आज जताततै एमसीसी बिरोधमा कार्यक्रम, दिउँसो पटक पटक संसद घेरिने

आज जताततै एमसीसी बिरोधमा कार्यक्रम, दिउँसो पटक पटक संसद घेरिने

अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को बिरोध गर्ने क्रममा आज राजधानीमा जताततै प्रदर्शन हुने भएको छ । हिजो दिउँसो प्रहरीले प्रदर्शनकारीहरुमाथि धरपकड गरेकाले आजको प्रदर्शन थप तनावग्रस्त हुने आँकलन गरिएको छ ।

सरकारले आजैदेखि संसदको अधिवेशन डाकेको छ । अमेरिकी सहस्राब्दी च्यालेञ्च कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारको टोली पनि सम्झौता पारित गराउने रणनीतिमा हिजोेदेखि काठमाडौंमा सक्रिय भएको एमसीसी बिरोधी राजनीतिक दल तथा समूहले बताएका छन् ।

त्यहि क्रममा आज दिउँसो १ बजे माइतीघर मण्डलामा नेपालका लागि नेपाली, नेकपा (माले), नेकपा क्रान्तिकारी, नेकपा (विप्लव) लगायतका राजनीतिक दल र एमसीसी खारेज अभियानले एमसीसीबिरुद्ध बिरोध प्रदर्शन कार्यक्रम राखेका छन् ।

राजनीतिक विश्लेषक हेमन्त सेढाइं लगायतको समूहले एमसीसीविरुद्ध बिरोध प्रदर्शनसहित आजै दिउँसो २ बजे संसद भवन घेराउ गर्ने जनाएको छ । त्यसअघि माइतीघरमा जम्मा भएर टोली नयाँ बानेश्वर जाने जनाइएको छ ।

त्यसैगरी समूह १०० का बब्लु गुप्ता, अभियन्ता हेमराज थापा, मुना श्रेष्ठलगायत एमसीसी खारेज अभियानले सोबिरुद्ध दिउँसो २ बजे माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने जनाएका छन् ।

उता भक्तपुरमा पनि.नेमकिपा निकट नेपाल क्रान्तिकारी युवा संघ र क्रान्तिकारी विद्यार्थी संघले एमसीसी सम्झौता खारेजीको माग गर्दै दिउँसा ३ बजे प्रदर्शन गर्ने भएको छ । प्रदर्शनका लागि कमलविनायकमा भेला हुने, सूर्यविनायकसम्म जुलुस निकालिने र अन्तमा सभा गरिने बताइएको छ ।

हाम्रो नेपाल हामी नेपाली अभियान, शाही युवा शक्ति नेपाल र राष्ट्रिय शक्ति नेपाल (एमसीसी विरुद्ध संयुक्त महाअभियान) ले पनि एमसीसीको बिरोधमा संसद भवन घेराउ गर्ने बताएको छ । उसले दिउँसो ४ बजे नयाँ बानेश्वरमा पुगेर संसद घेराउ गर्ने जानकारी दिएको छ ।
त्यसैग्री परिवर्तनका लागि हाम्रो आवाजले एमसीसीबिरुद्ध भक्तपुर दरबारस्क्वायरमा दिउँसो ४ बजे प्रदर्शन र सभा गर्ने जानकारी दिएको छ ।

एमसीसीको बिरोध गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले मुलुकभरका जिल्ला, स्थानीय तह र सहरहरूमा कोणसभा गर्ने बताएको छ । तर, स्थान र समय भने खुलाइएको छैन ।

टिप्पणीहरू