श्रीमानका आदेशवारे नेपाल बारमा आज चर्को आवाज

श्रीमानका आदेशवारे नेपाल बारमा आज चर्को आवाज

सर्वोच्च अदालतमा विचाराधीन संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेशविरुद्ध परेका रिट र संवैधानिक इजलासको काममाथि एकल बेञ्चबाट भएको हस्तक्षेपलाई लिएर चर्को आवाज उठेको छ । उक्त विषयमा अदालतले मागेको एमिकस क्युरीमा प्रतिनिधि पठाउने वा नपठाउने भनेर मतसमेत बाझिएको छ ।

आजको छलफलमा ५ जनाले बोल्नुभएको बताइएको छ । धेरै कानुन व्यवसायीले बोल्न खोजेपछि बारले समयअभाव भन्दै छलफललाई पुनः निरन्तरता दिने भनेको छ ।

‘एकथरिले अदालतको आदेश नमान्ने ? मान्नुपर्छ,’ भनेका छन् । ‘अर्काथरिले सर्वोच्चबाट त्यस्तो आदेश पनि दिन मिल्छ ?, ’ भन्दै चर्को प्रतिवाद गरेका छन् ।

छलफलमा भाग लिँदै बारका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले सिंगल बेञ्चले त्यस्तो आदेश गरेर सुनुवाइ रोक्न नमिल्ने बताउनुभएको छ । उहाँको आशय थियो, ‘अदालतमा एक किसिमले प्रतिगमन भयो ।’

त्यसैगरी पूर्वमहान्यायाधिवक्ता रमेश बडालले अदालतको बचाव र सरकारको आलोचना गर्नुभएको छ । उहाँको भनाई थियो, ‘यसबीचमा तुइन काटेर महाकालीमा नेपाली युवकलाई बेपत्ता पारिएको छ भने भारतीय हेलिकोप्टर नेपाली भूमिमा दिनहुँ अनधिकृत उडिरहँदा पनि नबोल्ने ?’

बडालको उक्त जिज्ञासाको जवाफ दिँदै अरुले भनेका छन, ‘बोल्ने, कसले नबोल्ने भनेको छ र ?’ सन्दर्भ अलि फरक पारेर छलफलका सहभागीहरुले बडाल र पूर्वमहान्यायाधिवक्ता तथा मन्त्री अग्नि खरेलतर्फ लक्षित गर्दै भनेका छन्, ‘हामीले भोट हालेर कतिलाई न्यायाधीश र कतिलाई महान्यायाधिवक्ता बनाउन मार्ग प्रशस्त गरिदिएका हौं,त्यसैले बोल्नपर्छ ।’

आजको छलफलमा सहभागी एक जना कानुन व्यवसायीले भन्नुभयो, ‘एमिकस क्युरी आवश्यक हो वा होइन र सहभागी हुने वा नहुने भन्ने विषयमा नै छलफल लम्बिने भएको छ । छलफल कहिलेसम्म लम्बिन्छ भन्नेमा सबै अनभिज्ञ छन् ।’

टिप्पणीहरू