लोकतान्त्रिक संस्कारलाई समृद्ध बनाइएको हुन्छ । तर, भिन्न विचारलाई समस्या ठान्ने नेतृत्वले देशलाई दिशा दिन सक्दैन । त्यस्तो राजनीतिक नेतृत्व भएको देश निश्चय नै दिशाहीन बन्न पुग्छ ।

नेपालमा योभन्दा बढी अरु के भइरहेको छ र ! त्यसले त होला, संविधान २०७२ को अभ्यास ०४७ कै । आवश्यकता ०७८ को, सम्बोधन गर्ने शैली २०५०/०५१ कै । नीति संघीयताको, नेतृत्व पञ्चायती प्रवृत्तिकै । संविधान नयाँ भए पनि नेतृत्व उही र उस्तै भएकाले २०७७ सालमा पनि २०५० को दशकका घटनाहरू दोहोरिएर आउँछन् । नयाँ संविधान, नयाँ व्यवस्था र नयाँ आवश्यकताबीच त्यही प्रवृत्ति कायमै रहेकाले ०७७ पुस ५ र २०७८ जेठ ७ (मध्यराति) पनि संसद् विघटन गर्ने पुनरावृत्त हुन्छ । समयमै सुध्रिएनौं भने नयाँ बोतलमा पुरानो रक्सी हालेर नशा र मात चढिरहने तमाम सम्भावनाहरू जीवितै छन् ।

यो प्रसंगको अन्त्यमा विश्लेषक मुमाराम खनालको शब्द सापटी लिएर भनौं, लोकतन्त्रमा दल जति ठूला भए समस्या त्यति साँघुरा हुँदै जानुपथ्र्यो । तर, नेपालमा दल जति ठूला हुँदै गए समस्या झन् ठूला र बलिया हुँदै गए । यसले दलको सफलता मास बटुलेर राजनीतिक परिवर्तन गर्नुमै सीमित हुन पुग्यो । र, यस्ता दलले न परिवर्तनलाई प्रतिनिधित्व गर्न सके न त परिवर्तनका आकांक्षालाई सम्बोधन । फलतः राजनीतिक व्यवस्था परिवर्तनको बादल सधैँ मडारिरह्यो । विकास र समृद्धिका सवाल नारामा सीमित हुन पुगे । संघीयता आएको छोटो समयमै योभन्दा उही नै राम्रो भनेर विचार समूह निर्माण हुन थाले ।

दोस्रो, कुराले जित्ने अर्को पुस्ता भात पकाउन ऊर्जा नै चाहिन्छ । त्यो ऊर्जाको स्रोत दाउरा, गुइँठा, एलपी ग्यास वा इलेक्ट्रिक चुलो नै किन नहोस् । राजनीतिक परिवर्तनको आकांक्षा पूरा गर्न पनि एकखालको राजनीतिक चेत, ऊर्जा र शक्ति चाहिन्छ । उल्लिखित पहिलो पुस्तासँग नराम्रो गुण मात्रै थिएनन् र छैनन् । उहाँहरूले बर्बर यातना, अभाव र समस्यालाई छिचोल्न आफ्नो ऊर्जा व्यवस्था परिवर्तनमा लगाउनुभयो । त्यही पुस्ताको त्याग र निष्ठाले नै प्रजातान्त्रिक व्यवस्थाको कल्पना गर्न सकियो ।

तर, राणाकालमा लड्ने पुस्ताले नै पञ्चायत र निरंकुश राजतन्त्रविरुद्ध लड्नुप¥यो । त्यही पुस्ताले बहुदलीय लोकतान्त्रिक वा प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत गर्छु भन्नुप¥यो । संघीय लोकतान्त्रिक गणतन्त्रको भारी पनि त्यही पुस्ताले सकिनसकी बोकिरहनुपरेकै छ । अहिले एउटा अर्को पुस्ताको खुब चर्चा हुने गरेको छ । खासगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि भाषणले सबैलाई कक्क्रक्क पार्न सिपालु पुस्ता ।

