​बख्तरबन्द कम्पन र तिलाठीका आवाज « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

​बख्तरबन्द कम्पन र तिलाठीका आवाज

प्रकाशित मिति :  २५ असार २०७४, आईतवार १७:४१


  • लक्ष्मण देवकोटा

शहरमा युग पाठक र सौरभहरू चर्चामा छन् । गाउँले तिनलाई चिन्दैन । गाउँमा भर्खर चुनाव सकिएको छ । खगेन्द्र संग्रौलाले भनेजस्तै, बख्तरबन्द सेनाको गस्तीमुनि । तर, त्यही गस्तीको सुरक्षाकै कारण जनताले ढुक्कसाथ मत हालेका छन् । सेनाले कहीँकतै टाउकोमा पेस्तोल तेस्र्याएर यसमा हाल, उसमा हाल भनेको हैन । काठमाडौंका बख्तरबन्द देख्ने आँखा र मधेस लडाएर महल ठड्याउने काजीहरूका दुर्नियत आँखाको करामत हो त्यो । अरू केही होइन ।

काठमाडौं शहरमा चिनिन, खुब जोडले चिच्याउनुपर्छ जस्तो लाग्न थालेको छ मलाई आजकल । जसका किताब पढेर आजका सचिव बने, उनैलाई अरबौँको घोटालामा समाउँदा किन महत डाक्टरसाबलाई दुख्छ ? गाउँको सरल मान्छेले बुझ्ने यत्ति हो, भाइजान † यसमा मिलिभगत छ । चूडामणि शर्मा होइन, अख्तियारले यी महतलाई समाउनुपर्छ जसका आडमा यो भ्रष्टाचार सम्भव भयो । यदि, उनीहरूको नियत सफा थियो भने भ्रष्टाचारी समाउँदा उनीहरू किन कोकोहोलो मच्चाउँछन् ?

०४६ सालको क्रान्तिपछि यो मुलुकमा सबैभन्दा बढी शासन कांग्रेसले गरेको हो । त्यसैले यो देशको ढुकुटी रित्याउने महान् कर्ममा उनीहरूको सबैभन्दा अहं भूमिका छ । अनि उनीहरू नै यो देशको गजब लोकतान्त्रिक गफ गर्छन् । त्यसपछि ढुकुटी लुट्नेमा एमाले, माओवादी जो भए ।

देशका मुख्य शक्ति सबै मिलेर देशलाई तन्नम बनाउने काममा लागे पनि जनताले आशा गरेका बौद्धिक यसरी लम्पट पर्दा भने हेर्नेलाई लज्जाबोध हुने रहेछ । हुन पनि दलले गजब जानेका । गोविन्दराज जोशीले शिक्षक संगठन टुक्र्याउने बेलामा भनेको सम्झन्छु, प्रजातन्त्रमा आफ्नो संगठन खोल्ने अधिकार सबैलाई छ । त्यसैले शिक्षक संघ गठन गरिनुपर्छ ।

गिरिजाप्रसाद कोइरालाको रणनीतिअन्तर्गत शिक्षक विभाजित हुँदा शिक्षक आन्दोलनको गति के भयो, जगजाहेर छ । अहिले त त्यो भन्दा चार कदम अघि बढेर सबै क्षेत्रमा विभाजन भिœयाइएको छ । कर्मचारी, शिक्षक, प्राज्ञ सबै–सबै । अनि यस्तो शैलीले कस्तोखाले गणतन्त्रको विकास हुने हो, हेरिसक्नु र बुझिसक्नु छैन ।

दोस्रो चरणको चुनावपछि यौटा कुरा भने प्रस्ट भएको छ, जातीय अहंकार, क्षेत्रीय राजनीति पुतलामै सीमित हुने भयो । राजनीति गर्नेले जनमत स्विकार्नुपर्छ । कि यो पद्धति नै मान्दिनँ भनेर विपक्षमा उभिने आँट हुनुप¥यो । विपक्षीमा उभिएर आफ्नो लडाइँ लड्दा त्यसको पुष्ट्याइँ गर्ने तथ्य र विचार हुनुप¥यो । नत्र प्रक्रियामा आइसकेपछि जनमतको अपमान गर्न पाइन्न गोपाल किराती शैलीमा । जनताबाट अस्वीकृत भएपछि फेरि सशस्त्रको हुंकार पिट्नु गलत हो ।

