काठमाण्डौंका सात वडाध्यक्षसहित ३४ र जुम्लाको सिंगो एमाले एकीकृत समाजवादीमा

काठमाण्डौंका सात वडाध्यक्षसहित ३४ र जुम्लाको सिंगो एमाले एकीकृत समाजवादीमा

काठमाण्डौंका सात जना वडाध्यक्षसहित ३४ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । हिजो जिल्ला निर्वाचन कार्यालय,अनामनगर पुगेर दुई नगर उपप्रमुख,सात वडा अध्यक्षसहित ३४ जनाले आफूहरु एमालेबाट छुट्टिएर एकीकृत समाजवादीमा समाहित भएको भनी सनाखत गरेका हुन् ।

नेकपा समाजवादीका नेताहरु जीवनराम श्रेष्ठ,सावित्रा भुसाल, वसन्त मानन्धर र कुसुमकुमार कार्कीलगायतको उपस्थितिमा काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ,तारकेश्वर,टोखा र शंखरापुर नगरपालिकाका वडाध्यक्ष एवम् सदस्यहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने वडाध्यक्षहरुमा काठमाडौं महानगरपालिका ७ का शुध्दकुमार डंगोल,१५ का ईश्वरमान डंगोल,बूढानीलकण्ठ नगरपालिका ३ का बालकृष्ण श्रेष्ठ,टोखा नगरपालिका ९ का जोगप्रसाद नेपाल,तारकेश्वर नगरपालिका ६ का मधु कार्की, तारकेश्वर २ का रवीन्द्र केसी र शंखरापुर नगरपालिका ९ का घनश्याम थापा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले जनाएको छ ।उता,जुम्लामा ६१ जनामध्ये ५८ जना एमाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु एकीकृत समाजवादीमा समाहित हुनुभएको छ । त्यसैगरी नगरपालिकामा एमालेबाट निर्वाचित सबै वडाध्यक्ष र जनप्रतिनिधिले पनि एकीकृत समाजवादीमा रहने गरी सनाखत गरिसकेको बताइएको छ।

जिल्ला कमिटीका अध्यक्ष तीर्थबहादुर बूढा,सचिव आदिप्रसाद न्यौपाने,उपाध्यक्ष नन्दराम रोकाया र उपसचिव राजबहादुर खत्रीले आज जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा अध्यक्ष केपी ओली आडम्बर अहंकार,दम्भ र घमण्डले आफू र सिंगो पार्टीको गतिशील जीवन नै ध्वस्त बनाउने अभियानमा जुटेकाले नयाँ परिस्थिति उत्पन्न भएको उल्लेख छ ।

टिप्पणीहरू