विष्णु माझीलाई सार्वजनिक गर्नु पर्दैन ?

विष्णु माझीलाई सार्वजनिक गर्नु पर्दैन ?

– आरएल श्रमजीवी

कलाकार राष्ट्रका गहना हुन् । सबै सञ्चार माध्यमले कलाकारलाई भेट्न र उनीहरूका कुरा बाहिर ल्याउन पाउनुपर्छ तर डेढ दशकदेखि विष्णु माझीको व्यक्तिगत अवस्था आम दर्शक र श्रोतामा बेखबर छ । उनका गीत सार्वजनिक हुन्छन् । उनी अरु गायिकाभन्दा महँगी पनि छन् । उनका प्रायः गीत बजारमा चर्चित, कर्णप्रिय मात्र होइन लोकप्रिय पनि हुने गर्छन् ।

उनी आफ्नै घरमा श्रीमान् सुन्दरमणि अधिकारीसँगै छिन् भनिन्छ तर उनका कुरा बाहिर किन आउँदैनन् ? उनी गायिका हुन् यो कुरा दुनियाँलाई थाहा छ, बोल्नै नसक्ने त होइनन् नि ! किन श्रीमान्ले उनलाई एकछिन, एक पल पनि छाड्दैनन् ? रहश्यमय कुरा यही हो । प्र्रश्न के छ भने, के उनी सुन्दरमणि अधिकारीका निम्ति पैसाको बोट मात्र हुन् ?

नेपाली लोकगीतमा माझीको स्वर जो कसैसँग मेल खाँदैन । म त भन्छु उनी मीरा राणापछिकी चर्चित लोकभाका साम्राज्ञी हुन् । राष्ट्रको यति ठूलो कलाकारलाई श्रीमान्ले भन्दैमा सार्वजनिक गर्न किन मिल्दैन ? गीत सुन्न मात्र होइन, हामी नागरिक र मिडियामार्फत उनको जीवनका भोगाइ यो उमेरसम्मका कथा व्यथा सुन्न आतुर छाँै । उनी बाँचेको र स्वस्थ रहेका बेला यसरी गुमनाम गराउन पाइन्छ ? हामीले विष्णु माझीको एउटै मात्र फोटो कति हेर्नु ?

बाहिर आएको जानकारीअनुसार विष्णु माझीले एउटा गीत गाउँदा दुई लाख पारिश्रमिक तोकिएको छ । त्यो पैसा सुन्दरमणिले नै लिने गरेका छन् । विष्णुलाई गीत गाउनुप¥यो भने सुन्दरमणिलाई नै पैसा बुझाइन्छ । विष्णु माझी न मोबाइल फोनको पहुँचमा छिन् न त सामाजिक सञ्जाल फेसबुकको नै दायरामा । उनी गुमनाम किन ? अझ विष्णु माझी स्टुडियोमा गीत रेकर्ड गर्न जाँदा पनि स्टुडियो नै कब्जा गरेजस्तै अरुलाई छिर्न नदिने तथा सबै पर्दा बन्द गर्नेजस्ता व्यवहार गरेको सुन्नमा आएका छन् ।

यी हल्लालाई आधार मान्ने हो भने सुन्दरमणिले यो सब केका लागि गरिरहेका छन् ? अहिले सुन्दरमणिले आफ्नै रेकर्डिङ स्टुडियो खोलेका छन् । विष्णु माझीलाई सुन्दरले लगानी गरेअनुसारको फल खोजेका हुन् ? सामान्य माझी परिवारकी सोझी विष्णु माझीलाई सार्वजनिक नगर्नु सुन्दरमणि अधिकारीको अपराध त हँुदै हो, सरकारको पनि कमजोरी हो ।

दुई साताअघि उनको

‘जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदैरुँदै बेसी मेलैमा’

यो गीतले अहिले करोड भ्युज कमाएको छ । यो गीत सुन्दरमणिले विष्णुको अवस्थालाई हेरेर प्रायश्चित गर्न रचेको हो ? उनलाई माइती, मावली जान नदिने पनि सुन्दर नै हुन् । सुन्दरको अवचेतन मनले रचना गरेको जुन गीत गाउँदा विष्णु र सुन्दर दुबैको मनलाई शान्ति मिलेको छ ।

अहिले विष्णु माझी साँच्चिकै जेलभित्र छिन् । जेलमा कस्ता–कस्ता क्रियाकलाप हुन्छन् ? हामी सबैलाई थाहा नभएको कुरा हो र ? उनीमाथि दैनिक कस्तो व्यवहार भएको होला ? आजसम्म के कारणले उनलाई सार्वजनिक हुनबाट रोकियो ? के भएको हो सत्यतथ्य सबै कुरा उनका श्रीमान् सुन्दरमणि अधिकारीको अनुपस्थितिमा स्वतन्त्र तरिकाले मिडियालाई भन्नुपर्छ । उनका सबै कुरा मिडियाले बाहिर ल्याउनुपर्छ ।

टिप्पणीहरू