बहुदल आएपछि बलियो बनेका दलभित्रको त्यो पुस्ता नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायत सबै दलमा छ । तर, त्यसको हविगत चाहेर वा नचाहेर पनि पुरानो पुस्ताले पदसँगै मसान जानुपर्ने अवस्थाको मूकदर्शक बन्नमै सीमित छ । त्यो पुस्ता नेपालमा आएको सलह (समस्याहरूलाई समष्टिमा भनेको) अमेरिकी बाजा वा मेटल बजाएर कक्क्रक्क पार्ने सपना त देख्छ तर नेपाली किसानहरूको बाली जोगाउन सक्दैन । त्यो पुस्ता एउटा नेतृत्वलाई सडकबाट विस्थापित गर्छु त भन्छ तर विकल्प आफू बन्नसक्दैन । त्यो पुस्तासँग सपना त होलान् तर त्यो सपना पूरा गर्न केपी शर्मा ओली कि माधव नेपाल, शेरबहादुर देउवा वा रामचन्द्र पौडेलले तथास्तु भन्नै पर्ने अवस्था छ । या त पार्टी छोडेपछि प्रचण्डलाई सत्तोसराप गरेर एकै ठाउँमा हुँदा कमजोरीहरूको मतियार बनेको कुरालाई ढाकछोप गर्ने प्रवृत्ति छ ।

कुराले च्युरा भिजाउने यो पुस्ता न आफू विकल्प बन्नसक्छ न अरु विकल्प बन्नसक्छ भन्ने ठान्छ । यही द्विविधाका बीच बृद्ध ओलीको विकल्प बृद्ध झलनाथ खनाल र माधव नेपालहरू बन्न पुग्छन् । बृद्ध देउवाको विकल्प बृद्ध रामचन्द्र पौडेल बन्न पुग्छन् । प्रचण्ड नेतृत्वका पार्टीहरूमा त कसैले विकल्पै देख्ने हिम्मत गर्दैनन् ।

एकपटक प्रधानमन्त्री र १५ औं वर्ष पार्टीको प्रमुख (महासचिव) भइसकेका माधव नेपाल र एकपटक प्रधानमन्त्री एवं पार्टी प्रमुख (अध्यक्ष) भइसकेका झलनाथ खनाले बाँकी अर्को उच्चता पाउनुपर्ने केही थिएन । यिनले सके फेरि प्रधानमन्त्री या त राष्ट्रपति बन्नसक्थे । तत्काललाई त्यो सम्भव थिएन । तर, यिनका अगाडि आफ्नो विचार समूहको रक्षा गर्नु थियो । त्यसैको नाममा पार्टीभित्र झगडा गरे । पार्टीमा बागमतिको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यलाई बनाउनै पर्छ भनेर लडिरहे ।

सुदूरपश्चिममा अरु नेताका टाउको देखाएर पार्टी र काठमाडौंसँग मोलमोलाई गरिरहने भीम रावललाई सरकारपिच्छे मन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री या त पार्टीभित्र महत्वपूर्ण भूमिकाका लागि माधव र झलनाथले सधैं ओलीसँग मुखपिरो गरिरहनुपर्ने । विभिन्न विश्लेषण लगाएर वादका विषयमा घण्टौं भाषण गर्नसक्ने घनश्याम भुसाल र अरु थुप्रैलाई एकचोटी मन्त्री दिनैपर्छ भनेर कुरा गर्दागर्दै राजनीतिक अवशानको डिलमा पुग्नुपर्ने तिनै माधव र झलनाथ । यही पुस्ता पुस ५ को परिघटनापछि ओली र ओलीले नेतृत्व गरेको नेकपा एमालेलाई बालुवाटारबाट बालकोटको बार्दली पु¥याउन, प्रदेशमा ओलीका विश्वासपात्र नेतृत्वको सरकारलाई ढाल्न र एमालेलाई सरकारविहिन बनाउन सत्तोसराप गर्छ ।

न ओलीलाई मान्ने, न त माधव नेपालहरूलाई स्वीकार्ने । न ओली, माधव, झलनाथहरूले लिन खोजेको बाटोमा हिँड्न हिम्मत गर्ने, न त विकल्पका गोरेटो कोर्न सक्ने । मुद्दा र विचारप्रतिको अडानलगायत विभिन्न नाममा कुनै कालखण्डमा यो समूहले खेलेका कुकृत्य एमालेको नाम र सूर्य चिन्हको रापले कति ठाकछोप गर्ला त्यो त इतिहासले नै देखाउला । तर, माधव नेपालहरू तत् तत् कारणले अलग भए र हामी ऐजन ऐजन कारणले ओलीलाई मान्न तयार भयौं । बृद्ध माधव नेपाल, झलनाथ खनालभन्दा जवान भनिएका हाम्रो नैतिक धरातल यसअर्थमा माथि छ । हामीमा आफ्नै गोरेटो निर्माण गर्ने वा नयाँ राजनीतिक धार निर्माण गर्न नसक्ने ल्याकत नभएर होइन पुरानै बाटो र घरलाई रंगरोगन गरेर नयाँ बनाउन सक्छौं भन्ने दावीको पुष्टि मिडिया, विभिन्न क्लब चौतारीमा हिजो ओलीलाई र आज माधवहरूलाई सत्तोसराप गर्नुले मात्रै धोइपखालिने छैन ।

