गृहको काउण्टरमा ओर्लियो सर्वोच्च बार

गृहको काउण्टरमा ओर्लियो सर्वोच्च बार

गृहमन्त्रालयको विज्ञप्तीप्रति सर्वोच्च अदालत बार एशोसियसनले ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च अदालत बार एशोसिएसनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी कुनै पनि कार्य नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।

बारका सचिव ऋृषिराम घिमिरे हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,मित्र राष्ट्रहरूको सहयोगमा सञ्‍चालित विकास आयोजना,त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यममा नकारात्मक टीकाटिप्पणी गर्ने र धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधि गर्नेउपर सुक्ष्म रुपमा निगरानी राख्ने,विश्लेषण गर्ने र कानूनबमोजिम कडा कारबाही गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरी जारी गरिएको विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानको धारा १७ को उपधारा (२) को खण्ड (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रत्याभूत गरेको उल्लेख गर्दै विज्ञप्तीमा राज्यभित्र हुने जुनसुकै क्रियाकलापको स्वस्थ टीकाटिप्पणी गर्न पाउने हकबाट कुनैपनि नागरिक वा सञ्चारमाध्यमलाई कुण्ठित गर्न पाइन्न भनिएको छ।

‘नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको प्रकाशन तथा प्रशारण स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछौं । गृह मन्त्रालयले शुक्रवार विज्ञप्ती निकाल्दै,विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न चेतावनी दिएको थियो ।

प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्रराष्ट्र,विदेशी नागरिक र उनीहरुको सम्पत्तिका विषयमा नकरात्मक टिप्पणी भइरहेको भन्दै त्यस्ता नकारात्मक टिप्पणी वा गतिविधि गर्नेमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुनबमोजिम कारवाही गर्ने चेतावनीसमेत दिइएपछि सर्वाेच्च बारले काउन्टरमा विज्ञप्ती निकालेको हो ।

टिप्पणीहरू