विभाजनका असरको विस्तृत विवरण

विभाजनका असरको विस्तृत विवरण

के माधव नेपालले पार्टी विभाजनको बाटो रोजेर केपी ओलीलाई ‘जीवनदान’ दिनुभएको हो ? यसमा व्यक्ति पिच्छेका फरक–फरक तर्क हुनसक्छन् । तर, अन्तिममा माधवको साथ छाडेका दोस्रो पुस्ताका नेताहरु हिजोआज ‘माधवका कारण केपीले जीवनदान पाएको’ निश्कर्षमा पुगेका छन् ।

कहिले केपी आफैँले, कहिले ईश्वर पोखरेलबाट त कहिले भारेभुरे नेतासम्मले १० बुँदे लागु नहुने, जेठ २ मा नफर्किनेजस्ता अभिव्यक्ति दिइरहेका छन् । अनि, थुप्रै ठाउँका विवाद ज्युँका त्युँ राखिएपछि कसरी अगाडि बढ्ने भनेर उनीहरु बेला–बेला जुट्ने पनि गरेका छन् । उनीहरुबीच कुरा हुन्छ, ‘हामी त बिचल्लीमा परौंला तर माधवले केपीलाई जीवनदान दिनुभयो’ भनेर । यस्तो निश्कर्षमा उनीहरु कसरी पुगे भने, १० दिनभित्र सबै कुरा टुंग्याइसक्ने भनेर भदौ नलाग्दै ओलीपक्षसँग सहमति भयो ।

तर, आज भदौको चौथो साता लागिसक्दा पनि कर्णाली प्रदेशका केही जिल्ला कमिटीबाहेक कुनै जनसंगठन, कुनै पदाधिकारी र नेताहरुको व्यवस्थापन हुन सकेन । यो स्थिति आउनुका पछाडि ‘पार्टी विभाजन गर्न माधव नेपालको हतारो प्रमुख कारण भयो’ भन्नेमा उनीहरु पुगेका हुन् । ‘माधव यहाँ भई–भई ओलीसँग लडेको भए यतिबेलासम्म एउटा वातावरण बन्ने रहेछ’, एकजना नेताले सुनाए, ‘ओली र माधव बसेर हामी दुईका कारण यो सब भताभुङ्ग भयो, अब हामीबाहेकको नेतृत्वमा जाऔँ भन्ने स्थिति हुन्थ्यो र एकता कायम हुन्थ्यो ।’ उनको ठहर छ, ‘तर, माधवले ओलीलाई अब तिमी नै गरिखाऊ भन्दै छाडिदिनुभयो, त्यही कुरा उनका लागि जीवनदान हुन पुग्यो !’

ओलीपक्षले एकता मामिलामा राम्रो रेस्पोन्स नगरेको विरक्ति एकातिर छ, अर्कातिर माधव नेपालले दोस्रो पुस्तालाई लक्ष्यित गरी बोल्नुभएका कुरालाई लिएर उनीहरु चित्त दुखाउँदै फोन गरिरहेका छन् ।

कहिले १० बुँदे जस्ताको तस्तै लागू नहुने त कहिले जेठ २ मा नफर्किने भन्दै भाषण गर्ने एमाले महासचिव ईश्वर पोखरेल र घनश्याम भुषालको जम्काभेट भयो, काठमाडौं एयरपोर्टमा । भेट्नेबित्तिकै अब घनश्यामले झम्टिन्छन् भन्ठानेर होला, ईश्वरले भन्नुभयो, ‘मैले बोलेपछि मिडियाले मेरो कुरालाई एकदमै डिस्टोर्ट गरेर न्युज बनाउन थाले…, के गर्ने होला ?’

१० दिनमा टुंगिनुपर्ने एकता महिना मर्न लाग्दा पनि एक पाइला अगाडि नसर्नुमा ओली पक्ष कारक भएको दोस्रो पुस्ताका नेता रघु पन्त बताउँछन् । उनले भने, ‘ओलीपक्षले आफ्ना मान्छेहरुलाई तल पारेर एकता गर्न चाहेनन् ।’ भीम रावलको सुदूरपश्चिम इञ्चार्जमा लेखराज भट्टको दावी कायम छ । योगेश भट्टराई तोकिएको भनिएको प्रवक्तामाथि प्रदीप ज्ञवालीकै हक छ । वकिलहरुको संगठनका इञ्चार्ज रघु पन्त हुँदाहुँदै उनलाई नसोधी भेला बोलाइएको छ । अध्यक्ष रुद्र नेपालले त्यो भेला अस्वीकार गरे ।

तर, ओली पक्षका वकिलहरु मात्रै सहभागी भएर भेलाचाहिँ चल्यो । समानान्तर गतिविधि गर्दा गठन भएका जिल्ला कमिटीमध्ये ओलीले अध्यक्ष बनाएका कुनै पनि जिल्ला कमिटी ‘जेठ २’ का भएनन् । माधवलाई छाडेर दोस्रो पुस्तासँग हिँडेका ‘जेठ २’ का अध्यक्षहरुलाई छिटोभन्दा छिटो राजीनामा दिन वा पछि बनाइएको केपीपक्षीय अध्यक्षलाई मानेर अगाडि बढ्न भनिँदैछ ।

