सेनामा यसरी हुने गर्छ सफाया

सेनामा यसरी हुने गर्छ सफाया

भनिन्छ, सेना राजनीतिबाट पूर्णतः निरपेक्ष संस्था हो । तर, यो पनि सत्य हो कि त्यहीँ यति ठूलो राजनीति चल्छ कि, मान्छेका जागिरदेखि जिन्दगीसम्म सोत्तर । भर्खरै प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त भएका छन् । उति राम्रो अंग्रेजी नबोल्ने, अब्जर्भरका रुपमा कुनै पनि देशमा काम नगरेको र टन्न नकमाएको मान्छे इतिहासमा बिरलै प्रधानसेनापति हुन्छन् । खासमा अहिले सेनाभित्र ‘राजनीति’ नघुसेको भए प्रभुराम घर गइसक्थे र प्रधानसेनापतिको फुली रतिन्द्र क्षेत्रीले पहिरिएका हुन्थे ।

उनी अंग्रेजी जान्नेमात्र हैन, संसारभरका सेनालाई एक ठाउँमा राखेर लिइएका जाँचहरुमा पनि अब्बल नम्बर ल्याएर उत्तीर्ण हुने (क्षमतावान) अफिसर थिए । तर, राजा ज्ञानेन्द्रको बुद्धि नपुग्दा उनी ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तो मुन्तिरैबाट सिध्याइए ।

राजा ज्ञानेन्द्रले शासनसत्तामा हात हालेपछि नामै तोकेर एडिसी पठाउन आदेश दिए । क्याडेट, स्टाफ कलेज फस्र्ट र खुकुरी होल्डर ती अफिसर थिए, रतिन्द्र । त्यसबेला उनी संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सैनिक पर्यवेक्षक (अब्जर्भर) का रुपमा जान छनौट भइसकेका थिए । गएको भए दुई–चार करोड रुपियाँमात्र लिएर फर्किंदैन थिए, आज प्रधानसेनापति भइरहेका हुन्थे । तर, उनले दरबार छिर्ने मौका गुमाउन चाहेनन् । ‘महाराजधिराज’ बाट सीधै आफ्नो नाम ‘हुकुम’ हुनुलाई करोडभन्दा माथिको कुरा ठाने । दरबार छिरेका उनलाई व्याचीहरु उछिन्ने राम्रो मौका मिल्यो ।

२–३ वटा व्याचका अफिसरलाई उछिनेर महासेनानी बनाइए । त्यसपछि देशमा गणतन्त्र आयो । दरबारको हुकुम चल्न छाड्यो । गजेन्द्र लिम्बू, प्रदीपप्रताप बम मल्ल, साहजन खाँण सोत्तर भएर छत्रमानसिंह गुरुङ प्रधानसेनापति भए । महासेनानी दर्जाको वरियताका आधारमा रतिन्द्र बढुवा हुनुपर्ने समय पनि छत्रमानकै पालामा आयो । तर, भर्ना र अघिल्लो बढुवाका सिनियरहरु हुँदाहुँदै बढुवा नदिने छत्रमानको अडानपछि रतिन्द्रको सैनिक जीवनको यात्रा नै विराम लाग्ने स्थितिमा पुग्यो ।

महासेनानीको पाँच वर्षे पदावधि थियो । यदि रतिन्द्र राजाको अंगरक्षकमा नगएर संयुक्त राष्ट्रसंघ गएका थिए भने फर्किएर आउँदा कुस्त पैसा र फुली पनि थपिन्थ्यो । तर, शक्तिकेन्द्रको स्वाद चाख्दै फुली थप्ने हतारोले न पैसा भित्रियो, न जागिर जोगियो । उनले दरबार जाने गल्ती र गएर पनि ‘रकेट शैली’ मा फुली थप्ने काम नगरेको भए अहिले प्रभुरामलाई घर पठाएर देशको सैन्य कमाण्ड सम्हालेका हुन्थे ।

क्षमताको कुरा गर्दा उनीमात्र हैन, सैनिक सेवामै रहेका तीनैजना दाजुभाइ अब्बल ! उनी हालै निवृत्त पूर्णचन्द्र थापाअघि प्रधानसेनापति रहेका राजेन्द्र क्षेत्रीका सहोदर भाइ हुन् । तीनमध्येका जेठा रमिन्द्र, माइला राजेन्द्र र साहिँला रतिन्द्र– सबैले फष्र्ट भएर अमेरिकामा स्टाफ कलेज गरेका हुन् । तर, समयमा बुद्धि नपु¥याउँदा प्रभुरामले पालो पाए ।

त्यसो त भर्खरै घर गएका पूर्णचन्द्र थापा पनि प्रभुरामको जस्तै नियतिले साथ दिएर प्रधानसेनापति भएका हुन् । गौरवसमशेर राणाको पालामा प्रेमप्रकाश थापामगरलाई कारवाही नगरिएको भए पूर्णचन्द्रको ठाउँमा उनै प्रधानसेनापति हुन्थे । उनी हेम खत्रीहरुको सर्टिफिकेट काण्डमै सेवाबाट हटाइए । पछि अदालतले सफाइ दिँदा ढिलो भइसकेको थियो ।

छत्रमानले राजेन्द्र क्षत्रीको भाइ रतिन्द्रलाई बिगारे । राजेन्द्रले पनि आफ्नो भाइ बिगारेको बदला छत्रमानको भाइलाई बिगारेर लिने अनुमान गरिएको थियो । तर, त्यसो गरेनन् । छत्रमानका भाइ निर्माण गुरुङलाई राजेन्द्रले नै महासेनानी र ब्रिगेडियरसम्म बनाए । उनी अबको दशैं–तिहार मनाएलगत्तै घर जानेछन् ।

टिप्पणीहरू