लोकतन्त्रको मुटु भनेकै वास्तवमा स्थानीय सरकार हो । संघीयताको मूल चुरो पनि त्यही हो । जमिनको विकास नभई सर्वदलीय सहमतिका नाममा बीसौं वर्ष यिनै दलका जिल्लाका दुई÷चार नेता, तिनका आसेपासे र गाविस नै नपुगी सदरमुकाममा डेरा लिएर बंगला ठड्याउन सफल गाविस सचिवको मनपरी अब सकिएको छ । अब संक्रमणको प्रारम्भिक अवस्था सकिएको छ र चुनाव हुन बाँकी मधेसमा पनि छिट्टै सकिनेछ ।

यौटा कुरा भने प्रस्ट बुझियो, काठमाडौंले मधेसलाई आफ्नो सत्ताको निम्ति उपयोग गरिरह्यो । मधेसको खास समस्या के हो भन्ने भन्दा पनि आफू स्थापित भइरहन त्यहाँ हिंसा भड्काइरहने र यो वा त्यो निहुँमा शक्तिमा रहिरहने बहाना देखियो । सीमा क्षेत्रमा समेत उग्र मधेसवादी कुरा गर्नेहरूको पराजयको संकेत के हो त ? नत्र जनताको सुरक्षा गर्न सेना उभिँदा किन कसैलाई टाउको दुख्छ ? टीकापुरमा जस्तै सुरक्षाकर्मी र मतदाता मारिएपछि फेरि हजार तर्क गर्नु जायज कि त्यसैलाई बेलैमा सुरक्षा गर्नु जायज ? यो केवल यौटा वख्तरवन्द कम्पन हो । शहरको विद्रोही देखिने यौटा एलाइट कम्पन ।

हो, अधिकारका निम्ति विद्रोह हुन्छ । मधेससँग अब त्यो विद्रोह अभिव्यक्त गर्ने बेला आएको छ– ब्यालेटमार्फत । पराजयको भयले फेरि पनि तरबार र लाठी उठाएर उसका आवाज सम्बोधन हुँदैन । त्यसको सारसंग्रह भनेकै निर्वाचन हो । निकै जोडजोडसँग स्वायत्त कुरा गर्नेहरू ख्वैत तिलाठी डुब्दा पुगेको ? मधेस पनि केही अंगीकृत र राजनीतिलाई आफ्नो पेशा बनाएर बंगलामुखी राजनीति गर्ने चतुरहरूको चाल रहेछ । हैन भने जनताबाट अनुमोदन हुनै पर्छ ।

बादल बिस्तारै हट्दैछन् र चाँदीको घेरा देखिँदो छ । जनताले सत्ताको कमाण्ड आफ्नो हातमा लिएपछि विस्तारै सँग्लिदै जानेछ यो गणतन्त्रको धमिलो पानी । निर्वाचनबाट आश गर्ने कुरा यही नै हो । केन्द्रीय सत्ताले नसुने तिलाठीका आवाज स्थानीय सत्ताले सुन्नेछ । प्रादेशिक सरकार आफ्नो देश जोगाउन र भारतीय कुटिलताले डुबानमा परेका नेपालीलाई बचाउन स्वयं लाग्नेछ । केन्द्रीय सरकार त स्वयं सत्ता कसरी जोगाउने ? कसरी आफ्ना र आसेपासेलाई बलियो बनाएर प्रभावमा रहिरहुँ ? यही मानसिकताले ग्रस्त थियो, छ र रहिरहनेछ । अहिलेको नेतृत्व पुस्ताबाट योभन्दा बढी अपेक्षा गर्नु पनि मूर्खताजस्तै भइसक्यो ।


प्रतिक्रिया दिनुहोस !