राजनीतिमा आन्दोलन भविष्यलाई हेरेर मात्रै प्रारम्भ हुँदैन । आन्दोलन नाम र चुनावी चिह्न मात्रै हेरेर फेरबदल हुँदैन । निश्चित कालखण्डमा शुरु भएका सबै आन्दोलनहरू सफल नहुन पनि सक्लान् तर ती आन्दोलनका इतिहास भने अवश्य लेखिन्छन् । क्रान्तिकारी गफ, उग्रराष्ट्रवादको रटान, कम्युनिष्ट, पार्टी र चुनाव चिन्हको सहाराले यो मध्यपन्थी भनिएको धारले भोलि एमाले कब्जा गर्ला, ठूला पदहरू ओगट्ला तर के तिनले मोहनविक्रम सिंह, पुष्पलाल, नारायणमान बिजुक्छेको उचाई ग्रहण गर्न सक्ला ? अहँ । एउटा धु्रवमा उभिइसकेपछि आफ्नो भविष्यको कुनै पर्वाह नगरेर विचारमा अडिग रहने गोकुल बाँस्कोटा, सूर्य थापाहरूको मूल्य यो समूहभन्दा धेरै गुणस्तरीय रहेको चर्चा चल्न थालिसकेको छ । अघिल्लो दिन संसदबाट राजिनामा दिने र दोस्रो दिन फिर्ता लिने भीम रावलहरूभन्दा पार्टी, सांसद पद छोडेर एउटा कालखण्डमा एउटा विचार समूहको पक्षमा उभिने र उभिरहने लेखराज भट्ट, टोपबहादुर रायमाझीहरूको कद उचो हुँदै गएको भन्नेहरू थपिँदै गएका छन् ।

आफू विकल्प बन्न नसक्ने तर विकल्प दिन तयार भएका माधव नेपालहरूलाई धोका दिने र पार्टीमै बसेर ओलीलाई पनि यो वा त्यो बहानामा अल्झाइरहने मनशाय बोकेको भनेर आरोप लागेको यो समूहसँग जीवनभर साथ दिएका सुदूरपश्चिम प्रदेश सांसदहरूको बिछोड त्यही असन्तुष्टिको द्योतक हो । त्यहि विचारमाथिको दृढता हो । राजनीतिक भविष्य कति सफल होला वा असफल भनेर लेखाजोखा गर्नेलाई राजनीतिमा निष्ठाको हिसाबले कुनै उपमा दिन सकिँदैन।

अन्तिम तर सबैभन्दा महत्वपूर्ण पक्ष, मास हेरेर विचार फेरिरहने नेतालाई सुधार्ने अन्तिम विकल्प जनताको सुझबुझले नै हो । अब पनि कथित नेताको राजनीतिक भविष्यका नाममा राजनीतिक दललाई राज्यस्रोत दोहनको संयन्त्र मात्रै बनाउने, सामान्य स्वार्थका लागि व्यवस्थालाई अस्थिर, विकासलाई लथालिंग, आफ्नो सन्ततिको भविष्यलाई पनि सधैं अन्धकार बनाउने कि नेतालाई देश बनाउने बाटोमा हिँड्न बाध्य बनाउने ? अब सामान्य स्वार्थका लागि नेतामाथि आश्रित हुने, जतिसुकै गलत काम गरे पनि नेतृत्वको प्रतिरक्षा गरिरहने, एकपछि अर्को गलत काम गर्न थप उक्साउने गरी अन्धभक्त बन्ने काम रोकौं । तब मात्रै देशलाई दिशाहीन बनाउनेहरूलाई सही बाटामा हिँडाउन सकिन्छ । अन्यथा खराब दिनका लागि तयार भएर बसौं ।

टिप्पणीहरू