सबैभन्दा अप्ठेरोमा परेका छन्, गोकर्ण बिष्ट । उनी जनसंगठनलाई एकतावद्ध गराउने कार्यदलमा छन् । माधव पक्षले गठन गरेका जनसंगठनका समानान्तर केन्द्रीय कमिटीमध्ये कुनै पनि संगठनका पदाधिकारी दोस्रो पुस्तासँग गएनन् । एकता गर्ने भनेको त माधवतिर रहेकालाई ओलीपट्टि रहेकासँग मिलाउने हो । माधवका कोही पनि नगएपछि गोकर्णसँग मान्छे नै रहेनछन् भनेर अहिले ओलीका मान्छेहरु खिसिट्युरी गर्दैछन् । त्यसैले अहिले गोकर्णको कामै दिनरात माधवपक्षीय जनसंगठनका नेता फकाउने बनेको छ । ‘बरु, दुई दिनपछि फर्केर जाऊ, केही छैन । तर, आएर एकता गरेजस्तो त गरिदेऊ ! हाम्रो त इज्जतै जाने भयो !’, एक जनसंगठनका नेतालाई केही दिनअघि दोस्रो पुस्ताका एक नेताले यस्तो भने । देशभरि फोनफानमा व्यस्त हुनेमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे पनि रहेको बताइन्छ ।

तर, माधवसँग गएकाहरु कोही फर्किएनन्, न ओलीसँग भएकाहरु माधवतिर गइरहेका छन् । तर, ओलीसँग रहेका वकिल, कर्मचारी, पत्रकार र व्यापारीहरु भने माधवपक्षीय नेताहरुसँग गएर ‘हिजो यस्तो बाध्यता थियो, उस्तो बाध्यता थियो’ भन्न थालेका छन् । आफ्ना मान्छे आफूतिर नआएपछि केही दिनमा ढल्ने प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीहरु सरकारी नियुक्ति दिएर मान्छे तान्ने रणनीतिमा छन् । तर, ८–१० दिनमा ढल्ने सरकारको नियुक्ति खान कोही तयार भइरहेका छैनन् ।

सुदूरपश्चिम इञ्चार्जको बारेमा उत्पन्न विवादका सन्दर्भमा लेखराज भट्ट र भीम रावल आफैँ बसेर समस्या समाधान गर्ने भनिएको छ । सुनसरीमा अचम्म छ । ०७४ को निर्वाचनमा पाइसकेको टिकट खोसेको भनेर भीम आचार्यसँग रेवती भण्डारी धुँवा छन् । त्यसअघि रेवती झलनाथका खास मान्छे थिए । त्यही चुनावदेखि केपीका भए । अहिले भीम नै केपीको भएका छन् । केपीपक्षले बनाएको समानान्तर जिल्ला कमिटीमा रेवतीलाई अध्यक्ष बनाइएको छ । अहिले ‘जेठ २’ मा जाने भनेपछि त्यसबेलाका अध्यक्ष रमेश बस्नेत हुनुपर्ने हो ।

तर, रेवतीको जिल्ला कमिटीले बैठक बसेर रमेशको कमिटीलाई मान्यता नदिने निर्णय नै गरिदियो । जिल्ला कमिटी एकताका लागि पनि समस्याचाहिँ जनसंगठनमा जस्तो, तर अलिक कम हो । जिल्ला अध्यक्ष रहेका माधवपक्षीय नेताहरु दोस्रो पुस्तासँग त्यति धेरै गएनन् । जो–जो गए, तिनका लागि अहिलेसम्म ओलीका मान्छेले ठाउँ छाडेनन् । लुम्बिनीमा शंकर पोखरेलका कारण समस्या होला भन्ने थियो । विष्णु पौडेलले ‘मेरो प्रदेशको जिम्मा म लिन्छु’ भनेपछि दोस्रो पुस्ताका नेताहरु ढुक्क छन् ।

त्यस्तै, एमालेको केन्द्रीय कमिटीबाट ५५ जना केन्द्रीय सदस्य एकीकृत समाजवादीमा गएपछि खालि ठाउँमा जानका लागि तँछाडमछाड छ । त्यसो त ओलीका निम्ति पनि पार्टीमा सबैलाई बचाएर राख्नु चुनौतिपूर्ण छैन । किनभने, ६–७ महिनापछि स्थानीय निर्वाचन शुरु हुन्छ । अहिले पदमा रहेकाले निरन्तरता खोज्ने नै भए । विगतमा टिकट नपाएकाले पनि खोज्ने भए । प्रदेश २ मा यसै पनि ओली रुचाइँदैनन् । त्यसमाथि त्यहाँ ओलीका खम्बा बनेका धर्मनाथप्रसाद साहले उनलाई छाडिसके ।

टिप्पणीहरू